सुखिलाल चौधरी, उदयपुर । उदयपुरको बेलका नगरपालिकामा बुधबार कबुलियती वनको विषयमा स्थानीय र प्रहरी विच झडप हुँदा एक दर्जन बढी घाइते भएको छ । बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले कोशी टप्पु क्षेत्रमा बसोबास गर्ने स्थानीयबासीले भोगचलन गर्दै आएको ऐलानी जग्गालाई कवुलियत वन बनाउन सिफारिस गरेपछि गाउँलेहरु नगरपालिका घेराउन गरेपछि प्रहरीसँग झडप भएको थियो ।
बेलका नगरपालिका वडा नम्बर २, ३, ८ र ९ का डेढ सयौंको संख्यामा स्थानीयवासीले रामपुरस्थित नगरपालिकाको कार्यालयमा घेराउ गर्दै तोडफोडमा उक्रिएपछि घम्साघम्सीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुई÷दुई जना घाइते भएका छन् । यता आन्दोलनकारी तर्फ १० जना बढी घाइते भएका छन । उनीहरु सामान्य रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेदप्रसाद गौतमले जनाएको छ ।
डिएसपी गौतमका अनुसार १६ जना आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएकाहरुमा ६५ वृद्धा रामकुमारी कार्की, रेखा बस्नेत, सन्जु राई, सरु राई, विमला राई, विनु याख्खा, फुलमाया रायमाझी, दिलमाया राई, मैया कटुवाल, फुलमया याख्खा, सुनिता कुलुङ कुमारी कुलुङ पार्वती विक, रेणुका माझी, हिरा विष्ट, माया लिम्बु रहेको छ ।
प्रदर्शनकारीले नगरपालिका भवनको झ्याल, ढोका, प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीको सिसा फुटाइदिएपछि माहोल साम्य पार्न प्रहरीले १० राउण्ड हवाइ फायर, २५ राउण्ड अश्रु ग्याँस प्रहार गरेको थियो । 
बेलका नगरपालिकाको सिफारिसमा वडा नं. ३ का केही हिस्सा नेपाल सरकार मन्त्री परिषदको गत जेष्ठ ६ गतेको बैठकले पूर्वमा पौरखी सामुदायिक वन उपभोक्ता समूह, पश्चिममा एबीसी टप्पु जाने बाटो, उत्तरमा रामपुर जाने बाटो र दक्षिणमा गिदेरी दोभान जाने बाटोसम्म १ सय ७६ दशमलव २३ हेक्टर जग्गा कबुलियत वनको नाममा बराह हर्बल एण्ड एग्रो प्रालि सुनसरी र सेफ टेक्नोलोजी प्रालि ललितपुरलाई ३० वर्षका लागि ठेक्कामा दिने निर्णय गरेको छ । नदी उकास जमिनलाई कबुलियती वन बनाउने निर्णयसँगै कोशी टप्पु क्षेत्रमा बसोबास गर्ने ७ सय परिवारको उठिबास हुने छ ।
यस्तै प्रहरीले शान्तिपूर्ण विरोध कार्यक्रममा बल प्रयोग गरेको भन्दै स्थानीय राजनीतिक दलहरुले विरोध गरेका छन् । नेपाली काँग्रेस बेलका नगर कमिटीका सभापपित सुशिल सेढाई, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष मनोज तामाङ, जनता समाजवादी पार्टीका नगर अध्यक्ष सुरेन्द्र राई, नेकपा नगर सचिव सुकदेव चौधरीद्वारा जारी विज्ञप्तीमा नगर सरकारले घटाएको घटनाको घोर भत्र्सना गरेको छ ।
विज्ञप्तीमार्फत निहत्या जनता माथी अश्रुग्यास, गोली र लाठी प्रहार गरिनु निन्दनिय र अत्याचार भएको ठहर गरेको छ । स्थानीय सरकारबाट भएको अत्याचार प्रति आपति जनाउँदै घाइतेहरुको तुरुन्त उपचार र प्रकाउ परेकाहरुको बिना सर्त रिहाई गर्न माग गरेको छ । विज्ञप्तीमा कबुलियती बन खारेजीसँगै समस्या समाधानका लागि अविलम्ब बार्ताको वातावरण तयार गर्न समेत स्थानिय सरकारलाई माग गरेको छ ।
समस्याको सामाधान गर्न नगर सरकारले अटेर गरे वा नमानेमा थप आन्दोलनबाट हुन सक्ने घटना प्रति स्थानिय सरकार स्वयम जिम्मेवार हुनु पर्ने विज्ञप्तीमा जनाएको छ ।
यस्तै बेलका नगरपालिकामा भएको घटनाप्रति नेकपा एमाले माधव नेपाल समूहको पनि आपति रहेको छ । नेकपा एमाले बेलका नगर कमिटी अध्यक्ष धनपति आचार्यका अनुसार घाइतेको तुरुन्त उपचार र पक्राउ परेकोलाई निशर्त रिहा गर्नु पर्ने बताए ।
थप सम्बन्धित समाचार
बेलका नगरपालिकाका मेयरको झुठको पर्दाफास, कबुलियत वन बनाउन सिफारिस गरेको पाइयो
कोशी टप्पुको व्यक्तिगत जग्गालाई कबुलियत वन बनाउन सिफारिस गरेको भन्दै वडा कार्यालय घेराउ









