उदयपुर । उदयपुरमा पोखरीमा विष लगाएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार विहान पोखरीमा विष लगाएको आरोपमा त्रियुगा नगरपालिका ११ का सन्तोष स्वर्णकार र उनकै पसलमा सुनचाँदीको काम गर्ने कालीगढ मंगल विकलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले आफुले खनेको पोखरीमा प्रहरीकै सामुन्न विष लगाउने क्रममा पक्राउ परेका हुन् ।

सन्तोषले घुरन चौधरीको जग्गा मिचेर पोखरी खनेको थियो । सो पोखरी घुरन चौधरीले डोजर लगाएर पुरेपछि सन्तोष दाजुभाईले प्रहरी लगाएर विहिबार विष लगाएको आरोपमा घुरन र हरेराम चौधरीलाई पक्राउ गराएको थियो ।
सन्तोषका दाजुभाईले घुरन चौधरी सहित गाउँलेहरुलाई पोखरीमा विष लगाएर ३ केजी माछाको भुरा मरेको आरोप लगाएपछि विहिबार दिउँसो वडा सदस्य श्याम कुमार चौधरी, त्रियुगा नगरपालिकाका कार्यपालिका सदस्य कमला खड्का र जोगिदह प्रहरी चौकी इन्चार्ज मधुकान्त खड्गासहित पोखरीको अवलोकन गरेका थिए । तर, अवलोकनमा कुनै मरेको माछा र विष नदेखिएको जोगिदह इन्चार्ज खड्गाले जिल्ला प्रहरी कार्यालयलाई गराईएको थियो ।

घटनाको भोली पल्ट शुक्रबार विहान प्रहरीले प्रकृति घटना मुचुल्का तयार गर्न जाँदा प्रहरीकै सामुन्नेमा सन्तोष र उनका कालीगढ विकले पोखरीमा विष र ९–१० वटा मरेको माछा लगाउँन लागेका थिए । गाउँलेहरुले विष र मरेको माछा लगाउँदै गरेको देखेपछि सन्तोष र कालीगढ विकलाई नियन्त्रणमा लिएर प्रहरीलाई नै बुझाएका थिए ।
सन्तोषका अनुसार विहिबार नै घुरन चौधरीले पोखरीमा विष लगाएको उजुरी आफुले प्रहरीमा दिएको बताए । सो पोखरीबाट मरेको माछा र विषको बट्टा सहित प्रहरी कार्यालयलाई विहिबारै जानकारी दिएका थियौं । ‘विषको बट्टा प्रहरी कार्यालयमै रहेको र शुक्रबार पोखरीमा माछा के कति मरेको छ भनि प्रकृति घटना मुचुल्का उठाउन जाँदा प्रहरीले नै विष र माछा आफुहरुलाई दिएर पठाएको हो ।’ उनले भने ‘प्रहरीले नै कहाँ कुन पोखरीमा घुरन चौधरीले विष लगायो हेर्न जाउँ भन्दै आफुहरुलाई विष र माछा दिएर पठाएको हो ।’
नेपाल प्रहरी समक्ष एउटा प्रश्न तेस्रिएको छ । प्रहरी कार्यालयमा रहेको विषको बट्टा र मरेको माछा सन्तोष स्वर्णकार र सुनचाँदी कालीगढ मंगल विकको हातमा कसरी गयो ?
यस विषयमा प्रहरी निरीक्षक अम्मर गजमेरसँग बुझ्दा सन्तोषले विहिबार मेरो पोखरीमा विष लगाई दिएको भन्दै आएको थियो र एउटा मरेको माछा र विषको बट्टा लिएर आएको स्वीकार गरे । पोखरी धनीले ल्याएको मरेको माछा र विषको ल्याव टेष्ट गर्नु पर्छ भन्दै राख्न लगाएको स्वीकार गरे । उनले भने, ‘घटना प्रकृति मुचुल्का उठाउन जाँदा आफुहरुले सन्तोष स्वर्णकार र उनका कालीगढ मंगल विकलाई कुनै पनि विष र मरेको माछा दिएको थिएनौं, सन्तोषको आरोप झुठो हो ।’

यस्तै विहिबारै जग्गा किचलो विवादमा पोखरी पुरेको र पोखरीमा विष लगाएको आरोपमा घुरन चौधरी र हरेराम चौधरीलाई पक्राउ गरेपछि विवाद भएको थियो । विहिबार साढे पाँच बजेसम्म जग्गा किचलो र विष लगाएको विषयमा छलफल भएको त्रियुगा नगरपालिका २ का वडा अध्यक्ष घमान सिंह खत्रीले बताए । तर, विवाद टुंगो नलागेपछि भोली बसेर छलफल गरौंला भनेर प्रहरी कार्यालयबाट हिडेको बताए । उनका अनुसार त्यस समय सन्तोष र उनका दाजु असोक प्रहरी कार्यालयमा सँगै रहेको बताए ।
यसै विषयमा विहिबार राति भएको झगडामा सन्तोषका दाजु अशोक साह र उनीसँगै गएका त्रिनपा ११ गाईघाटकै प्रकाश काफ्ले, जितेन्द्र साह र खैजनपुरका नवराज चौधरी घाइते भएका जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घाइते मध्ये असोक र नवराजको अस्पतालमा उपचार भैरहेको छ ।
यो समाचार पनि पढ्नुस : नापी कार्यालयको कर्मचारीको मिलेमतोमा किर्ते गरि नक्शा संशोधन
स्थानीयद्वारा जिल्ला प्रशासनलाई ज्ञापन पत्र र नापी शाखा कार्यालयमा प्रदर्शन




















