उदयपुर । उपचारका क्रममा शुक्रबार राति जिल्ला अस्पताल गाईघाटमा ज्यान गुमाएकी उदयपुरगढी गाउँपालिका–६ नेपालटारकी ३२ वर्षीया गर्भवती सीता राउत कार्कीको शव परिवारले जिम्मा लिएर अन्त्यष्टी गरेका छन् । स्वास्थ्यकर्मीको लापरबाहीले गर्भवतीको मृत्यु भएको भन्दै परिवारले शव उठाउन मानेका थिएनन् । मृतकका परिवारले पीडित परिवारलाई उचित क्षतिपूर्ति र मृतकका दुई छोरीको स्वास्थ्य र शिक्षाको ग्यारेण्टी लिनु पर्ने, उपचारमा सम्लग्न स्वास्थ्यकर्मीमाथि छानबिन, माग गर्दै शुक्रबार दिनभर अस्पताल तनावग्रस्त बनेका थिए । दुई दिनसम्मको छलफलबाट कुनै निश्कर्ष ननिस्किएपछि शव बुझेको पीडितका परिवारले जनाएका छन् ।
पीडित परिवारलाई त्रियुगा नगरपालिकाले छोरीहरूको शिक्षाका लागि एक लाख ५० हजारको अक्षयकोष उपलब्ध गराउने भएको छ । त्यस्तै कोषमा जिल्ला अस्पताल उदयपुरका कर्मचारीको तर्फबाट पनि केही रकम उपलब्ध गराउने र उदयपुरगढी गाउँपालिकाको नमूना माध्यामिक बिद्यालय भलायाडाडामा कक्षा १२ सम्म निःशुल्क पढाउने मौखिक सहमति गरेका भएका छन् ।
त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीका अनुसार अस्पतालका सेवा अवरुद्धले त्रियुगा नगरका जनता प्रत्यक्ष मारमा पर्ने भएकोले सेवा संचालनको लागि सहजीकरणको भूमिका खेलिदिएको बताए । उनले अस्पताल सेवा संचालन गर्न आफ्नो पनि दायित्व भएकोले सेवा अवरुद्ध नगर्न र पीडितलाई कहाँ के कसरी सहयोग गर्न सकिन्छ त्यसको लागि पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।
यता बोधकुमार घिमिरेको नेतृत्वमा छानविन समिति बनाउने मौखिक सहमति भएको थियो । तर, यस बारे संयोजक आफै अनभिज्ञ छ ।
गर्भवती राउत कार्कीको उपचारमा लापरबाही भएकोमा मृत्यु भएको उनको आफन्तको आरोप छ । १७ फागुनमा सुत्केरी गराउन जिल्ला अस्पताल गाईघाट ल्याएको र उपचार नपाएरै मृत्यु भएको श्रीमान् अर्जुन कार्कीले बताए । जिल्ला अस्पतालका चिकित्सकहरूले १७ फागुनदेखि नै नर्मल डेलिभरी हुन्छ भनेर राख्दा श्रीमती मृत्यु भएको कार्कीको आरोप छ । अस्पतालका चिकित्सकले भने गर्भवतीको कन्डिसन खराब रहेकाले तत्काल अप्रेसन गर्न आग्रह गर्दा मृतकका आफन्तले नमानेको र दुर्घटना भएको बताउँछन् ।
आन्दोलनमा उत्रिएकाहरूले स्वास्थ्यकर्मीमाथि समेत हातपात गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
स्वास्थ्यकर्मीमाथि कुटपिट भएपनि इमरजेन्सी, ओपिडी लगायतको सेवा बन्द गर्नु परेको अस्पतालका सुपरिटेण्डेन्ट (मेसु) मुकेश झाले बताए । अवका दिनमा यस्ता घटनामा प्रति अस्पताल प्रशासन चनाखो हुने र सम्पूर्ण सेवाहरु आइतबारबाट संचालनमा आउने डा. झाले बताए ।
मानव अधिकार संघ संस्थाद्वारा दोषी चिकित्सकलाई कारबाहीको माग
जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको गर्भवती महिलाको विषयमा उदयपुरको महिला मानव अधिकार र विभिन्न समाजिक संघ संस्थाहरुले सत्य तथ्य छानविन गरी दोषीलाई कडा कारवाहिको माग गरेको छ । शनिवार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै घट्नाको सत्य तथ्य छानविन गरि दोषिलाई कडा भन्दा कडा कारवाही र पीडितलाई न्यायका साथै आगामी दिनमा यस्ता घट्ना नदोहोरिन कर्मचारी तथा सरोकारवालाहरुलाई संबेदनशिल बन्नका लागि विज्ञप्ती मार्फत माग गरिएको छ ।
११ संघ संस्थाका प्रतिनिधीहरुद्धारा हस्ताक्षर गरिएको विज्ञप्ती उल्लेख छ । विज्ञप्तीमा शुक्रबार भएको अस्पतालमा भएको तोडफोड र स्वास्थ्यकर्मी माथी भएको हातपातको विषयलाई भने मौन राखिएको छ । चिकित्सकलाई कार्वाही माग गर्ने उदयपुरका अगुवा मानव अधिकारकर्मीहरुमा महेश्वरी राई, माया भण्डारी, शैलेश बस्नेत, भरत खड्का, बाला कार्की, सानुमैया कार्की, सुमन परियार, अप्सरा समाल, सुसिला विक, अर्जुन पोखरेल लगाएतका छन । उनीहरुको विज्ञप्तीमा दुई दिन अस्पताल बन्द भएको घटनाको बारेमा एक शब्द पनि बोलिएको छैन ।
मानव अधिकारको मुलमर्म भनेको नै नागरिकहरुको अधिकार प्रति राज्य तथा सरोकारवाला जवाफदेहि हुनु हो । मानव अधिकार विना मानविय मर्यादा, मानविय मुल्य, मान्यता र सम्पुर्ण मानव सभ्यताको संरक्षण हुन सक्दैन । मानव अधिकार मानिसलाई मानिस भएको कारणले प्राप्त हुने त्यस्ता प्रत्याभुतिहरु वा अधिकार हुन् । जसको सम्मान र पालना गर्न अर्को व्यक्ति, समाज, राष्ट्र र अन्तराष्ट्रिय समुदायको कर्तव्य अन्र्तगत पर्दछ । यस अर्थमा सामाजिक जिम्मेवारी, जवाफदेहितामा ध्यान दिन सम्पुर्ण सरोकारवालाहरुमा ध्यानाकर्षण गरादछौं । मानव अधिकारको कुरा गर्दा उदयपुरगढि गाउँपालिका वडानम्बर ६ स्थायी बसोबास गर्ने अर्जुन कार्कीको श्रीमती ३२ वर्षिय सिता राउत कार्कीको फागुन १७ गते प्रसुति गराउन उदयपुर अस्पतालमा भर्ना गरि उपचार गराउने क्रममा ३ दिनको दिन १९ गते राती २ बजे मृत्यु भएको विज्ञप्तीमा जनाएको छ ।
विज्ञप्तीमा पिडितका अनुसार उक्त घट्नामा स्वास्थ्यकर्मीहरुले सामान्य प्रसुति हुन सक्ने पिडित परिवारलाई आश्वासन दिएको थियो । आफ्नो विरामीको विषयमा स्वास्थ्यकर्मिसंग बुझ्न खोज्दा अपशब्द बोली दुव्र्यबहार गरेको, समयमानै प्रसुति गराउने सम्बन्धित चिकित्सकलाई खबर गर्न पिडितले अनुरोध गर्दा चिकित्सक विहान ५ बजे आउने आश्वाशन दिएको थियो तर समयमा चिकित्सक आई नपुग्दा र समयमा उपचार नपाउदा महिलाको मृत्यु हुनु जिल्ला स्वास्थ्य कार्यलय, उदयपुरका कर्मचारीहरुको चरम लापरबाहीले गर्दा भएको देखिन्छ ।
संविधानले सुनिश्चित गरेको मौलिक हक, बाच्न पाउने अधिकार कुन्ठित गरि जिल्ला अस्पताल उदयपुरको चरम लापरबाहिले महिलाको सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य हकको हनन् गरि आमा र बच्चाको बाँच्न पाउने हक र अधिकार उलघंन गरिएको प्रति सम्पुर्ण महिला मानव अधिकार कर्मीहरु, मानव अधिकार सञ्जाल, संघसंस्थाहरुको गम्भिर ध्यानआकर्षण भएको छ । यस घट्नाको सत्य तथ्य छानविन गरि दोषिलाई कडा भन्दा कडा कार्वाहि र पिडितलाई न्यायका साथै आगामी दिनमा यस्ता घट्ना नदोहोरिन कर्मचारी तथा सरोकारवालाहरुलाई संबेदनशिल बन्नका लागि जोडदार माग विज्ञप्तीमा जनाएको छ ।
सम्बन्धित समाचारहरु पढ्नुहोस्









