उदयपुर । सगरमाथा प्रवेशद्धारको रुपमा परिचित सिद्धिचरण राजमार्गको स्तरोन्न्नतीको माग गर्दै स्थानीयहरुले यातायात ठप्प गरेको छ । स्थानीयहरुले आफ्ना माग पूरा नभएसम्म अनिश्चितकालीन राजमार्ग ठप्प पार्ने बताउँदै आएका छन् । वि.सं. २०५२ देखि नै निर्माण शुरू भएर २०५८ सालमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको उक्त सडकखण्ड यतिका वर्ष वितिसक्दा पनि भत्केको खाल्डा समेत पुनःनिर्माण हुन नसक्दा सडकखण्ड अहिले जीर्ण भई जोखिम अवस्थामा छ ।
कटारीको गेरु डाँडा, बेतेनी भञ्ज्याङ, पटना भञ्ज्याङ र घुर्मीमा सिद्धिचरण राजमार्ग स्तरउन्नती संघर्ष समिति नै निर्माण गरी सडक अवरोध गरी यातायात ठप्प पारेका छन् । कटारी नगरपालिका ११ का वडाध्यक्ष दीपक बुढा क्षेत्री (सरोज)को संयोजकत्वमा नै संघर्ष समिति बनाएरै आन्दोलनमा उत्रिएका छन् ।

आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा राजमार्गका लागि दुई लाईन सडकका लागि लागत ईष्टिमेट अनुसार बजेट सुनिश्चितता हुनुपर्ने सिद्धिचरण राजमार्ग स्तर उन्नती संघर्ष समितिका संयोजक बुढाक्षेत्रीले बताए । सिद्धिचरण राजमार्गलाई हेर्ने छुट्टै आयोजना कार्यालयको स्थापना गर्नु पर्ने, बजेट सुनिष्चित नभएसम्म सडक डिभिजन कार्यालय लहानले स्तरउन्नती तथा मर्मत गर्नु पर्ने र ठाउँ ठाउँमा स्काभेटर, पानी ट्याङ्कर, ट्रिपर लगायतका तत्काल सडकका समस्या समाधान गर्दै आवतजावत गर्ने उपकरणको व्यवस्था गरेर मात्रै सडक संचालन हुनुपर्ने जस्ता मागहरु रहेको संयोजक बुढाक्षेत्रीले बताए ।

केही दिन अगाडी बुढाक्षेत्रीको संयोजत्वमा डिभिजन सडक कार्यालय लहान र कटारी नगरपालिकाका मेयरलाई ज्ञापन पत्र बुझाएको थियो । ज्ञापन पत्र बुझाएको यत्रो दिनमा पनि कुनै सुनुवाई नभएपछि बाध्यताले सडक खण्ड अनिश्चित कालिन बन्द गर्नु परेको संयोजक बुढाक्षेत्रीले बताए । कटारी नगरपालिकाको मरुवा, पट्नाभञ्याङ्ग गहुँबारी, वेतेनी, घुर्मीमा स्थानीयको सहभागितामा शान्तिपूर्ण रुपमा एम्बुलेन्स बाहेकका सवारीसाधन अनिश्चित कालका लागि रोक्ने निर्णय भएको संयोजक बुढाक्षेत्रीले बताए ।

राजमार्ग ठप्प हुँदा अहिलेसम्म कुनै अप्रिय घटनाको खबर प्राप्त भएको छैन । तर टाढाको यात्रामा निस्किएका यात्रुहरु भने सडकमा झोला भिरेर हिँडेको देखिन्छन् । अवरुद्ध सडक खुलाउनको लागि यो समाचार तयार पार्दासम्म कुनै पहल भएको छैन ।

सिद्धिचरण राजमार्गको कटारी नगरपालिका क्षेत्रमा पर्ने कटारीदेखि घुर्मीसम्म जम्मा ४६ किलोमिटर सडक जीर्ण बनेको छ । जुन क्षेत्र कटारी नगरपालिकाको वडा नम्वर ८, ९, १०, ११, १३ र १४ मा पर्दछ ।

सडकमा एकतर्फी यात्रा गर्नसमेत समस्या छ । तर दोहोरो सवारी साधन सञ्चालन हुने यो खण्डका अधिकांश भाग भत्किएकाले पछिल्लो सयम दैनिक जस्तो साना ठूला दुर्घटना हुने गरेका छन् । यस सडक खण्डमा वषौँअघि गरिएको कालोपत्रै भत्किएको अढाई दशक बितिसक्दा पनि स्तरोन्नतीको काम नहुँदा स्थानीय र यात्रुहरुले चरम सास्ती भोग्नु परेको छ । उदयपुर, खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका लाखौँ सर्वसाधारणको आवागमन र दैनिक उपभोग्य सामग्री ढुवानी हुने सिद्धिचरण राजमार्गको स्तरोन्नति नगरिँदा यात्रुहरु बर्षामा हिलो र हिँउदमा धुलो सहित जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

सम्बन्धित समाचार

सडक कालोपत्रे गरेको २४ घण्टा नवित्दै भत्किए

तपाईको प्रतिक्रिया