उदयपुर । २०७२ असारमा यातायात सेवा कार्यालय गाईघाटमा स्थापना भएपनि लामो समयपछि उदयपुरबाट सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा शुरु भएको छ । प्रयोगात्मक परीक्षा स्थल (ट्राइल सेन्टर) भने निजीलाई चलाउन अनुमति दिइएको छ ।
दुई वर्ष अघि नै त्रियुगा नगरपालिका ६ स्थित जलजले प्रहरी चौकीको पश्चिम तर्फको ऐलानी खाली जग्गा यातायात सेवा कार्यालयलाई दिईने भनि प्रदेश सांसद नारायण बुर्जामगर, अम्बिका थापा, सुनिता चौधरी, हिमाल कार्की, मेयर बलदेव चौधरी लगायतले स्थलगत अनुगमन गरेको थियो । स्थलगत अनुगमन पछि सोही ठाउँको एलानी जग्गा यातायात कार्यालयलाई दिइने भनि वडा, नगरपालिका हुँदै जिल्ला प्रशासन कार्यालयले निर्णय गरेर प्रदेश र केन्द्रसम्ममा पठाइ सकिएको छ । त्रियुगा नगरपालिका ६ का वडाध्यक्ष निर्मल चौधरीले जलजलेमा जग्गा दिने भनेर वडा कार्यालयले सिफारिस गरेर पाएकोका छौं, यातायात कार्यालयको भवन र ट्राइल सेन्टर बन्ने आशमा बसेको पनि दुई वर्ष भईसक्यो ।
सरकारी ट्रायल सेन्टर बनाउने तयारीलाई थाति राखेर यातायात सेवा कार्यालय गाईघाटले निजी ट्रायल सेन्टरलाई प्रयोगात्मक परीक्षाको लागि छनौट गरेको छ । सरकारी ट्रायल सेन्टर बनाउने कामलाई बेवास्ता गरी सेटिङ र पूर्वयोजना अनुसार नै निजीलाई पोस्ने नीति लिइएको प्रष्ट देखिएको छ ।
सेटिङ र पूर्व योजना बमोजिम त्रियुगा नगरपालिका ९ गैहरुनको उक्त गाईघाट ट्राइल सेन्टरका संचालकले सरोकारवाला निकायलाई प्रभावमा पारेर ५ वर्षको लागि ट्रायल सेन्टर हत्याएको देखिन्छ । उनको अर्को ट्राइल सेन्टर इलाममा पनि रहेको खुलेको छ । गाईघाट ट्राइल स्थल सरकारले तोकेको मापदण्ड बमोजिमको रहेको बताइएको छ ।
प्रयोगात्मक परीक्षा शुरु भएपनि यातायात कार्यालयको आफ्नै ट्राइल सेन्टर नहुँदा परीक्षार्थीहरुले महंगो रुपमा शुल्क तिरेर ट्राइल परीक्षा दिन बाध्य बनाईएको छ । उदयपुरमा गत मंसिर ८ गते प्रदेश नं. १ का भौतिक पूर्वाधार मन्त्री हिमाल कार्कीले ट्राइल सेन्टरको उद्घाटन गरेको थियो । ट्राइल सेन्टर एक निजी कम्पनी गाईघाट ट्राइल सेन्टरलाई टेण्डर दिइएको छ । ट्राइल सेन्टरको उद्घाटन गरेको एक महिना नपुग्दै ट्राइल सेन्टरमा परीक्षार्थीले परीक्षा दिँदा महंगो शुल्क लिएको गुनासाहरु व्यापक रुपमा आउन थालेको छ । ट्राइल सेन्टरमा आफ्नो व्यक्तिगत सवारी साधनबाट प्रयोगात्मक परीक्षा दिन बञ्चित गराइएको छ । व्यक्तिगत सवारी साधनबाट बञ्चित गराईएपछि बाध्य भएर ट्राइल सेन्टरको सवारी साधन प्रयोग गर्न बाध्य बनाइएको छ । ट्राइल सेन्टरको सवारी साधन प्रयोग वापत दुई पाँग्रे मोटर साइकल र स्कुरको २४० रुपैया शुल्क र थप १३ प्रतिशत भ्याट सहित २७१ रुपैया २० पैसा तिर्नु परिरहेको छ भने चार पाँग्रे सवारी साधन प्रयोग वापत ५४० रुपैया शुल्क र थप १३ प्रतिशत भ्याट सहित ६१० रुपैया २० पैसा तिर्नु परिरहेको छ ।
ट्राइल दिन आएका चतुर धामीका अनुसार हामीले आफ्नो मोटर साइकल प्रयोग गर्न नपाइने रहेछौं । ट्राइल सेन्टरकै मोटर साइकल प्रयोग गरेपनि शुल्क महंगो छ । अर्का सेवाग्राही विजय राईले पनि ट्राइल सेन्टरको शुल्क महंगो भएको बताए ।
स्रोतका अनुसार ट्राइल सेन्टर प्रयोग गरेवापत उठेको रकमको केही प्रतिशत यातायात कार्यालयको कर्मचारीसम्म पुग्ने गरेको बताए । उनका अनुसार न्यूनतम एक सय रुपैयासम्म यातायातको कर्मचारीलाई जाने गरेको छ भने मेडिकल गरेवापतको रकमको मार्जिन पनि यातायातको कर्मचारीसम्म पुग्ने गरेको छ ।
यता ट्राइल सेन्टर महंगो शुल्क लिएको गुनासोबारे यातायात सेवा कार्यालय गाईघाटका प्रमुख शुभाष कार्कीलाई सम्पर्क गर्दा तोकिएको शुल्क तिर्नु पर्ने बताए । प्रमुख कार्कीले भने, “हामीले ट्राइल सेन्टरलाई कुनै पनि रकम नदिइएको र ट्राइल सेन्टरले नै सम्पूर्ण लगानी गरेकोले पैसा लिनु स्वभाविक हो ।”
ट्राइल सेन्टरबाट हामीलाई कुनै रकम नआएको कार्यालय प्रमुख कार्कीले बताए । उनका अनुसार ट्राइल सेन्टर र मेडिकल सेन्टरबाट केही रकम यातायातका कर्मचारीलाई आएको सरासर झुट भएको बताए । उनले भने, “ट्राइल सेन्टर महंगो शुल्क असुली गरेको गुनासो म कहाँ पनि आएको छ । महंगो शुलक कसरी घटाउन सकिन्छ यसबारे हामी छलफल गर्नेछौं ।”
उनले मापदण्ड बमोजिमको सवारी साधनबाट ट्राइल दिनु पर्ने भएकोले निजी ट्राइल सेन्टरको सवारी साधन प्रयोग गर्नु परेको हो । मापदण्डतः ९७ सिसीको मोटर साइकल वा स्कूटरबाट ट्राइल दिन सकिन्छ । उदयपुरमा दिन विराएर एक सय भन्दा बढी सेवाग्राहीले आवेदन दिने गरेको छ ।
२०७२ साल असारमा सेवा कार्यालय घोषणा गरेकै वर्ष मधेश आन्दोलनले कार्यालय स्थापना हुन सकेन् । मधेश आन्दोलनको चपेटामा इन्टरनेट सेवा जडान गर्ने कम्पनीले करिव एक वर्ष इन्टरनेट जडान नगर्दा कर्मचारी हाजिर गरेर फर्किने बाहेकको काम हुन सकेन । शुरुमै कार्यालय प्रमुख सहित सात जनाको दरबन्दी रहेपनि कर्मचारी अभाव त्यतिकै व्यहोर्नु पर्यो । कार्यालयमा एक जना कार्यालय प्रमुख र एक जना सहयोगी बाहेक अन्य कर्मचारी नपाउँदा २०७५ सालसम्म काम गर्ने अवसर नै पाएन ।
कार्यालयको विषयमा पटक पटक संचार माध्यममा समाचारहरु आउन थालेपछि बल्ल २०७५ सालबाट ब्लुबुक नविकरण, पटके काट्ने कामको शुरुवात भयो । त्यसपछि अन्य सुविधाहरु थप्ने काम भयो । सेवा कार्यालयको रुपमा स्थापना भएपनि भौतिक पूर्वाधारको अभावमा सवारी चालक अनुमति पत्र लाइसेन्सको परीक्षा र प्रयोगात्मक परीक्षा हुन सकेको थिए । तत्कालको लागि दुई पाँग्रे र हल्का चार चक्के सवारी साधनको लाइसेन्सको सवारी चालक अनुमति पत्र दिने काम शुरुवात भएको छ । अहिले लाइसेन्सको परीक्षा संचालनमा आएपनि ट्राइल सेन्टरको शुल्क महंगो छ ।









