उदयपुर । विराटनगर जुटमिलको सेयरमा घोटाला गर्ने व्यक्तिलाई राज्यले सरकारी जमिन भोगचलन गर्न दिएको भन्दै प्रदेश १ सभामा नेपाली कांग्रेसले आपत्ति जनाएको छ । बेलका नगरपालिकामा विवादित रहेको कबुलियती वनका रुपमा निजी कम्पनीलाई भोगचलन गर्न दिएको विषय उठाउँदै बिहीबारको प्रदेशसभा बैठकमा कांग्रेस संसदीय दलका सचेतक केदार कार्कीले विरोध जनाए ।
‘अघिल्लो पटक प्रदेशको नीति तथा कार्यक्रममा कोसी नदी उकासको जमिन खेती गर्न दिने होइन संरक्षण गरौं र पर्यटकीय क्षेत्र बनाउनुपर्छ भनेर कुरा ग¥यौं तर सरकारको कुत्सित मनसाय निलहरि काफ्लेलाई दिने रहेछ ।’ प्रदेश सभामा बोल्दै सचेतक कार्कीले भने ।

काफ्ले जुटमिलको अध्यक्ष हुँदा नै प्रश्न उठेको भन्दै कार्कीले जुटमिलको ६८ प्रतिशत सरकारको सेयर ३३ प्रतिशतमा झार्ने निलहरि काफ्लेले कोसी टप्पुको जमिन हत्याउन प्रदेश सरकारको नीति तथा कार्यक्रममा हालेको पर्दाफास भएको कार्कीले आरोप लगाए ।

प्रदेश मन्त्रिपरिषद बैठकले बेलका नगरपालिका –३ पौरखी सामुदायिक वन क्षेत्रसँग जोडिएको १७५.२३ हेक्टर सप्तकोसीको नदी उकास जमिन निजी कम्पनीलाई ३० वर्षका लागि लिजमा दिने निर्णय गरेको थियो ।

१७५ हेक्टरमध्ये निलहरि काफ्लेको बराह हर्वल एण्ड एग्रो प्रालिलाई ५१.२३ हेक्टर र उनी निकटका व्यावसायीको सेफ वे टेक्नोलोजी ललितपुरलाई १२५ हेक्टर लिजमा दिएको थियो ।

निलहरि काफ्ले महेश बस्नेत उद्योग मन्त्री हुँदा विराटनगर जुट मिल्सको अध्यक्ष बनेका थिए । उनको कार्यकालमा सरकारी सेयर निजी क्षेत्रलाई बिक्री गरेको आरोप लागेको छ ।

३ वर्ष अघि देखि नै बेलका नगरपालिका ३ का समथर भुभागमा आँखा लगाउन लेमन ग्रासको प्लान्ट ६ कठ्ठामा लगाउन जग्गा लिजमा लिएर व्यवसाय सुरु गरेको कबुलियत वन फिर्ता संघर्ष समितिका संयोजक नविन राईले बताए । उनले भने, ‘६ कठ्ठाबाट व्यवासय सुरु गरेका निलहरि काफ्लेले पछि नगरपालिकाका मेयरलाई प्रलोभनमा पारि करिव ३५ विगहामा लेमन ग्रास लगाउन सफल भए । लेमन ग्रास लगाउन सफल काफ्ले पछि त्यतिले नपुगेर सिंगै टप्पु नै आफ्नो जालमा पार्न मेयरसँगको साठगाँठले उनले कबुलियत वनको रुपमा दर्ता गर्न भ्याई सकेको छ ।’

काठदेखि विभिन्न व्यवसाय गर्दै आएका निलहरी काफ्ले विवादित व्यक्ति हुन् । सुनसरी घर भएका काफ्लेले मेयर थापालाई प्रलोभनमा पारेर कबुलियत वन सञ्चालनको अनुमति लिएको उनलाई नजिकबाट बुझेका स्थानीय नेताहरू बताउँछन् ।

बेलका नगरपालिका मेयर दुर्गा थापा (स्वस्तिक) को हस्ताक्षर सहितको कबुलियत वन बनाउन डिभिजन वन कार्यालयलाई मिति २०७७ पुस २९ गते लेखेको पत्र

बेलका नगरपालिका ३ स्थित नदी उकास, बाँझो, पर्ति जग्गामा गठन गरिएको पौरखी सामुदायिक वन र आस पासका खाली तथा क्षति ग्रस्त जग्गालाई २०७७ पुस २९ गतेको पत्रमा डिभिजन वनकार्यालय गाईघाटलाई कबुलियत वन बनाउन बेलका नगरपालिकाका मेयर दुर्गा थापा (स्वस्तिक) ले सिफारिस गरेको पत्रको प्रतिलिपी सिम्रिक उदयपुरसँग सुरक्षित छ । मेयर थापाले कबुलियत वन बनाउन सिफारिस गरेपनि पटक पटक मैले कुनै सिफारिस गरेको भन्दै विज्ञप्ती नै जारी गरेको छ ।यस्तै बेलका नगरपालिका ३ का वडाध्यक्ष भरत मगरले पनि कोशी टप्पुको जग्गा कबुलियती वनको नाम दिन सिफारिस गरेको देखिन्छ । वडाध्यक्ष मगरले एक विज्ञप्ती जारी गर्दै कबुलियत वन बनाउन सिफारिस गर्नु मेरो गल्ती भएको भनि जनतासँग माफी मागेको छ ।

यस्तै बेलका नगरपालिकामा डिभिजन वन कार्यालय उदयपुर, प्रदेश नं. १ वन निर्देशनालय एवं वन तथा भू–संरक्षण विभागबाट बेलका नगरपालिकामा थप ५ वटा कबुलियती वन ब्लक बनाउने प्रस्ताव अघि सारेको छ । बेलका नगरपालिका ३ मा १०७ दशमलव ३७ हेक्टर क्षेत्रफलको ३ वटा ब्लक र वडा नं. ८ मा १३८ दशमलव २१ हेक्टर क्षेत्रफल वन क्षेत्रलाई २ वटा कबुलियती वन बनाउने प्रस्ताव प्रदेश वन निर्देशनालय र डिभिजन वन कार्यालय उदयपुरले अघि सारेको छ । बेलका नगरपालिकामा रहेको नदी उकास, बुट्यान क्षेत्र, एलानी, पर्ति, राष्ट्रिय वन लगायतको करिव ८ हजार हेक्टर क्षेत्रफल वनको जग्गामा सरकारको अनुदान खान राजनीतिक पहुँचबालाहरु कबुलियती वन बनाउन सव डिभिजन वन कार्यालय मैनामैनी र डिभिजन वन कार्यालय गाईघाटमा एक महिनादेखि दौडधुप पुनः शुरु गरेको स्रोतले जानकारी दिए । दर्ता प्रक्रियाको लागि बेलका नगरपालिकाका वडाहरुले सिफारिस समेत गरेको एक वडाध्यक्षले स्वीकार गरेका छन् ।

बेलका नगरपालिका ३ मा शुक्रबारे कबुलियती वन, शुक्रबारे पश्चिम कबुलियती वन र शुक्रबारे दक्षिणी कबुलियती वन नामाकरण गरेर कबुलियती वन बनाउने प्रस्ताव अघि सारेको छ । अर्को तर्फ बेलका नगरपालिका ८ मा शिशौली १ कबुलियती वन र शिशौली २ कबुलियती वन बनाउने प्रस्ताव वन डिभिजन कार्यालय उदयपुरले अघि सारेको छ ।

अहिले स्थानीयको स्वामित्व रहेको जग्गामा निजी कम्पनीलाई भोगचलन गर्न दिएको विषयमा त्यस क्षेत्रका वासिन्दा आन्दोलित छन् । आन्दोलनमा बेलका नगरपालिकाको भवन, प्रमुख प्रशासकीय अधिकृतको निजी सवारीमा क्षति पुगेको थियो । ६ जना प्रहरी घाइँते भएका थिए । त्यति नै संख्यामा आन्दोलनकारी समेत घाइँते भएका थिए ।

थप सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया