उदयपुर । जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको आयोजनामा गाईघाटमा नाप तौल सम्बन्धी शिविर सुरु भएको छ । शिविरमा नेपाल गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरको सेवा जिल्लामा दिन थालिएको हो ।

शिविर मंगलबारदेखि गाईघाटमा सुरु भएको जिल्ला उद्योग वाणिज्य संघ उदयपुरका अध्यक्ष गजेन्द्र कुमार भगतले बताए । शिविरमा उद्योगी तथा व्यावसायीले आफ्ना नाप तौलका सामग्रीको चेकजाँच, नवीकरण, नयाँ दर्ता गराउन सक्ने भएका छन् । उद्योगी तथा व्यवसायीको सहजताको लागि आयोजना गरिएको शिविरको लाभ लिन समेत अध्यक्ष भगतले आग्रह गरेका छन् । ’नाप तौलका सामग्री परीक्षण तथा नवीकरण गराउनका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको छ ।
शिविरमा सेवा पाउने भएकाले अवसर लाभ लिनुहोस्’, अध्यक्ष भगतले भने । उद्योगी तथा व्यवसायीहरूलाई नाप तौल कार्यालयसँग समन्वय गरेर शिविर सञ्चालन गरिएको अध्यक्ष भगतले बताए ।

मंगलबारबाट सुरु भएको शिविरमा उद्योगी तथा व्यवसायीहरूले आफ्ना नाप तौलका सामग्री चेकजाँच तथा नवीकरण गराउन पाएपछि आफूहरूलाई सहज भएको बताएका थिए । अध्यक्ष भगतका अनुसार आज बुधबार अन्तिम दिन भएकोले समयमै नाप तौलका सामग्री चेक जाँच गर्न अनुरोध गरेका छन् ।

नाप तौलका सामग्री चेकजाँचका लागि विभिन्न स्थानबाट उद्योगी तथा व्यवसायी आ–आफ्ना सामग्री लिएर जिल्ला उद्योग वाणिज्य संघको कार्यालयमा आइपुगेको महासचिव सुनिल साहले जानकारी दिए । नाप तौल तथा गुणस्तर तथा नाप तौल कार्यलय विराटनगरका निरीक्षक मनिषा राईको नेतृत्वमा मंगलबारबाट शिविर शुरु गरिएको थियो । शिविरमा ५० जना भन्दा बढीले आफ्नो ढक तराजु तथा नाप तौलका सामग्री नविकरण तथा चेक जाँच गरेको जिल्ला उद्योग वाणिज्य संघका महासचिव सुनिल साहले जानकारी दिए । उनका अनुसार बुधबार पनि शिविर हुने भएकोले छुटेकाहरुले सेवा लिन पाउनेछन् ।

जिल्लामा नाप तौलको कार्यालय नहँुदा उद्योगी तथा व्यवसायीलाई विराटनगरसम्म जानपर्ने बाध्यता रहेको छ ।

तपाईको प्रतिक्रिया