गाईघाट । आर्टिफिसियल इन्टेलिजेन्स (AI) र जलविद्युतीय (Hydroelectric) इन्जिनियरिङको प्राविधिक शिक्षातर्फ बरुवा क्याम्पसको नयाँ कार्यक्रम ल्याउने तयारी थालेको छ । त्रियुगा नगरपालिका–१२ स्थित बरुवा क्याम्पसले आफ्नो स्थापनाको १७ औँ वार्षिक साधारण सभामा सो कार्यक्रम ल्याउने बारे आफ्नो तयारी रहेको जनाएको छ ।
दक्ष जनशक्ति उत्पादन र वैज्ञानिक शिक्षा अवधारण अनुसार विदेशी सम्बन्धन सहित एआई र जलविद्युतीय इन्जिनियरिङको अवधारणा अघि बढाईएको क्याम्पस संचालक समितिका अध्यक्ष बलदेव चौधरीले जानकारी दिए । अवको युग भनेको विज्ञान र टेक्नोलोजीको हो, त्यसैले नयाँ नयाँ प्रविधि सहितको शिक्षा आवश्यक भएकोले स्वदेशी तथा विदेशी सम्बन्धन सहितको एआई र जलविद्युतीय इन्जिनियरिङ शिक्षाको अवधारण रहेको बताए । उनले भने, ‘नेपालमा जलविद्युतीय क्षेत्रमा इन्जिनियरिङ शिक्षाको अभावले नेपाली विद्यार्थीहरु विदेसिने गरेको छ र नेपालमा जलविद्युतको निकै ठूलो सम्भावना बोकेको छ तर इन्जिनियरहरु बाहिरबाट ल्याउनु पर्ने बाध्यता रहेकोले यसलाई परिपूर्ति गर्नको लागि नेपालमै जलविद्यतीय इन्जिनियरिङ कलेज आवश्यक रहेको छ । म आफै हाइड्रो कम्पनीको लगानी कर्ता हुँ तर हाइड्रो इन्जिनियर विदेशबाट हायर गरेर ल्याउनु परेको छ ।’
क्याम्पसको सभा हलमा आयोजित साधारण सभाको उद्घाटन कोशी प्रदेश सभाकी उपसभामुख सिर्जना दनुवारले गर्नुभएको थियो । उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपसभामुख दनुवारले स्नातक तहको शिक्षाको गन्तव्यका रूपमा विकास हुँदै गएको बरुवा क्याम्पसलाई कोशी प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग जुटाउन आफू सक्रिय रहने बताउनुभयो । सर्वसुलभ रूपमा गुणस्तरीय शिक्षा प्रदान गर्न क्याम्पसले खेलेको भूमिका अतुलनीय रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा अभियन्ता तथा शिक्षाप्रेमी राहुल यादवले वार्षिक साधारण सभा प्रतिवेदन प्रस्तुत गर्ने र बजेट पारित गर्ने औपचारिक कार्यक्रम मात्र नभई विगतको समीक्षा, वर्तमानको मूल्याङ्कन तथा आगामी दिनको स्पष्ट मार्ग तय गर्ने महत्वपूर्ण अवसर भएको बताउनुभयो । उहाँले बरुवा क्याम्पस उदयपुरका हजारौँ विद्यार्थीको भविष्य निर्माण गर्ने आशाको केन्द्रका रूपमा स्थापित हुँदै गएको उल्लेख गर्नुभयो ।

साधारण सभामा कोशी प्रदेश सभा सदस्य गीता रेग्मी, क्याम्पस सभा सदस्य, शिक्षाप्रेमी, पत्रकार, प्राध्यापक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

१७ औँ वार्षिक साधारण सभामा क्याम्पसको नीति तथा वार्षिक कार्यक्रम प्रस्तुत गरिएको क्याम्पस प्रमुख तथा सदस्य–सचिव भीमबहादुर खड्काले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया