उदयपुर / इलाका प्रहरी कार्यालय कटारीका डिएसपी र ट्राफिक इन्चार्ज सडकमै आएर सवारी अनुगमन गरेका छन् । चाडपर्वको अवसरमा विभिन्न बहाना बनाई यात्रुलाई ठगेको सूचनाका आधारमा ट्राफिक प्रहरीले चेकिङलाई कडाइ गर्न सुरु गरेको हो ।
इलाका प्रहरी कार्यालय कटारी प्रमुख प्रेम सागर केसी र ट्राफिक प्रहरी इन्चार्ज डम्बर विक्रम दियाली आफैँ सडकमा आएर बढी भाडा लिने सवारी साधनलाई कारबाही गर्दै बढी भाडा यात्रुहरूलाई फिर्ता गराएका हुन् । पछिल्लो समय इलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरीको संयुक्त टोलीले पनि बढी भाडा लिने सवारीलाई कारबाही गर्दै यात्रुको रकम फिर्ता गराइएको छ ।
बारम्बार सचेत गराउँदासमेत विभिन्न बहाना पार्दै यात्रुलाई बढी भाडा लिए पनि कतिपय यात्रु स्वयंले ढाँटेर दोषीलाई उन्मुक्ति दिने काम गरेको पाइएको कटारीका डिएसपी प्रेम सागर केसी बताए । उनले भने, “ट्राफिक प्रहरीको सक्रियता सन्तोषजनक छ, तर पनि स्थलगत गुनासो सुन्ने र आगामी योजना निर्माण गर्ने गरी नै सडकमा गयौँ, यात्रुका गुनासो सुन्यौँ धेरै कुरा बुझ्यौँ ।” ६० जना यात्रुको भाडा फिर्ता गरिएको कटारी प्रहरी प्रमुख इन्चार्ज केसीले बताए।
मङ्गलवार ओखलढुङ्गाबाट कटारी हुँदै धरान हिँडेको सूमोहरुले बढी भाडा लिएको यात्रुहरूले गुनासो गरे पछि बढी लिइएको भाडा फिर्ता गरिएको ट्राफिक इन्चार्ज दियाककीले बताए । कटारी देखी मिरचैया चल्ने साना सवारीहरूले पनि बढी भाडा लिइएको भेटिएकोले यात्रुहरू लाई फिर्ता गराइएको पनि दियालीले बताए । 
प्रहरीकै अगाडि भाडा बुझाउनुपर्ने
टिकट नदिने र प्रहरीको चेकिङ सकिएपछि मात्रै भाडा लिन थालेपछि प्रहरीकै रोहबरमा भाडा तिर्न लगाउने र बढी भाडा फिर्ता गराउने सम्मको काम प्रहरीले गर्दै आएको छ । यो अवधिमा ४० भन्दा बढी सवारी कारबाहीमा परेको प्रहरीले जनाएको छ ।
जिल्ला ट्राफिक प्रमुख दिनेश कुमार चौधरीका अनुसार गाईघाट, मुर्कुची, कटारी, बेल्टार लगायतको क्षेत्रबाट बढी भाडा असुल्ने र क्षमता भन्दा बढी यात्रु बोक्ने सवारी साधनलाई कारबााही गरिएको बताए । उनका अनुसार जिल्लामा १ सय ९३ यात्रुको २४ हजार ५० रुपैया अहिलेसम्म फिर्ता गरिएको छ ।
- उदयपुरमा बढी भाडा असुल्ने तीन बुकिङ प्रहरी खोर पुगे (फोटो फिचरसहित)
- सरकारले तोकेको भन्दा बढी भाडा नलिने शर्तमा पक्राउ परेका बुकिङहरु छुटे













