उदयपुर । उदयपुरमा १३१ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा श्रमिकहरुको लागि त्रियुगा नगरपालिकाले विशेष राहत प्याकेज घोषणा गरेको थियो । नगरभित्रका सम्पूर्ण मजदुरहरुलाई निःशुल्क बैंक खाता खोली दिने १३१ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना दिँदै घोषणा गरेको थियो ।
‘एक श्रमिक एक निःशुल्क खाता, विपद्का बेला हामी छौँ साथ’ भन्ने नाराका साथ श्रमिक दिवसको अवसरमा विशेष राहत प्याकेजको घोषणा गरेकोमा सोमबार नेपाल बैंक गाईघाट शाखा मार्फत ५५ जना मजदुरको खाता खोलिदिएर शुरुवात गरेको मेयर बलदेव चौधरीले बताए । उनीहरुको बैक खाता खोलिएपछि जनही २०० रुपैया बचत भएको छ ।

त्रियुगा नगरभित्र कार्यरत डकर्मी, सिकर्मी, सबै किसिमका चालक, कृषि मजदुर, ठेलागाडा, रिक्सा चालकलगायत सबै क्षेत्रका ज्यालादारी तथा करारमा रहेका असंगठनित मजदुरहरु गरी ५ सय मजदुरको चालु वर्षमा खाता खोलिदिने मेयर चौधरीले बताए ।यस कार्यक्रम अन्र्तगत १६ वटै वडा प्रत्येक मजदुरको नाममा त्रियुगा नगरपालिकाले दुई सय रुपैयाँ बराबरको रकम जम्मा गरि दिने कार्यक्रम रहेको छ । व्यावसायिक र बचत गर्ने बानीको विकास गर्नको लागि खाता खोलिदिएको मेयर चौधरीले बताए । “ मेहनत गरी मजदुरीले कमाएको केही रकम बचत गर्ने बानी बसे सारो गाह्रो पर्दा उनीहरुलाई नै काम लाग्ने र व्यावसायिक पनि उनीहरु नै बन्ने छ ।” मेयर चौधरीले भने ।

नेपाल सरकारले घोषणा गरेको एक नेपाली एक बैंक खाता कार्यक्रम अन्तर्गत मजदुरलाई दुई सय रुपैयाँको बिउ पूँजी भएको निःशुल्क बैंक खाता खोलि दिएको हो ।

बैक खाता सञ्चालनले सकटको बेला दुखविमार हुँदा साहु र अन्यको हात पसार्न जानु पर्ने, चर्को ब्याँजमा ऋण लिएर बन्धक जस्तै बेलाबेला ब्याँजैमा काम गरिदिनु पर्ने अवस्थाबाट यसले थोरै भए पनि मुक्ति मिल्ने नगर प्रमुख बलदेव चौधरीले बताए । बैंकमा खाता खोलिएपछि मजदुर जसो कुमारी चौधरी दङ्ग थिए । उनी भन्छन म एकदमै खुसी छु आज मैले पनि बैंकमा खाता खोलेको छु ।

यी सबै श्रमिकहरुलाइ बचत गर्ने बानी बसाल्न र अप्ठ्यारोमा सहयोग पुर्याएर जीवनस्तर उकास्न यो कार्यक्रमले सहायता गर्ने देखिन्छ । यो खाता नेपाल बैक लिमिटेडको ५० प्रतिशत सहभागितामा खोलिएको हो । यसले कोभिड १९ जस्ता प्रकोप उत्पन्न र घरेलु समस्याहरुमा केही राहत मिल्नुको साथै श्रमिकहरु पनि बचत गर्न प्रेरित गर्ने उद्देश्यले निःशुल्क खाता खोली दिएको मेयर चौधरीले बताए ।

गत वर्ष दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने मजदुरहरुलाई सम्बन्धित वडा कार्यालयमार्फत राहत पनि वितरण गरेको थियो ।

 

तपाईको प्रतिक्रिया