उदयपुर । उदयपुरको कटारी–मरुवा खण्डमा सडक कालोपत्रे गरि नसक्दै भत्किएको छ । रातिराति कमसल सामग्री प्रयोग गरी गुणस्तरहीन काम गरेकोले सडक निमार्ण नसकिँदै भत्किएको स्थानीयले गुनासो गरेका छन् ।
चैत्र २९ गते राति गरेको कालोपत्रे २४ घण्टा नबित्दै भत्किएपछि गुणस्तरहीन सामग्रीहरुको प्रयोग भएको प्रष्टै देखिन्छ । प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमार्फत रौता सुसम आदित्य रेग्मी जेभीले काम सुरु गरेको उक्त कालोपत्रे २४ घण्टासमेत टिकेन । २०७६ चैत्र ६ गते सम्झौता गरेको ठेकेदार ३२ सय मिटरमा कालोपत्रे काम सम्पन्न गरिने भएको छ ।
प्रदेश १ सरकारको भौतिक पूर्वाधार मन्त्रालयमार्फत ३ करोड २४ लाख ६ हजार ५ सय ७४ को लागतमा कालोपत्रेको काम सुरु भएको थियो । कटारी अस्पताल चोकदेखि ३२ सय मिटर सडक कालोपत्रे गर्ने भनी ठेकेदारले काम थालेर बीचमा अलपत्र बनाएर छाडेपछि स्थानीय धुलोबाट आजित भएपछि छिटो कालोपत्रे गर्न माग गर्दै स्थानीयले पटक पटक उक्त सडक खण्डमा यातायात संञ्चालनमा अवरोध गर्दै आएको स्थानीय धिरेन्द्र कोइरालाले बताए ।
स्थानीयको चर्को दबाबपछि सुरु भएको कालोपत्रे नबन्दै उक्किएपछि थप दुःखी भएको र भत्किएको उक्त कालोपत्रे फेरि बनाउनुपर्ने स्थानीय दीपक राउतले बताए । कालोपत्रे उक्किएको ठाउँमा फेरि कालोपत्रे गरिने पूर्वाधार सडक विकास कार्यालयका प्रमुख जितेन्द्र कर्णले बताए ।
सडम कालोपत्रे नबन्दा सडकमा आवतजावत गर्ने यात्रु मात्र होइन, त्यो लाइनमा सञ्चालन गरिएका होटल व्यवसाय पनि चौपट भएको होटल व्यवसायीहरुले बताउँदै आएका छन् ।
यस्तै सिद्धिचरण राजमार्ग अन्र्तगत सिरहाको मिर्चैया देखि उदयपुरको कटारी – घुर्मी सडक खण्ड स्तर उन्नती संघर्ष समितिले दवाबका कार्यक्रमहरु तय गरेको छ । समितिका संयोजक तथा वडा नम्बर ११ का वडाध्यक्ष दिपक बुढाक्षेत्री (सरोज)ले सडक खण्ड अनिश्चित कालिन बन्द गर्ने सम्मको कार्यक्रम तय गरेको हो । समितिको आईतबार वसेको वैठकले तत्काल सडक खण्ड स्तर उन्नतीका लागि सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाउने निर्णय गरे संगै सडक डिभिजन कार्यालय लाहानमा समेत ज्ञापनपत्र बुझाउको छ । त्यसैगरी ज्ञापन पत्र लगत्तै कुनै पनि प्रकृया अघि नबढे आगामी वैशाख ६ गतेदखि कटारी नगरपालिकाको मरुवा, पट्नाभञ्याङ्ग गहुँबारी, वेतेनीमा स्थानीयको सहभागितामा शान्तिपूर्ण रुपमा एम्बुलेन्स बाहेकका सवारीसाधन अनिश्चित कालका लागि रोक्ने निर्णय गरेको संयोजक बुढाक्षेत्रीले बताए ।
आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा राजमार्गका लागि दुई लाईन सडकका लागि लागत ईष्टिमेट अनुसार बजेट सुनिष्चित हनुपर्ने ,बजेट सुनिष्चित नभएसम्म स्काभेटर, पानी ट्याङ्कर, ट्रिपर लगायतका तत्काल सडकका समस्या समाधान गर्दै आवतजावत गर्ने उपकरणको व्यवस्था गरेर मात्रै सडक संञ्चालन हुनुपर्ने जस्ता मागहरु ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
सिद्धिचरण राजमार्गको कटारी नगरपालिका क्षेत्रमा पर्ने कटारीदेखि घुर्मीसम्म जम्मा ४६ किलोमिटर सडक जीर्ण बनेको छ । जुन क्षेत्र कटारी नगरपालिकाको वडा नम्वर ८, ९, १०, ११, १३ र १४ मा पर्दछ । त्यही सडकको स्तरउन्नतिको माग गर्दै यसअघि कटारी नगरपालिकाको बेतेनीमा बसेको एक भेलाले सिद्धिचरण राजमार्ग स्तरउन्नतिको लागि दवाब समूह गठन गरेको थियो ।
यस सडक खण्डमा वषौँअघि गरिएको कालोपत्रै भत्किएको अढाई दशक बितिसक्दा पनि स्तरोन्नतीको काम नहुँदा स्थानीय र यात्रुहरुले चरम सास्ती भोग्नु परेको छ । उदयपुर, खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका लाखौँ सर्वसाधारणको आवागमन र दैनिक उपभोग्य सामग्री ढुवानी हुने सिद्धिचरण राजमार्गको स्तरोन्नति नगरिँदा यात्रुहरु बर्षामा हिलो र हिँउदमा धुलो सहित जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

तपाईको प्रतिक्रिया