गाईघाट, उदयपुर । त्रियुगा नगरपालिकाको भाषा, साहित्य, कला, संस्कृति, इतिहास तथा स्थानीय ज्ञानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले गठित त्रियुगा प्रज्ञा प्रतिष्ठान, गाईघाट उदयपुरको पहिलो बैठक सम्पन्न भएको छ।
प्रतिष्ठानका अध्यक्ष राममणि पोखरेलको अध्यक्षतामा आइतबार २०८३ असोज १८ गते त्रियुगा नगरपालिकाको पुरानो भवनमा बसेको बैठकले प्रतिष्ठानको संस्थागत तथा कार्यक्रमगत गतिविधिलाई अघि बढाउने महत्वपूर्ण निर्णय गरेको हो।
बैठकले त्रियुगा नगरपालिकाको विकास भौतिक पूर्वाधार निर्माणमा मात्र सीमित नभई नगरको मौलिक पहिचान, इतिहास, भाषा, साहित्य, कला, संस्कृति, लोकपरम्परा, लोकज्ञान तथा सिर्जनात्मक प्रतिभाको संरक्षण र विकास पनि स्थानीय सरकारको महत्वपूर्ण जिम्मेवारी भएको निष्कर्ष निकालेको छ।

प्रतिष्ठान गठन तथा सञ्चालनका लागि पहल गर्ने त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्तकुमार बस्नेत, उपप्रमुख महेश्वरी राई, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुमार कोइराला, प्रतिष्ठान गठन समितिका संयोजक तथा सदस्यहरू, नगर कार्यपालिका र नगर परिषद्प्रति बैठकले आभार व्यक्त गरेको छ।

बैठकले प्रतिष्ठानको मौलिक पहिचान झल्किने लोगो निर्माणका लागि टंकबहादुर आले मगर, मिथुन ठाकुर र गोपाल कृतिलाई जिम्मेवारी दिएको छ। समूहले तयार गर्ने लोगोमाथि प्रतिष्ठानमा व्यापक छलफल गरी अन्तिम रूप दिने निर्णय भएको छ।

त्यसैगरी प्रतिष्ठानका सचिव कौशल चेम्जोङले प्रस्ताव गरेका विभिन्न स्लोगनमाथि समेत छलफल भएको र आगामी परिषद् बैठकमा स्लोगनलाई अन्तिम रूप दिने निर्णय भएको छ। लोगो र स्लोगन अन्तिम भएपछि बोर्ड, लेटरप्याडलगायत प्रतिष्ठानका आवश्यक सामग्रीमा प्रयोग गरिनेछ।

प्रतिष्ठानका गतिविधिलाई विषयगत रूपमा अघि बढाउन बैठकले विभिन्न छ वटा विभाग गठन गर्दै जिम्मेवारी बाँडफाँट गरेको छ।

भाषा तथा साहित्य विभागको संयोजकमा राममणि पोखरेल, कला तथा संस्कृति विभागको संयोजकमा मिथुन ठाकुर, इतिहास तथा पुरातत्त्व विभागको संयोजकमा कौशल चेम्जोङ, अनुसन्धान तथा प्रकाशन विभागको संयोजकमा महेन्द्र राई, बाल तथा युवा सिर्जना विभागको संयोजकमा सीमा मास्के र अभिलेख तथा डिजिटल स्रोत विभागको संयोजकमा गोपाल कृति चयन भएका छन्।

विभागका सदस्यहरूमा बासु पोखरेल, टंकबहादुर आले मगर, सीमा मास्के, कृतिबहादुर खड्का, वीरसबाबु ठकुरी, वीरेन्द्रकुमार बस्नेत, हरि केसी, हर्कनारायण श्रेष्ठ, वीरसबाबु शाही, चन्द्रनारायण चौधरी, अनन्तकुमार दनुवार, सम्झना असफल राईलगायतलाई जिम्मेवारी दिइएको छ।

आवश्यकताअनुसार आपसी समझदारीमा विभागको जिम्मेवारी थपघट वा हेरफेर गर्न सकिने निर्णयसमेत गरिएको छ।

बैठकले प्रतिष्ठानको वार्षिक कार्ययोजना तयार गरी असोज १९ गते बस्ने परिषद् बैठकमा पेश गर्ने निर्णय गरेको छ। प्रतिष्ठानले आफ्नो आगामी कार्यक्रमलाई व्यवस्थित र परिणाममुखी बनाउन वार्षिक कार्ययोजनालाई आधार बनाउने भएको छ।

त्यस्तै, त्रियुगा नगरको पहिचान र प्रतिष्ठानको उद्देश्यलाई जनस्तरसम्म पुर्‍याउन प्रचारात्मक सामग्री निर्माण तथा प्रयोग गर्ने निर्णय भएको छ।

बैठकमा प्रतिष्ठानका अध्यक्ष राममणि पोखरेल, उपाध्यक्ष महेन्द्रकुमार राई, सचिव कौशल चेम्जोङ, सदस्यहरू सीमा मास्के, शैलेन्द्र खतिवडा, बाबु पोखरेल, गोपाल कृति र टंकबहादुर आले मगरलगायतको उपस्थिति रहेको थियो। सदस्य सञ्जय दनुवार जानकारीसहित अनुपस्थित थिए।

त्यसैगरी प्राज्ञ परिषद्का सदस्यहरू वीरेन्द्रकुमार बस्नेत, हर्कनारायण श्रेष्ठ, अनन्तकुमार दनुवार, वीरसबाबु शाही र मिथुन ठाकुर उपस्थित थिए भने चन्द्रनारायण चौधरी अनुपस्थित रहेका थिए। सम्झना असफल राई, ऋषिकेश पोखरेल र हरि केसी जानकारीसहित अनुपस्थित रहेको बैठकको विवरणमा उल्लेख छ।

त्रियुगा प्रज्ञा प्रतिष्ठानको यो पहिलो बैठकले नगरको भौतिक विकाससँगै स्थानीय इतिहास, भाषा, साहित्य, कला र संस्कृतिलाई संस्थागत रूपमा संरक्षण गर्दै नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने आधार तयार गरेको प्रतिष्ठानका पदाधिकारीहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया