सुनसरी । सप्तकोसी नदीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्। दुर्घटनामा परेका अन्य यात्रुको उद्धार गरिएको प्रहरीले जनाएको छ।
भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्र आउँदै गरेको बोट अरुण दुधकोसीको त्रिवेणी क्षेत्र नजिकै बोटको इञ्जिन फेल भएपछि अनियन्त्रित भई बग्न थालेको थियो। बग्दै गएको पानीबोट बराहक्षेत्र क्षेत्रमा पुगेपछि पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगर, चक्रघट्टीका प्रमुख विक्रम भट्टराईले जानकारी दिए।
प्रहरीका अनुसार दुर्घटनाको समयमा पानीबोटमा १४ जना सवार थिए। तीमध्ये १२ जनाको अवस्थाबारे जानकारी प्राप्त भएको छ भने दुई जना अझै बेपत्ता छन्।
दुर्घटनापछि उद्धार गरिएका चार जनालाई उपचारका लागि चतरा अस्पताल पठाइएको थियो। तीमध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको र एक जनाको उपचार भइरहेको प्रहरी प्रमुख भट्टराईले बताए।
मृत्यु हुनेहरूको पहिचान खुल्न बाँकी रहेको छ। उद्धार गरिएका अन्य यात्रुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
जेटबोट चालक सुनसरी प्रहरीको नियन्त्रणमा रहेका छन् । मृतकको पहिचानको प्रयास भइरहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।









