उदयपुर । उदयपुरमा आफ्नै सवारी साधनबाट ट्राइल दिन पाउने भएको छ । यातायात व्यवस्था सेवा कार्यालय उदयपुरले एक सूचना प्रकाशित गरि भोली (फागुन ५ गते) देखि लागू हुने गरी आफ्नै सवारी साधनबाट ट्राइल दिन पाउने व्यवस्था गरेको छ ।
गत पुस ९ गते शुक्रबार नागरिक बहस अनलाइनमा “उदयपुरमा सरकारी ट्राइल सेन्टर बनाउन थाति, निजीलाई पोस्ने नीति, ट्राइल सेन्टरमा दुई पाँग्रेको २७० रुपैया र चार पाँग्रेको ६१० रुपैया तिर्न बाध्य” शिर्षकको समाचार प्रकाशित भएको थियो । समाचार प्रकाशित भएपछि यातायात सेवा कार्यालयले आन्तरिक तयारीको थालनी गरेको थियो । सोही बमोजिम फागुन ५ गतेबाट लागू हुने गरी चार सर्त सहित ट्राइल सेन्टरमा आफ्नो सवारी साधन प्रयोग गर्न पाउने भएको छ ।

ब्लुबुक अनिवार्य नविकरण भएको हुनु पर्ने, सवारी साधनको तेस्रो पक्ष विमा अनिवार्य हुनु पर्ने, ट्राइल दिन आउँदा सवारी चालक अनुमति पत्र भएको व्यक्तिसँग आएको हुनु पर्ने र सवारी साधन सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ ले निर्दिष्ट गरेको मापदण्ड बमोजिम भएको हुनु पर्ने यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख शुभास कार्कीले बताए । उनका अनुसार कर्मचारीको अभावले आफ्नै सवारी साधनबाट ट्राइल सेन्टरमा ट्राइल दिने व्यवस्था हुन सकेको थिएन अव बुधबारबाट यो व्यवस्था लागू हुनेछ ।

यातायात व्यवस्था सेवा कार्यालय उदयपुरले ट्राइल प्रयोग गरेवापत लिइदै आएको शुल्क घटाएको छ । पुस ९ गते शुक्रबार नागरिक बहस अनलाइनमा “उदयपुरमा सरकारी ट्राइल सेन्टर बनाउन थाति, निजीलाई पोस्ने नीति, ट्राइल सेन्टरमा दुई पाँग्रेको २७० रुपैया र चार पाँग्रेको ६१० रुपैया तिर्न बाध्य” शिर्षकको समाचार प्रकाशित भएको थियो ।

यसरी समाचार प्रकाशित भएपछि गत पौष १२ गते प्रदेश १ भौतिक पुर्बाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था कार्यालय प्रमुखहरुसंगको औपचारिक छलफलमा ट्राइल सेन्टरहरुले लिइदै आएको शुल्क घटाउन मन्त्री हिमाल कार्कीले निर्देशन दिइएको थियो । निर्देशन दिएसँगै यातायात व्यवस्था सेवा कार्यालय उदयपुरले गाईघाट ट्राइल सेन्टरका संचालकलाई शुल्क घटाउन निर्देशन दिइएको थियो । यातायात व्यवस्था सेवा कार्यालयले निर्देशन दिएसँगै यस अघि पौष १५ गतेबाट प्रयोगात्मक परीक्षमा सवारी साधन प्रयोग वापत लिइदै आएको शुल्कमा मोटर साइलक र स्कुटरमा ५० रुपैया र चार पाँग्रेमा ११० रुपैया घटाएको थियो ।अहिले ट्राइल सेन्टरमा आफ्नै सवारी साधन प्रयोग गर्न पाएपछि ट्राइल सेन्टर प्रवेश शुल्कमा पुनः घटाएको छ । शुरुका दिनमा लिइदै आएको शुल्कमा समाचार प्रकाशित भएपछि पटक पटक गरी मोटर साइलकमा १०१ रुपैया २० पैसा र चार पाँग्रेमा दुई सय ७० रुपैया २० पैसा शुल्क घटाएको छ ।

शुरुका दिनहरुमा ट्राइल सेन्टरको मोटर साइकल र स्कुटर प्रयोग गरेवापत भ्याट सहित २ सय ७१ रुपैया २० पैसा र चार पाँग्रे सवारी साधनको भ्याट सहित छ सय १० रुपैया २० पैसा शुल्क तिर्न बाध्य हुन्थ्यो । अवका दिनमा मोटर साइकल र स्कुटर ट्राइल सेन्टरमा प्रवेश गराएमा भ्याट सहित एक सय ७० रुपैया र चार पाँग्रे सवारी साधन प्रवेश गराएमा तीन सय ४० रुपैया शुल्क तिर्नु पर्ने यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख कार्कीले बताए । उनका अनुसार निजी ट्राइल सेन्टर भएकोले यति महंगो भएको हो । यातायात व्यवस्था सेवा कार्यालयको ट्राइल सेन्टर भएमा यति पनि पर्दैन ।

अहिलेसम्म यातायात व्यवस्था सेवा कार्यालय गाईघाटबाट मोटर साइकलको एक हजार नौ सय २५ जना, स्कुटरको चार सय ७८ जना, चार पाँग्रे सानोको तीन सय ९४ जना, अटो रिक्साको ६० जना र ट्याक्टरको ११ जनाले प्रयोगात्मक परीक्षा पास गरेको यातायात कार्यालयका प्रमुख कार्कीले जानकारी दिए ।

यस अघि नै समाचार प्रकाशित भएकै दिन प्रदेश नं. १ का भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीले जलजलेमा त्रियुगा नगरपालिकाले यातायात व्यवस्था सेवा कार्यालय उपलब्ध गराएको २ विगहा १० कट्ठ जग्गाको स्थलगत अनुगमन गरेका थिए । अनुगमन पश्चात यातायात कार्यालयको फाइल कहाँ अडकिएको छ अध्ययन गरेर अगाडी बढ्ने मन्त्री कार्कीले प्रतिवद्धता जनाएको थियो ।

थप सम्बन्धित समाचार पढ्नुहोस्

समाचार प्रभाव : घट्यो ट्राइल सेन्टरमा लाग्ने शुल्क

समाचार प्रभाव : सरकारी ट्राइल सेन्टर बनाउने जग्गाको मन्त्री कार्कीद्वारा स्थलगत अनुगमन

उदयपुरमा सरकारी ट्राइल सेन्टर बनाउन थाति, निजीलाई पोस्ने नीति

ट्राइल सेन्टरमा दुई पाँग्रेको २७० रुपैया र चार पाँग्रेको ६१० रुपैया तिर्न बाध्य

 

तपाईको प्रतिक्रिया