उदयपुर । दसैं मनाएर राजधानी काठमाडौंतर्फ फर्किने यात्रुसँग यातायात व्यवसायीले मनलाग्दी भाडा असुल गर्न थालेपछि प्रहरीले बुकिङलाई धमाधम पक्राउ गर्न थालेका छन् । उदयपुरमा बढी भाडा असुल्ने बस काउण्टरका तीन जना बुकिङ प्रहरी खोरमा पुगेका छन् । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ११ का ५० वर्षिय बाबु राई, ३५ वर्षिय राजु थापा र विमल बस्नेत रहेका छन् ।
रौतामाई यातायात व्यवसायी संघका विमल बस्नेत, पूर्वी नेपाल तथा फिफा यातायातका बाबु राई र अर्का राजु थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुले यात्रुहरुबाट तोकिएको भन्दा बढी भाडा असुलेपछि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीर बहादुर बुढामगरले बताए । एसपी मगरका अनुसार उनीहरुलाई बढी भाडा लिएवापत पक्राउ गरिएकोले भोली कार्यालय खुलेको समयमा कारबाही प्रक्रिया अघि बढाउने बताए । बढी भाडा नलिन पटक पटक ताकेदा गर्दा पनि नमानेपछि प्रहरीले बुकिङलाई नियन्त्रणमा लिनु परेको एसपी मगरले बताए । 
उदयपुरको इतिहासमै बढी भाडा असुल्ने बुकिङलाई प्रहरी खोरमा पु्याउने सायद यो पहिलो घटना हुनु पर्ने एक बस व्यवसायीले बताए । आइतबार विहान जिल्ला ट्राफिक प्रहरी कार्यालय गाईघाट, इलाका प्रहरी कार्यालय जलजलेको संयुक्त चेकिङमा यात्रुसँग तोकिए भन्दा बढी भाडा असुल गर्ने ४ सवारी साधानलाई कारबाही गरि यात्रुबाट लिएको बढी भाडा १४ हजार ६ सय रुपैया फिर्ता दिलाएको छन् । आइतबार विहान गाईघाट, मुर्कुची, बेल्टारबाट बिपि लोकमार्ग हँुदै काठमाण्डौ जाने बस, माईक्रो, सुमो, जीपका ९७ जना यात्रुसँग तोकिए भन्दा बढी भाडा लिएकोमा फिर्ता दिलाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका इन्चार्ज दिनेश कुमार चौधरीले बताए । उनका अनुसार चेकिङ्गको क्रममा बा. ५ ख ५७४५, बा.४ख ४१४८, बा.४ख १९२६ र बा.२ ख ९१८८ नम्बरको यात्रु बसबाट लिएको बढी भाडा फिर्ता गराएका हुन ।
चाडपर्वका बेला यातायात व्यवसायीले चर्को भाडा असुलेको गुनासो आएपछि चनाखो भएको ट्राफिकले चारैतिर निगरानी बढाएको ट्राफिक इन्चार्ज चौधरीले बताए । यसै क्रममा बढी भाडा लिने रौतामाई यातायात व्यवसायी संघ, गोल्डेन गुगल डिलक्स, गाईघाट यातायात प्रा.लि., एवान पब्लिक सर्भिस प्रा.लि. लगायतका सवारी साधनले बढी भाडा लिएको पाएपछि बढी भाडा फिर्ताको साथै सवारी साधनकालाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरीका ट्राफिक हबलदार भेष बहादुर थापाले बताए ।
सरकारले तोकेको प्रतिव्यक्ति ८ सय ८९ रुपैया भाडा लिनु पर्नेमा उनीहरुले दशै तिहारको मौका छोपी १ हजार ३ सयसम्म लिएको पाईयो अर्का ट्राफिक हबलदार तिलक पौडेलले बताए । उनले भने, ‘बस एउटा टिक अर्कैको पनि दिइएको पाइयो भने कतिले रिजर्भको बोर्ड टास्दै बढी भाडा असुलेको देखियो ।’
















