उदयपुर । जिल्ला अस्पताल उदयपुरमा विहिबार राति उपचारको क्रममा एक गर्भवती महिलाको मृत्यु भएको छ । उदयपुरगढी गाउँपालिका ६ की ३२ वर्षिय गर्भवती सिता राउत कार्कीको उपचार अभावमा मृत्यु भएको हो ।
गत फागुन १७ गते नै सुत्केरी गराउन जिल्ला अस्पताल गाईघाट ल्याएकी गर्भवती महिलाको उपचार नपाएरै मृत्यु भएको श्रीमान् अर्जुन कार्कीले जानकारी दिए । जिल्ला अस्पतालका डाक्टरहरुले १७ गते देखि नै नर्मल डेलीभरी हुन्छ भन्दा भन्दै राखेकोमा अन्ततः विहिबार राति श्रीमतिको उपचार नै नपाएर मृत्यु भएको श्रीमान कार्कीले जानकारी दिए ।
उनका अनुसार नर्मल सुत्केरी हुन्छ किन बाहिर लैजान्छौ भन्दा भन्दै श्रीमतिको मृत्यु हुन गयो । डाक्टरहरु हामी माथि नै झर्कने, रिसाउने गरेको थियो । उनले भने, “अपरेशन गरेर भएपनि बच्चा निकाल्दिन भन्दा पनि अस्पतालको कोही कर्मचारी तथा डाक्टरहरुले एकले अर्कोलाई देखाउने गर्ने क्रममा उपचार नै नपाएर मेरो श्रीमतिको मृत्यु भयो ।”
विहिबार शेर्पाहरुको ग्याल्पो ल्होसार पनि भएको डाक्टरहरु अस्पताल नआएको एक कर्मचारी स्रोतले जानकारी दिइएको छ । अस्पतालका डाक्टर तथा स्टाफहरु विहिबार एक पार्टीमा गएकोले मेरो श्रीमतिको उपचार नभएको मृतकका श्रीमान कार्कीले आरोप लगाएका छन् । अस्पतालका डाक्टरहरुकै चरम लापरबाहीले मेरो श्रीमतिको मृत्यु भएको कार्कीको आरोप छ ।
स्थानीय सन्तोष निरौलाका डाक्टरहरु विहिबार राति अबेरसम्म नआएपछि गर्भवती महिलाको मृत्यु भएको जानकारी दिए । यसमा सरासर अस्पतालको डाक्टरहरु गलत छ ।
अस्पतालमा प्रसुति गराउने दुई जना डाक्टर रहेपनि उपचार नपाउँदा गर्भवती महिलाको उपचारको क्रममा मृत्यु भएको छ । यस विषयमा अस्पतालका डाक्टरहरु सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेनन् ।
विगतका दिनहरुमा पनि जिल्ला अस्पतालका डाक्टरहरुको लापरबाहीले सुत्केरी गर्न ल्याएकी महिलाहरुको मृत्यु भएको थियो । कुनै डाक्टरले आफ्नो क्लिनिक चलाउने, कसैले अरुको क्लिनिकमा गएर काम सेवाग्राही मार्कामा परेको छ ।









