उदयपुर, उदयपुरको चौदण्डीगढी नगरपालिका २ को वडा भवन बनाउन काँचो सालको रुख काट्न सहमति दिने सहायक वन अधिकृतको सरुवा भएको छ । विहिबार (माघ १७ गते) नागरिक बहस डट कम अनलाईनमा ‘वन क्षेत्रको काँचो सालको रुख प्रक्रिया नपुर्याई काट्न आदेश दिने अधिकृतलाई नै अनुसन्धानको जिम्मा’ शिर्षकको समाचार प्रकाशनमा आएपछि सहायक वन अधिकृत सत्यदेव यादवको सरुवा भएको छ ।
चौदण्डीगढी नगरपालिका २ नम्बर वडा कार्यालय भवन वनाउन काँचो सालको रुख काटेको छानविन गर्न तत्कालिन इलाका वन कार्यालय बेल्टारका सहायक वन अधिकृत यादवको सरुवा भएको हो । डिभिजन वन कार्यालयले सहायक वन अधिकृत यादवलाई सव डिभिजन वन कार्यालय हडिया सरुवा गरेको जनाएको छ । यादवको स्थानमा सहायक वन अधिकृत धर्मदेव ठाकुरलाई पठाएको छ । उनलाई सोही मुद्दाको अनुसन्धान गर्न जिम्मेबारी दिइएको डिभिजन वन कार्यालय उदयपुरका सूचना अधिकारी जागेश्वर साहले जानकारी दिए । ठाकुरलाई अनुसन्धान गर्नको लागि सात दिनको समय दिईएको छ ।
‘डिभिजन वन कार्यालयको आन्तरिक कर्मचारीको नियमित हेरफेरको क्रममा यादवको सरुवा भएको हो ।’ सूचना अधिकारी साहले भने ‘वन विषयमा समाचार आउनु र यादवको सरुवा हुनु एकै पटक भएकाले संयोग मात्र परेको हो ।’ काटिएको सालको रुखको गोलाई ११५ इन्च र ६३.०६ क्यूफिट रहेको छ । बेल्टारमा सहायक वन अधिकृतको रुपमा कार्यरत रहेका यादवले कौवेदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षको मिलेमतोमा वडा कार्यालय बनाउने नाममा काँचो सालको रुख कटान गर्न मौखिक आदेश दिएको थियो ।
यो पनि पढ्नु होस्
वन क्षेत्रको काँचो सालकोे रुख प्रक्रिया नपुर्याई काट्न आदेश दिने अधिकृतलाई नै अनुसन्धानको जिम्मा









