उदयपुर । उदयपुरमा सञ्चालित सिटी सफारीलाई सुरक्षित, अनुशासित र मर्यादित बनाउने उद्देश्यले सुरु गरिएको ‘सुरक्षित चालक’ अभियान अन्तर्गत पहिलो चरणको पोसाक ज्याकेट वितरण गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुर र जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको अग्रसरतामा बुधबार आयोजित एक कार्यक्रमका बीच १ सय अटो र सफारी चालकहरूलाई ज्याकेट वितरण गरिएको हो ।
सुरक्षित चालक अभियान कार्यक्रमको प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले पानसमा बति बालेर गरेको थियो । कार्यक्रमको प्रमुख अतिथिले उदयपुरमा सुरक्षित चालक अभियान संचालन भएकोमा खुशी व्यक्त गर्दै मादक पदार्थ र लागूऔषध सेवन गरेर सवारी साधन नचलाउन अनुरोध गरेका छन् । सवारी साधन चलाउनु अघि सवारी साधनको अवस्था बारे जाँच गरेर मात्र सवारी चलाउन अनुरोध गरेका छन् । दुर्घटनामा परेका व्यक्तिलाई तत्कालै उद्दार गरी नजिकैको उपचार गर्ने निकायमा पुर्याउन पनि अनुरोध गरेका थिए ।
अभियानमा दर्ता भएका चालकहरूलाई ट्राफिक नियम, सुरक्षित सडक प्रयोग र सुरक्षित चालक अभियानको महत्वबारे जानकारी दिइएका थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख दानबहादुर मिरिङचिङले अटो र सिटी सफारीलाई व्यवस्थित बनाउनुका साथै सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले यो अभियान सुरु गरिएको जानकारी दिए । अभियानमा जिल्ला उद्योग वाणिज्य संघ उदयपुरले सहयोगी भूमिकामा रहेकोमा धन्यवाद दिइएका थिए ।
‘अटो र सिटी सफारी सेवालाई जिम्मेवार र सुरक्षित बनाउन हामीले यो पहल गरेका हौँ,’ ट्राफिक प्रमुख मिरिङचिङले भने, ‘यसले चालकहरूमा अनुशासन कायम गराउनुका साथै सडक सुरक्षामा समेत टेवा पुग्ने विश्वास लिएका छौँ ।’ वितरण गरिएको ज्याकेटमा नम्बरिङ गरिएको छ । ट्राफिक नियम तीन पटकसम्म उलंघन गरे ज्याकेट खोसिने ट्राफिक प्रमुख मिरिङचिङले भने । सवारी चालक अनुमति पत्र नभएका अटो र सिटी सफारीहरुलाई चालक अनुमति पत्रको लागि सहजिकरण गर्ने बताए ।
ज्याकेट वितरणको लागि २५८ जनालाई फारम भरेकोमा पहिलो चरणमा १ सय जनालाई वितरण गरिएको जिल्ला उद्योग वाणिज्य संघ उदयपुरका अध्यक्ष गजेन्द्रकुमार भगतले बताए । अव केहि समयपछि पुनः थप १५८ जनालाई दोस्रो चरणमा ज्याकेट वितरण गर्ने अध्यक्ष भगतले जानकारी दिए । सुरक्षित चालक अभियानलाई जिल्ला भरमा संचालन गर्ने आफ्नो संस्थाको सहयोग रहने जिल्ला उद्योग वाणिज्य संघ उदयपुरका अध्यक्ष भगतले बताए । गाईघाट बजार तथा चोक चोकमा सुरक्षित यात्रा सम्बन्धि जनचेतनामुलक फलेक्स प्रिन्ट पनि लगाउने अध्यक्ष भगतले बताए । 
उदयपुरको त्रियुगा नगरपालिकामा १ हजार बढी अटो र सफारी सञ्चालनमा रहेका छन् । जसमध्ये पहिलो चरणमा १ सय चालकहरू यस सुरक्षित चालक अभियानमा जोडिसकेका छन् । अभियानमा आबद्ध भएका चालकहरूको विस्तृत विवरण ट्राफिक प्रहरीले राख्ने गरेको छ, जसका कारण कुनै अप्रिय घटना वा समस्या भएमा पहिचान गर्न सहज हुने प्रहरीको भनाइ छ ।
सुरक्षित चालक अभियानमा जोडिएका चालकहरुलाई २५–२५ जनाको दरले जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको हलमा ट्राफिक नियम सम्बन्धि तालिम संचालन गर्ने जिल्ला ट्राफिक प्रहरीले जानकारी दिए ।
सुरक्षित चालक अभियानको आयोजना जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुर र समन्वय जिल्ला उद्योग वाणिज्य संघ उदयपुरले गरेको थियो ।










