उदयपुर, कस्तो अच्चम ! वडा अध्यक्षलाई नै थाह छैन, आफुले जनताको सेवा दिनको लागि वडा कार्यालय भवन बन्दैछ भने । हो यस्तै भएको छ ।
चौदण्डीगढी नगरपालिका २ नं. वडा कार्यालय भवन बनाउन जग खन्न रुख काटेर गायव भएपछि मात्रै थाह भएको वडा कार्यालय भवन बन्दै छ भनेर वडा अध्यक्ष सन्तोष सुवेदीले जानकारी दिए । उनका अनुसार ५ कोठाको वडा कार्यालय भवन त्रियुगा निर्माण सेवाले ५६ लाख ९४ हजारमा चौदण्डीगढी नगरपालिका सँग निर्माण सम्झौता भएर रुख कटान हुन थालेपछि विवाद सहतमा आएको बताए । ‘वडा कार्यलय कहाँ बनाउने, कति कोठाको बनाउने बारे मलाई कुनै जानकारी छैन ।’ वडा अध्यक्ष सुवेदीले भने ‘नगरले जमिन नभई ठेक्का निकाल्यो र सार्वजनिक स्थलको रुख काटेर जग खन्न थालेपछि मात्र मैले थाहा पाएको हुँ ।’ वडा भवन बनाउने बारे वडा कार्यालय र वडा सदस्यहरुलाई पनि कुनै जानकारी नभएको वडा अध्यक्ष सुवेदीले बताए ।


चौदण्डीगढी नगरपालिका २ स्थित कौवेदेवी सामुदायिक वन अध्यक्ष दिपेन्द्र राईले हरियो सालको रुख काटेर गायव बनाएपछि विवाद सतहमा आएको हो । चौदण्डीगढी नगरपालिका २ को वडा कार्यालय भवन बनाउन राष्ट्रिय बन क्षेत्रको रुख कटान कटान भएको डिभिजन बन कार्यालयले जनाएको छ । वडा कार्यालय बनाउने स्थानको रुख कटान भएको डिभिजन वन अधिकृत बिष्णु प्रसाद आचार्यले बताए । ‘हामीलाई काचो सालको रुख कटान भएको सूचना आएको छ ।’ डिभिजन वन अधिकृत आचार्यले भने ‘सहायक वन अधिकृत सत्य देव यादवलाई छानविन गरेर प्रतिवेदन बुझाउन भनेको छु ।’ काटिएको रुख राष्ट्रिय बनको क्षेत्र पर्ने भएकाले रुख काटन नमिल्ने आचार्यको भनाई छ । आफु सामुदायिक वनको अध्यक्ष र टोल सुधार समूहको अध्यक्ष भएकाले वडा कार्यालय बनाउन रुख कटान गरिएको समूहका अध्यक्ष दिपेन्द्र राईले बताए । रुख काटिएको बारे जिज्ञासा राख्दा राईले स्कुलको जग्गामा भवन बनाउनको लागि एउटा सालको रुख काटिएको बताए । वडा कार्यालय बनाउन जिम्मेवारी पाएको त्रियुगा निर्माण सेवाका सव ईन्जिनियर प्रमोद चौधरीले वनको अध्यक्षले रुख काटेपछि मात्र आफूहरुले भवन निर्माण कार्य सुरु गरिएको जानकारी दिए ।
अहिले भवन निर्माण क्षेत्रमा काटिएको रुखको ठुटा मात्र बाँकी छ । करिव ४० क्यूफिट भन्दा बढि काठ गायब बनाईएको स्थानीयले बताएका छन ।

तपाईको प्रतिक्रिया