सुखिलाल चौधरी, उदयपुर –  उदयपुरको बेलका नगरपालिकामा थप ५ वटा कबुलियती वन ब्लक बनाउने प्रस्ताव अघि सारेको छ । डिभिजन वन कार्यालय उदयपुर, प्रदेश नं. १ वन निर्देशनालय एवं वन तथा भू–संरक्षण विभागबाट बेलका नगरपालिकामा थप ५ वटा कबुलियती वन ब्लक बनाउने प्रस्ताव अघि सारेको छ ।

वेलका नगरपालिका ३ स्थित कोशी टप्पु क्षेत्रमा सार्वजनिक, ऐलानी जग्गा । फाइल तस्विर : नागरिक बहस

बेलका नगरपालिका वडा नं. ३ मा ३ वटा ब्लक र वडा नं. ८ मा २ वटा ब्लक बनाउने प्रस्ताव अघि बढेको छ । बेलका नगरपालिका ३ मा १०७ दशमलव ३७ हेक्टर र वडा नं. ८ मा १३८ दशमलव २१ हेक्टर वन क्षेत्रलाई कबुलियती वन बनाउने प्रस्ताव प्रदेश वन निर्देशनालय र डिभिजन वन कार्यालय उदयपुरले अघि सारेको छ । बेलका नगरपालिकामा रहेको नदी उकास, बुट्यान क्षेत्र, एलानी, पर्ति, राष्ट्रिय वन लगायतको करिव ८ हजार हेक्टर क्षेत्रफल वनको जग्गामा सरकारको अनुदान खान राजनीतिक पहुँचबालाहरु कबुलियती वन बनाउन सव डिभिजन वन कार्यालय मैनामैनी र डिभिजन वन कार्यालय गाईघाटमा एक महिनादेखि दौडधुप पुनः शुरु गरेको स्रोतले जानकारी दिए । दर्ता प्रक्रियाको लागि बेलका नगरपालिकाका वडाहरुले सिफारिस समेत गरेको एक वडाध्यक्षले स्वीकार गरेका छन् ।

बेलका नगरपालिका ३ मा शुक्रबारे कबुलियती वन, शुक्रबारे पश्चिम कबुलियती वन र शुक्रबारे दक्षिणी कबुलियती वन नामाकरण गरेर कबुलियती वन बनाउने प्रस्ताव अघि सारेको छ । अर्को तर्फ बेलका नगरपालिका ८ मा शिशौली १ कबुलियती वन र शिशौली २ कबुलियती वन बनाउने प्रस्ताव वन डिभिजन कार्यालय उदयपुरले अघि सारेको छ ।

कबुलियत वन फिर्ताको माग गर्दै स्थानीयद्वारा बेलका नगरपालिका घेराउ । फाइल तस्विर : नागरिक बहस

नयाँ कबुलियती वन बनाउनमा बेलका नगरपालिका ३ स्थित शुक्रबारे कुबुलियती वनको लागि पूर्वी सिमाना सानो कोशी खोला, पश्चिम सिमाना आवादी बस्ती, उत्तरी सिमाना माछापुच्र्छे सामुदायिक वन उपभोक्ता समूह र दक्षिण सिमाना रामपुरदेखि एकता चौक जाने बाटोसम्मको चार किल्ला भूभागलाई कबुलियती वन बनाउने प्रस्तावन अघि सारेको छ ।

बेलका नगरपालिका ३ कै शुक्रबारे पश्चिम कबुलियत वनको लागि पूर्वी सिमाना आवादी बस्ती, पश्चिम सिमाना सानो कोशी खोला, उत्तरी सिमाना माछापुच्र्छे सामुदायिक वन उपभोक्ता समूह सिमाना र दक्षिण सिमाना रामपुरदेखि एकता चौक जानेबाटोसम्म राष्ट्रिय वन रहेको छ । यी चार किल्ला क्षेत्रफललाई आगामी आर्थिक वर्षभित्र कबुलियती वन बनाउने प्रस्ताव डिभिजन वन कार्यालयले अघि सारेको छ ।

अर्को शुक्रबारे दक्षिणी कबुलियती वनको लागि पूर्वी सिमाना १७६ दशमलव २३ हेक्टर क्षेत्रफल स्थापना भएको कबुलियती वन, पश्चिम सिमाना सानो कोशी खोला, उत्तरी सिमाना रामपुरदेखि एकता चौक जाने बाटोसम्म र दक्षिण सिमाना एविसी टप्पुसम्म रहेको वन कार्यालय स्रोतले जनाएको छ ।

यस्तै बेलका नगरपालिका ८ मा शिशौली १ कबुलियती वनको लागि पूर्वी सिमाना सप्तकोशी नदी, पश्चिम सिमाना स्थायी आवादी बस्ती, उत्तरी सिमाना कुङ्ग्रीवा सावउस हात्तिसार विचकेश्वरी सावउस संगम स्थानसम्म, दक्षिण सिमाना आवादी बस्तीसम्मको भूभागलाई कबुलियती वन बनाउने प्रस्ताव अघि सारेको छ ।

अर्को शिशौली २ कबुलियती वनको लागि पूर्वी सिमाना सप्तकोशी नदी, पश्चिम सिमाना बुट्यान क्षेत्र, उत्तरी सिमाना आवादी बस्ती र दक्षिण सिमाना बुट्यान क्षेत्रसम्म रहेको छ । कबुलियत वनको प्रक्रिया अन्तिम चरणमा पुगेको स्रोतले जानकारी दिए । उनका अनुसार करिव करिव सवै प्रक्रिया पुरा भईसकेको छ ।

बेलका नगरपालिकामा ६ वटा ब्लकको कबुलियत वन भनेको खण्डमा करिव २० हजार जनसंख्याको उठिबास हुने कबुलियत वन फिर्ता संघर्ष समितिको संयोजक नविन राईले जानकारी दिए । उनका अनुसार जवसम्म सरकारले कबुलियत वन फिर्ता लिइदैन तवसम्म हाम्रो आन्दोलन जारी रहेन छ । कबुलियत वन फिर्ता लिनको लागि सरकारलाई १० दिनको अल्टिमेटम समेत दिइएको छ ।

डिभिजन वन कार्यालय गाईघाटले बेलका नगरपालिकामा रहेका ८ हजार एलानी, पर्ति, बुट्यान र राष्ट्रिय वन क्षेत्रको जग्गालाई कबुलियत वन बनाउने कार्य अघि बढेकोले कुनै पनि हालतमा नरोकिने डिभिजन प्रमुख अम्विका प्रसाद पौडेलले जानकारी दिए । उनले भने, “सरकारको वन बचाउने दायित्व मेरो हो, चाहे रुख विरुवा लगाएर होस वा घेराबेरा गरेर होस् । वन जोगिए यसको फाइदा सवैलाई हुने हो ।” उनले थपे, “वन क्षेत्रको जग्गामा मालपोत कार्यालय नै खडा गरि जग्गा किनबेच र कित्ता काट् गर्ने भूमाफियालाई कुनै पनि हालतमा वनको जग्गामा रजगज गर्न दिईन ।”

यस अघि बेलका नगरपालिका ३ का केही हिस्सा नेपाल सरकार मन्त्री परिषदको गत जेष्ठ ६ गतेको बैठकले पूर्वमा पौरखी सामुदायिक वन उपभोक्ता समूह, पश्चिममा एबीसी टप्पु, उत्तरमा रामपुर जाने बाटो र दक्षिणमा गिदेरी दोभान जाने बाटोसम्म १ सय ७६ दशमलव २३ हेक्टर जग्गा कबुलियत वनको नाममा बराह हर्बल एण्ड एग्रो प्रालि सुनसरी र सेफ टेक्नोलोजी प्रालि ललितपुरलाई ३० वर्षका लागि ठेक्का दिई सकिएको छ ।

कोशी टप्पु क्षेत्रको स्थानीयहरुले जोग भोग चलन गर्दै आएको जग्गालाई कबुलियत वन बनाउन बेलका नगरपालिकाका मेयर दुर्गा थापा (स्वस्तिक) ले सिफारिस गर्दा टप्पुबासी आन्दोलित भएको छ । मेयर थापा आफैले नै बेलका नगरपालिका ३ स्थित नदी उकास, बाँझो, पर्ति जग्गामा गठन गरिएको पौरख सामुदायिक वन र आसपासका खाली तथा क्षतिग्रस्त जग्गालाई २०७७ पुस २९ गतेको पत्रमा डिभिजन वन कार्यालय गाईघाटलाई कबुलियत वन बनाउन सिफारिस गरेको पत्र नागरिक बहससँग सुरक्षित छ ।

बेलका नगरपालिका मेयर दुर्गा थापा (स्वस्तिक) को हस्ताक्षर सहितको कबुलियत वन बनाउन डिभिजन वन कार्यालयलाई मिति २०७७ पुस २९ गते लेखेको पत्र

बराह हर्बल एण्ड एग्रो प्रा.लि.का संचालक अध्यक्ष निलहरी काफ्लेको २०७७ पुस २७ गतेको माग निवेदन बमोजिम बेलका नगरपालिकाका मेयर थापाले कबुलियत वन बनाउन सिफारिस दिएको देखिन्छ । बेलका नगरपालिका ३ स्थित नदी उकास, बाँझो, पर्ति जग्गामा गठन गरिएको पौरख सामुदायिक वन र आसपासका खाली तथा क्षतिग्रस्त जग्गा नेपाल सरकारको प्रचलित कानुन अनुसार बहाल (लिज) मा लिएर जडीबुटी खेती तथा प्रशोधन गर्न कार्यको लागि बराह हर्बल एण्ड एग्रो प्रा.लि.लाई लिजमा उपलब्ध गराउन सिफारिस गरेको थियो ।

थप सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया