सुखिलाल चौधरी, उदयपुर । मंसिरको अन्तिम साता पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा हिमपात, वर्षासँगै अचानक बढेको सिचोसँगै मंगलबारदेखि चलेको शीतलहरले उदयपुरको जनजीवन कष्टकर भएको छ । पछिल्ला दुई दिनयता बिहानैदेखि हुस्सुसँगै शीतलहर चलेपछि धेरैजना घरबाट बाहिर निस्कन सकेका छैनन् । सडकमा सवारीसाधन पातलो चलेका छन् भने बजारमा पनि चहलपहल कम हुँदै गएको छ । सदरमुकाम र जिल्लाका अन्य बजार क्षेत्रमा चहलपहल र आवागमन निकै पातलिएको छ ।
शीतलहरले हिउँदे बालीलाई समेत नोक्सान पुर्याएको छ । भर्खरै उम्रिँदै गरेको गहुँ, टमाटर, आलु, प्याज, लसुन, मसुरो तथा पाक्ने तयारीमा रहेको तोरी बाली पनि कुहिन थालेको छ ।
चिसोले मुसहर समुदायको जीवन कष्टकर बन्दै
एक्कासी बढेको चिसोको कहरले मुसहर तथा विपन्न वर्ग नराम्ररी प्रभावित भएको छ । चिसो हावाले स्थानीय मुसहर समुदायका केटाकेटीहरु र युवाहरु पतकर, दाउराको खोजीमा निस्केका छन भने बुढाबुढी आगो तापेर दिन विताई रहेको छ । यस्तै केटाकेटीहरु विभिन्न किसिमको खेलहरु खेलेर आफ्नो जिउ न्यानो गरिरहेको देखिन्छ । मुसहर समुदायमा विछाउने र ओढने कपडा नहुँदा परालको ओछ्यान, गुन्द्री विछाएर रहने गरेको छ ।
चिसोको कारण जनजीवन तथा सर्वसाधारण गरीब, विपन्न बस्तीका चोकमा आगो बाल्न थालेका छन् । मुसहर समुदायका अधिकांशहरु रातभरी जागा बसेर रात काटिरहेको त्रियुगा नगरपालिका ९ की लालो सदाले बताईन । उनका अनुसार सा–साना केटाकेटीहरुलाई लगाउने कपडा नहुँदा दिसा पिसाव गर्दा पहिलेकै कपडालाई आगोमा सेकाएर लगाई दिने गरेको बताईन् । उनका अनुसार स्थानीय सरकारले खान नदिएपनि राम्रोसंग सुत्नको लागि न्यानो कपडा उपलब्ध गराई दिनु पर्ने बताईन् ।
चिसो झनै बढेसँगै सरकारी कार्यालयमा सेवाग्राहीको संख्या ह्वात्तै घटेको छ । दैनिक ज्याला मजदुरी गरी जीविकोपार्जन गर्ने सर्वसधारण पनि प्रभावित भएका छन् । बढेको चिसोको कारण न्यानो कपडा पसलमा भीड लाग्न थालेको देखिएको छ । सर्वसधारण आगो तापेर बस्न थालेका छन् ।
स्वास्थ्य संस्थामा चिसोको विरामी बढे
चिसोका कारण स्वस्थ्य संस्थाहरुमा बिरामीको चाप बढेको छ । चिसो हावाले रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी बढेका छन् । जिल्ला अस्पताल बोक्से, निजी क्लिनिक तथा ग्रामीण भेगका सरकारी स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । दुधे बालकदेखि ५ वर्ष उमेर समूह र ६० बर्षमाथिका वृद्धवृद्धा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनिया लगायत रोगको प्रकोपबाट पीडित भएका छन । चिसोले बिरामी परेका दैनिक करीब २० देखि २५ सम्म उपचारका लागि आउने गरेको जिल्ला अस्पताल उदयपुरले जानकारी दिएका छन् ।
घरमा आफ्नै घरवरपर पाइने सागपात र गेडागुडीको तातो झोल खान, तातो पानी अनिवार्य खान, अत्यन्त जरुरी काम नपरी बाहिर ननिस्कन, न्यानो ठाउँमा बस्न र घरवरपरको सरसफाइमा ध्यान दिन त्रियुगा नगरपालिका नगर स्वास्थ्य शाखाले आग्रह गरेको छ ।
आगो ताप्न दाउरा उपलब्ध गराउने
त्रियुगा नगरपालिका मेयर बलदेव चौधरीले यस वर्ष पनि गरिव, दलित, सिमान्तकृत, मुसहर, डोम, चमार समुदाय पहिचान गरेकोले यस्तो समुदायको लागि दाउरा उपलब्ध गराउने बताए । उनका अनुसार जेष्ठ नागरिकहरुलाई पनि नगरपालिका र वडा स्तरबाटै न्यानो कपडा वितरण गर्न निर्देशन दिईने बताए । उनका अनुसार विपन्न गरिव परिवारलाई दाउरा उपलब्ध गराउन वडा अध्यक्षहरुलाई निर्देशन दिईसकिएको बताए । उनका अनुसार चिसोको कारणले लाग्ने रोगको लागि नगर स्वास्थ्यसँग सम्बन्धित स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्र र गाउँघर क्लिनिकमा प्रयाप्त मात्रामा औषधि व्यवस्था गरिएको बताए ।
दुई हप्ता अघि बसेको जिल्ला विपद् व्यवस्थापन समितिले विगतका वर्षहरूमा शीतलहरले जनजीवनमा पारेको प्रभावलाई न्यूनीकरण गर्न आवशकिय सामनाको लागि विभिन्न कार्ययोजना अघि सारेको जनाएको छ ।
पुस र माघ महिनामा हुनसक्ने चिसो र शीतलहरलाई मध्यनजर गरी अति विपन्न, गरिब, जेष्ठ नागरिक, अपांग, तथा बेसहारालाई इन्धन, दाउरा, कम्बल जस्ता न्यूनतम आवश्यकता तथा उद्दार सामग्रीको प्रबन्ध गर्न स्थानीय तहहरूलाई आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।









