उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले उपमेयर रीताकुमारी चौधरीलाई उदयपुर कोभिड-१९ अस्पतालबाट विदाई गरेका छन् । गत कार्तिक ३० गते उपमेयर चौधरी सहित ३ जनामा कोरोना पुष्टी भएपछि उदयपुर कोभिड-१९ अस्पतालको आइशोलेसनमा उपचाररत थिए । सोमबार उपमेयर सहित ११ जनाको कारोना रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई मेयर राईले अस्पतालबाट कोरोना नेगेटिभ रिपोर्टको प्रमाणपत्र, खादा सहित विदाई गरेका हुन् ।
कोरोनामुक्त हुनेहरुमा चौदण्डीगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धु्रवराज आचार्य, वडा सचिव गुमानसिंह खड्का, प्रशासन प्रमुख नेत्र विश्वकर्मा, चालक केदार कोईराला लगायत रहेका छन् । प्रमुख प्रशासकीय अधिकृत आचार्य भने आफ्नै क्वाटरमा होमआईसोशन बसेका थिए । उपप्रमुख चौधरी सहित १० जना उदयपुर कोभिड-१९ अस्पताल सातधारेको आईसोलेशन सेन्टरबाट डिस्चार्ज भएका हुन् ।

उपमेयर चौधरीका अनुसार आफु जनताको कामकै शिलशिलामा कोरोना संक्रमण भएको बताईन् । स्थानीय सरकार उपप्रमुख भएकाले मैले पनि स्वास्थ्य मापदण्ड पालना गरी नगरपालिकाका काम कारवाही र जनताका दुख सुखमा संगसंगै साथ दिंदै गईरहँदा कोरोना भएको जनाईन् । उनले कोरोनाले शुरुमा मलाई अप्ठ्यारो पार्यो तर, पछि सामान्य हुँदै गयो । उनले कोरोनालाई साधारण रुखाखोकी नठानी शंका लागे स्वास्थ्य परामर्श लिन जनसमुदायलाई अनुरोध गरेकी छिन् ।

अहिलेसम्म कोरोनाको खास औषधी पनि नबनेको अवस्थामा घरेलु उपचार नै यसको औषधी हो । तसर्थ यो समयमा मैले पनि बेसार पानी, गुज्रो पानी, ज्वानो पानी, मह पानी, थारु परिकार घुङ्गी लगायत क्याल्सियम र भिटामिन सी प्राप्त हुने खाद्यपदार्थहरु सेवन गरेँ । यसै गरी १४ दिन सम्म आईसोलेसनमा बसेर पुनः परीक्षण गराउँदा मेरो रिपोर्ट नेगेटिभ आयो । अव म आफ्नो नियमित काममा फर्किएँ ।

स्वास्थ्यमा समस्या त आई नै सक्यो, तर यो अवधिमा मलाई आम नगरबासी, शुभेच्छुक लगायतले जुन किसिमले मेरो विषयमा चिन्ता गरेर जसरी स्वास्थ्य लाभको कामना गर्नुभयो, त्यसको लागि सबैलाई यसै मुरीमुरी धन्यवाद दिन चाहान्छु । म तपाईंको यस मिडियामार्फत नै सबै नगरबासीलाई भन्न चाहान्छु कि, हामी कसैले पनि यो कोरोनालाई कमजोर रुपमा नठानौं । जसलाई पर्छ, उसलाई मात्र वास्तविकता र पीडा थाहा हुने रहेछ । अझ पछिल्लो समय त मृतकको संख्या पनि बढिरहेको र अस्पतालहरुमा बेड तथा आईसियु र भेन्टिलेरहरु समेत नपाउने अवस्था सिर्जना भएको छ । तसर्थ हामीले समयमा नै यसबाट सावधानी अपनाउन सक्यौं भने हामी बच्न सक्छौं, यदि हामीले लापरवाही गर्यौं भने यसले नै हाम्रो ज्यान लिने खतरा अत्याधिक छ ।

यस्तै सोमबार कोरोना महामारी सुरु भएदेखि नै ‘फ्रन्टलाईन’मा खट्दै आएका चौदण्डीगढी नगरपालिकाका स्वास्थ्य शाखा सह संयोजक तेजबहादुर पोखरेल र एक स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् । गएको असारदेखि सञ्चालनमा आएको उदयपुर कोभिड-१९ अस्पतालको आईसोलेसन सेन्टरमा आउने झण्डै १ सय २५ जना बढी संक्रमितलाई उपचार गरेर निको पारिसक्दा सोमबार आफैलाई संक्रमण भएको छ ।

रुघाखोकी र ज्वरोको लक्षण देखिएपछि आइतबार गरिएको उनको पिसिआर रिपोर्ट सोमबार आउँदा उनमा संक्रममण देखिएको चौदण्डीगढी नगरप्रमुख खगेन्द्र राईले बताए । पोखरेल अरु संक्रमित विरामीको उपचारमा खट्दाखट्दै स्वयं संक्रमणको शिकार भएको मेयर राईले बताए । उदयपुर कोभिड-१९ अस्पतालमा उपचारार्थ आउने बिभिन्न ठाउँका विरामीलाई निको पार्ने काममा खट्दै आएका पोखरेल स्वयं संक्रमित हुन पुगेकोमा मेयर राईले दुःख व्यक्त गर्दै सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

उदयपुर कोभिड-१९ अस्पतालमा उदयपुर मात्र नभएर खोटाङ, ओखलढुंगा, भोजपुर र सप्तरीसम्मका कोभिड संक्रमितले त्यहाँबाट उपचार पाईरहेको मेयर राईले जानकारी दिए ।

चौदण्डीगढी नगरपालिकाका उपमेयर सहित ३ जनामा कोरोना समाचार पढ्न यहाँ क्लिक गर्नुहोस् 

तपाईको प्रतिक्रिया