उदयपुर । उदयपुरमा आर्थिकरुपमा विपन्न रहेका परिवारलाई लक्षित गरी १५ दिन अघि स्थापना गरिएको कपडा बैंकलाई एक कर्मचारीले आफ्नो दशैं खर्च कटाएर १० हजार सहयोग गरेको छ । विभिन्न निकायको सहयोगमा स्थापना भएको कपडा बैंकमा कोष तथा लेखा नियन्त्रण कार्यालय उदयपुरका प्रमुख हिरा न्यौपानेले नगद १० हजार रुपैँया सहयोग गरेका छन् ।
बिहीबार लेखा समुहले कपडा तथा चप्पल हस्तान्तरण गरेको कार्यक्रममा समुहका संरक्षक समेत रहेका प्रमुख न्यौपानेले आफ्नो दशैमा हुने खर्च कटाएर सहयोग गरेको घोषणा गरे ।
उनले भडकिलो बन्दै गएको चाडपर्वलाई नियन्त्रण गर्न पनि सयहोगको घोषणा गरेको बताए । रकम केहि दिन भित्रै औपचारिक कार्यक्रम आयोजना गरी हस्तान्तरण गर्ने बताए । “चाडपर्व भन्ने वित्तिकै फजुल खर्च गर्ने नेपालीको संस्कार बसिसकेको छ,” उनले भने, “ति खर्च केहि मात्र कटाउने हो भने चाडपर्व र जाडोमा गरिवले लगाउने कपडामा सहयोग गर्न सकिन्छ ।”

यस्तै बिहीबार निजामती क्षेत्रको लेखा समुहमा कार्यरत कर्मचारीहरुले बैंकलाई २ सय जोर चप्पल र कपडा नयाँ खरिद गरी उपलब्ध गराएका हुन् । निःशुल्क वितरण गरिने सामग्री खासगरी चाड पर्वमा अभाव हुने भएकाले अभाव सृजना हुन नदिन सहयोग गरिएको लेखा समुहका अध्यक्ष ज्ञानेन्द्र पोखरेलले बताए ।
चाडपर्वका बेला बजारमा भिडभाड बढेसँगै निशुल्क वितरण हुने सामान लिनेको संख्या बढि हुने भएकाले चाँपलाई नजरअन्दाज गरी अभाव सृजना हुन नदिन सहयोग गरिएको सचिब महेश वाग्लेले बताए । खरिद गरिएका सबै सामग्री बिहीबार नै बैंकका अध्यक्ष दिनेशकुमार श्रेष्ठलाई हस्तान्तरण गरिएको संस्थाका संरक्षक हिरा न्यौपाने “डायमन्ड”ले जानकारी दिए ।
सोही अवसरमा अध्यक्ष श्रेष्ठले सहयोग दिने र कपडा लिनेको संख्या उत्तिकै रहेको बताए । उनले उद्घाटन गरेकै दिन ७ सय जोर कपडा वितरण गरिएको बताए । प्रकृति युवा समुह, कर्मचारी मिलन केन्द्र, नेपाल पत्रकार महासंघ, गैसस महासंघ, पेसोक, रेडियो उदयपुर र दाह्री ग्याङ्को संयुक्त सहयोगमा स्थापना गरिएको बैंक स्थापना गरिएको हो । सदरमुकाम गाईघाटको मुख्य बजारमा रहेको बैंकलाई केहि दिन भित्र त्रियुगा नगरपालिकाले कार्यालय परिषरमा उपलब्ध गराएको कोठाबाट सहजरुपले सेवा प्रदान गर्ने तयारी गरेको अध्यक्ष श्रेष्ठले बताए ।
यो पनि पढ्नुस्









