उदयपुर । आगामी आर्थिक वर्ष २०८२/८३ को लागि त्रियुगा नगरपालिकाको बजेट ६२ करोड ३६ लाख ९८ हजारले घटेको छ । त्रियुगा नगरपालिकाको १५ औं नगर सभामा नगर उपप्रमुख महेश्वरी राईले प्रस्तुत गरेको आगामी अनुमानित बजेट १ अर्ब ५३ करोड ३४ लाख ५९ हजार रहेको छ । आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा उपमेयर राईले उक्त बजेट प्रस्तुत गरेका हुन् । त्रियुगाको चालु आवमा दुई अर्व १५ करोड ७१ लाख ५७ हजार को बजेट विनियोजन गरिएकोमा आगामी बजेट ६२ करोड ३६ लाख ९८ हजारले घटेको छ ।

त्रियुगा नगरपालिकाको १५ औं नगर सभामा नगर प्रमुख वसन्त कुमार बस्नेतले नगरको नीति तथा कार्यक्रम सार्वजनिक सँगै बजेट प्रस्तुत गर्नुभएको थियो । नगर प्रमुख बस्नेतले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई कार्यन्वयन गर्न नगर उप प्रमुख महेश्वरी राईले आगामी आर्थिक बर्षको अनुमानित बजेट प्रस्तुत गर्नु भएको हो । उप प्रमुख राइले प्रस्तुत गरेको बजेटमा चालु तर्फको आन्तरिक आयबाट १६ करोड १९ लाख ९५ हजार, संघिय राजश्व बाँडफाँड वापत २० करोड ८९ लाख, वित्तीय समानीकरण अनुदान २१ करोड ९१ लाख, सशर्त अनुदान तर्फ ८५ करोड ९० लाख र समपुरक अनुदान तर्फ ९० लाख प्राप्त गर्ने अनुमानित गरेको छ ।

यस्तै प्रदेश सरकारको वित्तीय समानीकरण अनुदान दुई करोड ४ लाख एक हजार, सवारी साधन कर वापत १६ करोड ९० लाख चार हजार, सशर्त अनुदान तर्फ ३ करोड १६ लाख ५९ हजार र समपुरक अनुदान तर्फ ७५ लाखको आगामी अनुमानित बजेट प्रस्तुत गरेको छ । उप प्रमुख राइले प्रस्तुत गरेको बजेटमा पुजीगत तर्फ ८८ करोड ९४ लाख ६ हजार २ सय २० रहेको छ भने र चालु तर्फ ६४ करोड ४० लाख ५२ हजार ७ सय ८० रुपैया बजेट बिनियोजन गरिएको छ ।

नगर प्रमुख बस्नेतले सार्वजनिक गर्नु भएको नीति तथा कार्यक्रममा नगरको कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको छ । कृषिमा पहाडी वडालाई कफी जोन घोषणा र पशु बिमा गर्ने नीति तथा कार्यक्रम तहेको छ । यस्तै उच्च शिक्षा कृषि र पशु संकाय पढ्न चाहाने विद्यार्थीलाई पूर्ण छात्रवृति दिने नीति पालिकाले लिएको छ। स्वास्थ्यमा नगरवासीलाई निशुल्क आँखा जांच तथा शल्यक्रिया, निशुल्क रगत र ज्येष्ठ नागरिक र अपाङ्गहरुलाई घरमा पुगेर निशुल्क स्वास्थ्य परिक्षण र औषधी पुर्याउने नगरपालिकाको नीति तथा कार्यक्रम रहेको छ । नगर प्रमुख बस्नेतले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा नगरपालिका भरिका श्रमिकलाई निशुल्क श्रमिक विमा गर्ने नीति रहेको छ ।यस्तै शिक्षामा नगर क्षेत्र भित्रका सम्पूर्ण सामुदायीक बिद्यालयमा नेपाली र अंग्रेजी दुवै माध्यम बाट अध्यापन गराउन पर्ने, एक बिद्यालयलाई महिला मैत्री बिद्यालय स्थापना गर्ने, बिद्यार्थी संख्याको आधारमा दरबन्दी मिलान र बिद्यालय एक अर्कामा गाभ्ने, हप्ताको एक दिन शुक्रबार ’बुक फ्री डे’ घोषणा गरि वालवालिकाको नेतृत्व बिकासका लागि रचनात्मक क्रियाकलाप गराउने र उच्च शिक्षा अध्ययन गर्ने विपन्न, सिमान्तकृत असाहाय अपाङ्ग र दलित समुदायका विद्यार्थीलाई छात्रवृति कोष स्थापना गरि अध्ययनमा सहयोग गर्ने नीति तथा कार्यक्रम रहेको नगर प्रमुख बस्नेतले बताउनु भयो ।

त्रियुगा नगरबासीको सम्मान युक्त जीवन यापन, असल शासन, पारदर्शिता, जवाफदेहिता, सरल सहज छिटो र प्रभावकारी सेवा प्रवाह, नितिगत तथा संस्थागत क्षमता बिकास, स्रोत साधनको समुचित ब्याबस्थापन, सामाजिक रुपान्तरण, समन्वय सहकार्य र साझेदारी लगायतका बिषयलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम तयार पारेको नगर प्रमुख बस्नेतले बताउनु भयो ।

आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान, उत्पापदन तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने, जनताको जीवनस्तर आम्दानी र रोजगारी वढ्ने, स्थानीय स्रोत र सीपको अधिकतम प्रयोग, नवप्रवर्तनकारी योजना, मानव अधिकार संरक्षण र शान्ति सुरक्षा बिषयलाई समेत नीति तथा कार्यक्रममा समेटिएको नगर प्रमुख बस्नेतले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममा रहेको छ ।

लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला, बालबालिका तथा पिछडिएको क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ हुने, दिगो विकास, वातावरणिय संरक्षण तथा सम्वद्र्धनमा सघाउ र मेलमिलापमार्फत जनताको न्यायमा पहुँच पुग्ने गरी कार्यक्रम रहेको उहाँले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

तपाईको प्रतिक्रिया