उदयपुर । उदयपुरको विभिन्न स्थानमा ब्राउन सुगर सहित दुई जना पक्राउ परेको छ । यात्री बसमा सबार बेलका नगरपालिका ५ घुम्नेका ३० बर्षिय प्रदीप बस्नेतलाई २.६ ग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

असोज १५ गते पक्राउ गरिएको उनलाई १६ गते बिहान दिसा गर्न लगाउदा प्लास्टिकले बेरी मलद्वारमा लुकाएर राखेको अबस्थामा उक्त ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई जिल्ला अदालत उदयपुरबाट म्याद लिएर अनुसन्धानको लागि प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।

यस्तै उदयपुरको त्रियुगा नगरपालिका–११ गाईघाट बजारबाट ब्राउन सुगरजस्तो देखिने लागूऔषधसहित एक युवक पक्राउ परेका छन । उनलाई गाईघाट बजारस्थित बाबारानी मार्गबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।उनलाई आइतबार दिउँसो (१ः४५ बजे) विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. ५ गण हे.क्वा. त्रियुगा उदयपुरबाट खटिएको मोबाइल गस्ती टोलीले शंकास्पद अवस्थामा चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–१२ इन्द्रेणी टोल बस्ने ३१ वर्षीय महेन्द्र कार्की रहेका छन् ।

सशस्त्र प्रहरी सहायक निरीक्षक अम्बरबहादुर जोगीको कमाण्डमा खटिएको १० जनाको टोलीले कार्कीको साथबाट ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ अन्दाजी १.३३ ग्राम अर्थात् ६ पोका बरामद गरेको जनाएको छ । त्यस्तै, उनको साथबाट स्यामसङ कम्पनीको ग्यालेक्सी ए–०७ मोबाइल १ थान र किप्याड मोबाइल १ थान गरी जम्मा दुई थान मोबाइल, नगद २ हजार रुपैयाँ तथा एस–१०–पी–५८८५ नम्बरको यामाहा स्कुटर बरामद गरिएको छ ।

पक्राउ परेका कार्कीलाई बरामद सामग्रीसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया