उदयपुर । प्रहरीले लागूऔषध ब्राउन सुगर २६.९०० ग्राम सहित एक युवा पक्राउ परेको छ । त्रियुगा नगरपालिका ८ राजाबासबाट सोही ठाउँका ३० बर्षिय रुपेश दनुवारलाई मंगलबार राति ९.३० बजेको समयमा उक्त परिणामको ब्राउन सुगर सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

विशेष सुराकीको आधारमा स्थायी प्रहरी पोष्ट बसपार्क र चुहाडेबाट खटिएको प्रहरी टोलीले दनुवारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दनुवारले चलाएको स ५ प ५२७९ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा ब्राउन सुगर मोटरसाइकलबाट बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले निजको साथ बाट ब्राउन सुगर तौलने डिजिटल तराजु, नगद ५ हजार १६८ , मोबाइल १ थान, लागूऔषध नाइट्राभेट २४ ट्याबलेट र १८ थान स्पास्मो गरि ४२ ट्याब्लेट समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।

प्रहरीले लागूऔषध सहित दनुवारलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान सुरु गरेको छ ।

तपाईको प्रतिक्रिया