उदयपुर । जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएकी गर्भवतीका आफन्तजनले उचित क्षति पुर्ति नपाइकन शव नबुझ्ने भएका छन् । गएको विहीबार राती उदयपुरगढी गाउँपालिका ६ नेपालटारकी ३२ वर्षिय गर्भवती सीता राउत कार्कीको मृत्यु भएको थियो । पीडित पक्षको आन्दोलनका अगुवासँग जिल्ला अस्पताल र जिल्ला प्रशासन कार्यालयको टोलीले शुक्रबार दिनभर वार्ता गरेको थियो । तर, वार्ता पनि विना निस्कर्ष टुगिंएको पीडित पक्षले जनाएको छ ।
पीडित पक्षले दिनभर आन्दोलनसमेत गरेका थिए । पीडित पक्षले आक्रोशित हुँदै अस्पतालमा नाराबाजी गर्नुका साथै तोडफोडसमेत गरेका छन् । पीडित पक्षले अस्पताल घेराउ गर्दा इमरेजेन्सी, ओपिडी सेवा पूर्ण रुपमा ठप्प भएको छ । नेकपा एमालेका नेता तथा पीडित पक्षका अगुवा गोपाल खत्रीले जिल्ला प्रशासन कार्यालय र जिल्ला अस्पताल व्यवस्थापनले समेत पीडित पक्षलाई वेवास्ता गरेको आरोप लगाउनु भएको छ । ‘अस्पतालमा र जिल्ला प्रशासनमा पटक पटक वार्ता भयो तर अस्पताल व्यवस्थापनको तर्फबाट ठोस प्रस्ताव नआएकाले सहमति हुन सकेन ।’ उनले भने, ‘यति ठुलो घटना हुदाँ पनि अस्पताल व्यवस्थापनले हलुका रुपमा लिएको छ, हामीले मात्र दोषीलाई र कारवाही र पीडित पक्षको लागि क्षतिपुर्ति माग गरेका थियौँ । त्यो सुनुवाई भएको छैन् ।’
उदयपुरगढी गाउँपालिकाकी उपाध्यक्ष सानु राउतले जिल्ला अस्पतालमा यस अघि समेत जिल्ला अस्प्तालमा गर्भवतीहरुले ज्यान गुमाउनु परेको धेरै घटना भएको बताईन । ‘आज मात्र होइन धेरै जना गर्भवती महिलाहरुले ज्यान गुमाउनु भएको छ, यस घटनाबाट सम्बन्धी निकायले पाठ सिक्नु पर्ने छ ।’
अस्पतालका सूचना अधिकारी विर्खबहादुर खत्रीले छलफल जारी रहेको बताए । ‘गर्भवती मृत्युमा डिउटीमा रहेका को को दोषी हुनुहुन्छ ? त्यो हामी छानविन गछौँ, हामी अस्पतालको अहिले समस्या हल गर्ने नै पक्षमा छौँ ।’ अस्पतालमा राहत दिने र क्षतिपूती दिने त्यस्तो कोष नभएकाले पीडितको अवस्था हेरेर स्रोतको खोजी गरिरहेको सूचना अधिकारी खत्रीको भनाई छ ।
यता उदयपुरका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवले दोषीलाई छानविन गरेर कारवाही गर्न आफुहरु तयार रहेको भन्दै पीडित पक्षको माग सम्बोधन गर्न आफु विभिन्न निकायसँग छलफल गरिरहेको बताएका छन । उनले भने ‘पीडित पक्षले राखेको माग जायज छ, अस्पतालमा डिउटीको समय रहेका स्वास्थ्यकर्मीको छानविनपछि दोषी भेटिए कारवाही पनि हुन्छ, पीडित पक्षको मागको लागि म स्थानीय तह, जिल्ला समन्वय समिति र प्रदेश सरकार समक्ष विभिन्न विकल्प खोजिरहेको छु ।’
उनले पीडित पक्षले दुई नाबालिक छोरीको स्वास्थ्य र शिक्षा ग्यारेन्टी गर्न माग गर्नुभएकाले आफुहरु गम्भीर भएको पनि बताए । प्रजिअ यादवले भने, ‘हामीलाई पीडित पक्षले दुई छोरीहरुको स्वास्थ्य र शिक्षा ग्यारेन्टी गर्न माग गर्नु भएको छ, त्यो माग पुरा गर्न विभिन्न निकायसँग छलफल गरिरहेको छु, अस्पतालमा आएको समस्या समाधान गर्न गर्न विभिन्न उपायहरु खोजीरहेको छु ।’
गैर जिम्मेवार जिसस प्रमुख परियार
जिल्ला अस्पतालमा सुत्केरी गराउन ल्याएकी एक महिलाको मृत्यु भएपछि उदयपुर जिल्ला अस्पताल कसरी संचालन भएको रहेछ भन्ने छलङ्ग भएको छ । कानुन अनुसार प्रदेश सरकारको मताहतमा रहेको भएपनि जिल्ला समन्वय समितिको संयोजक पेदन अस्पताल व्यवस्थापन समितिको अध्यक्ष हुने व्यवस्था छ । उदयपुर अस्पतालका अध्यक्ष हुन जिल्ला समन्वय समितिका संयोजक खड्गबहादुर परियार ।
शुक्रबार दिनभर अस्पताल परिसरमा तनाव र अस्पताल सेवा नै ठप्प भई तोडफोड हुदाँ समेत अस्पतालका अध्यक्ष परियारको उपस्थिती कतै देखिए । अध्यक्ष परियार सँग शुक्रबार साँझ सम्पर्क गर्दा पार्टी कार्यक्रमको शिलशिलामा ताप्ली गाउँपालिका रहेको पुष्टी भयो । उदयपुरको जुन सुकै कुनामा रहेपनि सदरमुकाम आईपुग्न १२ घण्टा भन्दाबढि समय लाग्दैन । तर घटना घटेको २४ घण्टा विति सक्दा पनि अस्पतालका अध्यक्षको उपस्थिती नहुनु भनेको गैरजिम्मेवारीको पराकाष्टा भएको पीडित पक्षको आरोप छ ।
अस्पतालको सेवा नै ठप्प हुने गरी आन्दोलन हुँदा समेत मुख्य जिम्मेवार अस्पतालका अध्यक्ष नआउनु भनेको पीडित पक्षलाई वेवास्था गरेको स्थानीय डिस्टान्स गुरागाँईले आरोप लगाए । शुक्रबार दिनभर पटक पटक वार्ता भए तर मुख्य जिम्मेवार व्यक्ती नभएकाले वार्ताबाट कुनै निष्कर्ष निस्कन सकेन । एमालेका स्थानीय नेता समेत रहेका जिसस प्रमुख परियारले नै पीडित पक्षका माग सम्बोधन गर्नु पर्नेमा परियार समस्याबाट भागेको पीडित पक्षको भनाई छ ।
अस्पताल स्रोतले पनि पीडित पक्षका मागहरु अस्पताल प्रशासनले पुरा गर्न नसक्ने खालका भएकाले व्यवस्थापन समिति र प्रदेशको स्वास्थ्य मन्त्रालयले निर्णय गर्नु पर्ने बताएको छ ।
जिसस प्रमुख परियारले आफु पार्टी कामको शिलशिलामा ताप्लीमा रहेकोले उपस्थित हुन नसकेको बताए । अस्पताल व्यवस्थापन समितिको तर्फबाट के गर्न सकिन्छ भनेर सबै काम गर्न भनेर एमालेका युवा नेता तथा अस्प्ताल व्यवस्थापन समितिका सदस्य महेश रोकालाई जिम्मेवारी दिएको परियारले बताए । ‘म एमालेको ताप्ली पालिका स्तरीय प्रशिक्षण कार्यक्रममा आएको छु, त्यहाको जिम्मेवारी सबै महेश जीलाई दिएको छु ।, उहाँले नै सबै व्यवथापन गर्नुहुन्छ ।’ परियारले भने ।









