उदयपुर । दुई वर्ष अघि त्रियुगा नगरपालिका ६ स्थित जलजले प्रहरी चौकीको पश्चिम तर्फको त्रियुगा नगरपालिकाको भोगअधिकार रहेको जग्गा यातायात व्यवस्था कार्यालय उदयपुरलाई उपलब्ध गराएको जग्गाको प्रदेश नं. १ का भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीले स्थलगत अनुगमन गरेको छ । पुस ९ गते शुक्रबार नागरिक बहस डट कम अनलाइनमा “उदयपुरमा सरकारी ट्राइल सेन्टर बनाउन थाति, निजीलाई पोस्ने नीति ” शिर्षकको सामाचार प्रकाशित भएकै दिन मन्त्री कार्कीले सो जग्गाको स्थलगत अनुगमन गरेको थियो ।

प्रदेश नं. १ का भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीद्वारा नगरपालिकाले यातायात व्यवस्था कार्यालयलाई उपलब्ध गराएको जग्गाको अनुगमन गर्दै । तस्विर : रमाकान्त चौधरी

त्रियुगा नगरपालिकाको अगुवाईमा प्रदेश सांसद नारायण बुर्जामगर, अम्विका थापा, नगर प्रमुख बलदेव चौधरी, प्रमुख जिल्ला अधिकारी धुव्रबहादुर खड्का, वडाध्यक्ष निर्मल कुमार चौधरी, पत्रकार लगायतको संयुक्त अनुगमन पछि २०७६ पुस १४ गते त्रियुगा नगरपालिकाको कार्यपालिकाको बैठकले नगरपालिकाको स्वामित्व तथा भोगअधिकारमा रहेको २ विगाहा १० कठ्ठा जग्गा यातायात व्यवस्था कार्यालयलाई उपलब्ध गराउने निर्णय गरेको थियो । नगर कार्यापालिकाको बैठकको निर्णयको जानकारी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयलाई समेत दिइएको थियो ।

यातायात व्यवस्था सेवा कार्यालय गाईघाटको भवन र ट्राइल सेन्टर निर्माणको त्रियुगा नगरपालिका मताहत रहेका जग्गाको क्रममा प्रदेश सांसद नारायण बुर्जामगर र अम्बिका थापा साथमा त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, वडाध्यक्ष निर्मल चौधरी लगायतद्वारा अनुगमन । फाइल तस्विर

यतिका दिन वित्दा पनि त्यस जग्गामा कुनै संरचना नबनेपछि दुई महिना अघि मन्त्री भएका कार्कीले सो जग्गाको स्थलगत अनुगमन गरेर फाइल कहाँ अडकिएको छ त्यसको खोजी गरेर प्रक्रिया अघि बढाउने प्रतिवद्धता गरेको छ । जग्गा प्राप्ती तथा कानूनी जटिलता भए त्यसलाई तत्काल अघि बढाएर यातायात कार्यालय बनाउन र ट्राइल सेन्टर बनाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

सरकारी ट्रायल सेन्टर बनाउने कामलाई बेवास्ता गरी सेटिङ र पूर्वयोजना अनुसार नै निजीलाई पोस्ने नीति लिइएको प्रष्ट देखिएको छ । यतिका दिन वित्दा पनि नगरपालिकाले उपलब्ध गराईको जग्गालाई बेवास्ता गर्नुले सेवाग्राहीले महंगो शुल्क तिरेर ट्राइल दिन बाध्य पारिएको छ ।

ट्राइल सेन्टरमा आफ्नो व्यक्तिगत सवारी साधनबाट प्रयोगात्मक परीक्षा दिन बञ्चित गराइएको छ । व्यक्तिगत सवारी साधनबाट बञ्चित गराईएपछि बाध्य भएर ट्राइल सेन्टरको सवारी साधन प्रयोग गर्न बाध्य बनाइएको छ । ट्राइल सेन्टरको सवारी साधन प्रयोग वापत दुई पाँग्रे मोटर साइकल र स्कुरको २४० रुपैया शुल्क र थप १३ प्रतिशत भ्याट सहित २७१ रुपैया २० पैसा तिर्नु परिरहेको छ भने चार पाँग्रे सवारी साधन प्रयोग वापत ५४० रुपैया शुल्क र थप १३ प्रतिशत भ्याट सहित ६१० रुपैया २० पैसा तिर्नु परिरहेको छ ।

चार पाँग्रे सवारी साधनको ट्राइल दिएका त्रियुगा नगरपालिका शिक्षा शाखा प्रमुख एक बहादुर राउतले ट्राइल सेन्टर महंगो भएको आरोप लगाए । उनले भने, “एक त हामीले सिकेको गाडी र त्यहाँको गाडी फरक हुँदो रहेछ, गाडी नै कवाडी जस्तो लाग्यो, अगाडी बढाउन खोज्दा नै अगाडी नबढ्ने रहेछ सायत विग्रेको जस्तो लाग्यो ।”

ट्राइल दिन गएका अर्का व्यक्ति चतुर धामीका अनुसार हामीले आफ्नो मोटर साइकल प्रयोग गर्न नपाइने रहेछौं । ट्राइल सेन्टरकै मोटर साइकल प्रयोग गरेपनि शुल्क महंगो छ । अर्का सेवाग्राही विजय राईले पनि ट्राइल सेन्टरको शुल्क महंगो भएको बताए ।

निजी ट्राइल सेन्टर प्रयोग गरेवापत उठेको रकमको केही प्रतिशत यातायात कार्यालयको कर्मचारीसम्म पुग्ने गरेको स्रोतले जानकारी दिएका छन् । उनका अनुसार न्यूनतम एक सय रुपैयासम्म यातायातको कर्मचारीलाई जाने गरेको छ भने मेडिकल गरेवापतको रकमको मार्जिन पनि यातायातको कर्मचारीसम्म पुग्ने गरेको छ ।

यता ट्राइल सेन्टर महंगो शुल्क लिएको गुनासोबारे यातायात सेवा कार्यालय गाईघाटका प्रमुख शुभाष कार्कीलाई सम्पर्क गर्दा तोकिएको शुल्क तिर्नु पर्ने बताए । प्रमुख कार्कीले भने, “हामीले ट्राइल सेन्टरलाई कुनै पनि रकम नदिइएको र ट्राइल सेन्टरले नै सम्पूर्ण लगानी गरेकोले पैसा लिनु स्वभाविक हो ।”

ट्राइल सेन्टरबाट हामीलाई कुनै रकम नआएको कार्यालय प्रमुख कार्कीले बताए । उनका अनुसार ट्राइल सेन्टर र मेडिकल सेन्टरबाट केही रकम यातायातका कर्मचारीलाई आएको सरासर झुट भएको बताए । उनले भने, “ट्राइल सेन्टर महंगो शुल्क असुली गरेको गुनासो म कहाँ पनि आएको छ । महंगो शुलक कसरी घटाउन सकिन्छ यसबारे हामी छलफल गदर्नेछौं ।”

उनले मापदण्ड बमोजिमको सवारी साधनबाट ट्राइल दिनु पर्ने भएकोले निजी ट्राइल सेन्टरको सवारी साधन प्रयोग गर्नु परेको हो । मापदण्डतः ९७ सिसीको मोटर साइकल वा स्कूटरबाट ट्राइल दिन सकिन्छ । उदयपुरमा दिन विराएर एक सय भन्दा बढी सेवाग्राहीले आवेदन दिने गरेको छ ।

सेटिङ र पूर्व योजना बमोजिम त्रियुगा नगरपालिका ९ गैहरुनको उक्त गाईघाट ट्राइल सेन्टरका संचालकले सरोकारवाला निकायलाई प्रभावमा पारेर ५ वर्षको लागि ट्रायल सेन्टर हत्याएको देखिन्छ ।

तपाईको प्रतिक्रिया