उदयपुर । केही दिन देखि बढेको चिसोले जनजिवन प्रभावित भईरहेको समयमा डिभिजन वन कार्यालय गाईघाटले त्रियुगा नगरपालिकाका बिभिन्न स्थानमा आगो बालेर सर्वसाधारणहरुलाई आगो ताप्ने ब्यबस्था मिलाएको छ । आम नागरिकहरुलाई न्यानोको अनुभुती गराउन डिभिजन वन कार्यालय गाईघाटले स्थानीय चोक तथा ग्रामिण ईलाकाहरुमा आगो बालेर ताप्ने ब्यबस्था मिलाएको हो ।
गाईघाटको पिपल चोक, ट्राफिक चोक, डिएमगेट, बसपार्क लगायतका सार्वजनिक स्थानमा दाउरा बालिएको डिभिजन वन कार्यालय उदयपुरका सूचना अधिकारी जागेश्वर साहले बताए । उक्त स्थानहरुमा दाउराहरु बालिएको र सर्वसाधारणहरुलाई न्यानोको अनुभुती हुने गरी ताप्ने ब्यबस्था मिलाईएको छ ।
उनका अनुसार ३ क्विनटल दाउरा शुक्रबार आगो बालेर ताप्ने व्यवस्था मिलाईएको बताए । उनका अनुसार गरिव, विपन्न तथा दलितलाई पनि दाउरा बाँड्ने कार्य रहेको बताए । यसबाट जाडो छल्न सर्वसाधारणलाई राहत भएको छ । केही दिनदेखि एक्कासि बढेको जाडोले सर्वसाधारण प्रभावित हुँदै आएको छ ।
- चिसोले उदयपुरको जनजीवन प्रभावित

यस्तै शान्तिाधामले पनि दाउरा वितरणको तयारी गरेको छ । शान्तिधाम समितिले सामुहिक स्थानमा दाउरा बाल्ने योजना बनाएको छ ।
त्रियुगा नगरपालिका मेयर बलदेव चौधरीले यस वर्ष पनि गरिव, दलित, सिमान्तकृत, मुसहर, डोम, चमार समुदाय पहिचान गरेकोले यस्तो समुदायको लागि दाउरा उपलब्ध गराउने बताए । उनका अनुसार जेष्ठ नागरिकहरुलाई पनि नगरपालिका र वडा स्तरबाटै न्यानो कपडा वितरण गर्न निर्देशन दिईने बताए । उनका अनुसार विपन्न गरिव परिवारलाई दाउरा उपलब्ध गराउन वडा अध्यक्षहरुलाई निर्देशन दिईसकिएको बताए । उनका अनुसार चिसोको कारणले लाग्ने रोगको लागि नगर स्वास्थ्यसँग सम्बन्धित स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्र र गाउँघर क्लिनिकमा प्रयाप्त मात्रामा औषधि व्यवस्था गरिएको बताए ।
दुई हप्ता अघि बसेको जिल्ला विपद् व्यवस्थापन समितिले विगतका वर्षहरूमा शीतलहरले जनजीवनमा पारेको प्रभावलाई न्यूनीकरण गर्न आवशकिय सामनाको लागि विभिन्न कार्ययोजना अघि सारेको जनाएको छ ।
पुस र माघ महिनामा हुनसक्ने चिसो र शीतलहरलाई मध्यनजर गरी अति विपन्न, गरिब, जेष्ठ नागरिक, अपांग, तथा बेसहारालाई इन्धन, दाउरा, कम्बल जस्ता न्यूनतम आवश्यकता तथा उद्दार सामग्रीको प्रबन्ध गर्न स्थानीय तहहरूलाई आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।
यस्तै त्रियुगा नगरपालिका नगर स्वास्थ्य शाखाले घरमा आफ्नै घरवरपर पाइने सागपात र गेडागुडीको तातो झोल खान, तातो पानी अनिवार्य खान, अत्यन्त जरुरी काम नपरी बाहिर ननिस्कन अनुरोध गरेको छ । न्यानो ठाउँमा बस्न र घरवरपरको सरसफाइमा ध्यान दिन नगर स्वास्थ्य शाखाले आग्रह गरेको छ ।









