उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ९ स्थित चौकीबारी बस्ने २८ वर्षिय गोमा भन्ने शारदा कुमारी चौधरी उनकै छोरी ६ वर्षिय रचना कुमारीको हत्यारा पुर्पक्षका लागि सोमबार करागार चलान भएको छ । लहान नगरपालिका २ मटेरुवा घर भई त्रियुगा नगरपालिका ३ मोतिगडामा चिया पसल गर्दै आएका ४० वर्षिय रामहरि साहलाई जिल्ला अदालतले हत्या गरेको आरोपमा पुर्पक्षका लागि जेल चलान गरेको हो । गत असोज २४ गते राति ७ बजेको समयमा आमा छोरीलाई धारिलो हतियारले घाँटी रेटी काटी निर्मम तवरले कर्तब्य गरी मारेको अभियोग लागेको छ ।
आमा–छोरीको हत्याको कारण यस्तो
आमा छोरीको हत्याको मुख्य कारण प्रेमसम्बन्ध भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रेम सम्बन्धले वैद्यता नपाएपछि घटना घटाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी तथा अनुसन्धान अधिकृत हरिकृष्ण केसीले बताए । उनले भने, ‘मृतक र आरोपितबीच २०७३ सालबाट सम्बन्ध थियो, त्यो सम्बन्धलाई विवाहमा परिणत गरौँ भन्दा मृतकले अस्वीकार गरेपछि घटना भएको देखिन्छ ।’
मृतक र आरोपित बीचको सम्बन्धका कारण पारिवारिक झगडा भएपछि लाहानमा बसोबास गर्दै आएकी श्रीमतीलाई छोडी आरोपित मोतिगडामा मिठाई पसल गरी बस्दै आएका थिए ।
डिएसपी केसीले भने, ‘घर बिग्रिएपछि मृतकसँगको सम्बन्धलाई हेर्दा विवाह गर्न लालायित भएको देखिन्छ, त्यही कुरा प्रस्ताव गर्दा मृतकले कहिले फोन नगर्नू, भेट्न नआउनू जस्ता शब्द प्रयोग गर्दै अस्वीकार गरेपछि यो अवस्थामा पुगेको हो ।’दसैं अघि नै हत्याको योजना
आरोपितको बयान अनुसार दसैं अघि नै हत्याको तयारी रहेको प्रहरीले बताएको छ । ‘पटक–पटकको टेलिफोन सम्वादमा विवाह अस्वीकार गरेपछि आरोपितले दसैं अघि नै हत्या गर्ने योजना थियो’, डिएपी केसीले भने, ‘त्यो टरेपछि उपयुक्त समयको खोजीमा थिए ।’
‘दसैं अघि मृतक आफैँ बिरामी भई अस्पताल बसेको र घरमा बहिनी आएर बसेपछि योजना असफल भएको हो’, आरोपित साहलाई उद्धृत गर्दै डिएसपी केसीले भने, ‘असोज २४ गते जेठी छोरी मावल गएको र घरमा आमा र कान्छी छोरी बसेको थाहा पाएपछि उनी त्यहाँ पुगेका थिएँ ।’
कसरी भयो हत्या ?
घरमा कान्छी छोरी र आमा मात्र भएको थाहापाएपछि कोठाबाटै हत्या गर्ने योजना बुनेर आरोपित मृतकको घर साँझमा पुगेका थिए । बयानमा भनेका छन्, ‘विवाह गर्न पटक–पटक आग्रह गरेँ । तर मृतकले विभिन्न बहानावाजी गर्दै आलटाल गरेपछि त्यो निर्णयमा पुगेँ ।’
संवाद सुनेपछि छोरी रचना टीभी कोठामा कार्टुन हेरेको थाहा पाएपछि बाहिरबाट थाहा नपाउने गरी चुकुल लगाएको बताएका छन् । छोरीलाई कोठामा थुनेपछि आमालाई उसैको सल प्रयोग गरी घाँटीमा बेरेको र त्यसपछि धारिलो हतियार प्रयोग गरी घाँटी रेटेका थिए । त्यसपछि छोरीबाट घटनाको रहस्य खुल्ने देखेर छोरीको पनि हत्या गरेको बयानबाट खुलेको छ ।
प्रहरी यसरी पुग्यो अपराधी नजिक
असोज २४ गते शुक्रबार राति मृतकका बहिनीले ८ः३० बजेको समयमा मृतकको मोबाइलमा फोन गरेपनि फोन नउठेपछि आफ्न्तलाई उनको घर जान अनुरोध गरेका थिए । आफ्न्त मृतकको घरमा शनिबार विहानै अर्थात असोज २५ गते आई हेर्दा बाहिरबाट चुकुल लागेको देखेपछि चुकुल खोलेर घरभित्र पस्दा आमा छोरीको घाटी रेटी हत्या भएको देखेपछि छरछिमेक हुँदै प्रहरीलाई खबर गरेका थिए । लगत्तै डिएसपी हरिकृष्ण केसीको नेतृत्वमा टोली परिचालित भयो र केही बेरमै जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी विरबहादुर बुढामगर घटनास्थल पुगे । घरको दुई सय मिटर परमात्र अन्य बस्ती देखिएपछि र मृतकका पति विदेशिएको जानकारी आएपछि प्रहरीले सूक्ष्म ढंगले अनुसन्धान गरेको हो । प्रारम्भिक चरणमा स्थानीयको बयानका आधारमा पुरुषको आवतजावत बाक्लो हुन थालेपछि घटनालाई प्रहरीले प्रेमसम्बन्ध कारण हुनु पर्ने अनुमान गर्दै अनुसन्धान अगाडि बढाएको थियो । संघीय प्रहरी इकाई धरान, प्रदेश प्रहरी इकाई विराटनगर र जिल्ला प्रहरी कार्यालय उदयपुरको संयुक्त अनुसन्धान टोलीले अनुसन्धान अघि बढायो ।
सूचना पाएको ६ घण्टा भित्रै आरोपितको कोठा मोतिगडा पुगेको प्रहरी टोलीले उनको कोठाबाट कानमा लगाउने सुनको सामान फेला पारेको थियो । फेला पारेको सुन मृतकका जेठी छोरी भावना चौधरीले आमाको भएको स्वीकार गरेपछि प्रहरी अपराधी नजिक पुग्न सफल भएको बताएको छ ।
प्रहरीले घटनाकाक्रममा २ सयभन्दा बढीलाई अनुसन्धानको घेरामा राखेर अनुसन्धान सुरु गरेको थियो । त्यसमध्ये २० जनाको बयान लिएमा साह पनि परेको थियो ।
हत्यारालाई हदैसम्मको कारवाहीको माग
मृतकका पति सिताराम चौधरीले हत्यारालाई हदैसम्मको सजायको माग गरेको छ । उनले हत्यामा संलग्नलाई कडा भन्दा कडा कारवाही गरियोस् आफ्नो परिवारलाई क्षतिपूर्तिको व्यवस्था गरिनु पर्ने बताएका छन् । उनले भने, मेरो श्रीमति र हत्यारा विचको सम्बन्धमा मेरो छोरीको के दोस थियो, जसले मेरो बच्चाको ज्यान लिनु पर्यो । हत्यारालाई हदैसम्मको कारवाही होस् ।’ उनले घरबाट पैसा र गरगहना समेत गायव भएकोले त्यसवापत क्षतिपूर्ति उपलब्ध गराई दिनु पर्ने बताए । मृतकको श्रीमान वैदेशिक रोजगारको क्रममा मलेसियामा रहेको बेला घटना घटेको हो ।

यो पनि पढ्नुस्

 

 

तपाईको प्रतिक्रिया