उदयपुर । उदयपुरको कटारी नगरपालिका ६ स्थित भुसुने जंगलमा सोमबार राति साढे सात बजे १८२ केजी बेबारिसे लागू औषध गाँजा बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले जंगलको झाडीमा ९ वटा बोरामा सो गाँजा रहेको प्रहरीले जनाएको छ ।
यस्तै सोमबार नै बेलका नगरपालिका ४ लच्कामा चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ र लागू औषधका ट्याब्लेट सहित १ मोटरसाइकल बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले बेलका नगरपालिका ४ लच्कामा चेकजाँच गर्ने क्रममा रामपुरबाट लालबजार जाँदै गरेको बा ६२ प १८२० नम्बरको मोटरसाइकल चालकले प्रहरीलाई देख्नासाथ मोटरसाईकल छाडी भागेका थिए ।
शंका लागि चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा लुकाई छिपाई ल्याउदै गरेको २.७२० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ, २० ट्याब्लेट नाट्राजेपाम र १५१० क्याप्सुल ट्रामाडोल सहित मोटरसाईकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ । फरार व्यक्तिहरुको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।









