उदयपुर । उदयपुरको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ (काजी) कोरोनामुक्त भएका छन् । पछिल्लो पटकको परीक्षणमा नेगेटिभ रिपोर्ट आएसँगै उनी कोरोनामुक्त भएको कटारी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
कटारी नगरपालिका स्वास्थ्य शाखा प्रमुख सुरेश दाहालका अनुसार केही दिन निवासमा आराम गरेर उनी काममा फर्किने छन् । असोज ४ गते उहाँ सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टिपछि होम आइसोलेसनमा बसेका उहाँ १४ औं दिनमा निको भएका हुन् ।
स्थानीय सरकार प्रमुख भएकाले मैले पनि स्वास्थ्य मापदण्ड पालना गर्दै र दुरी कायम गर्दै नगरपालिका भित्रका काम कारवाही र जनताका दुख सुखमा संगसंगै साथ दिंदै गईरहँदा कोरोना संग मिल्दोजुल्दो लक्षण देखिन थालेपछि म त्यही दिनदेखि घरमै बस्न थालेँ ।
जनताको काम गर्दा गर्दै कटारीका मेयरलाई कोरोना संक्रमण
सुरुमा मलाई नै कोरोना नलाग्दासम्म त यो केही होइन, साधारण रुघाखोकी मात्र हो, सामाजिक दुरी कायम गर्दै स्वास्थ्य मापदण्ड पालना गर्दा केही हुन्न भन्ने लागेको थियो । अरुलाई पनि यस्तै गरी सचेत गराउँदै थिएँ । तर, जब आफैंलाई लाग्यो, मेरो सोचाई भन्दा ठिक उल्टो र फरक पाएँ मैले । ज्वरो र रुघाखोकी लाग्यो, जीउ दुख्यो, अनि कमजोरी पनि बढ्यो ।
अहिलेसम्म कोरोनाको खास औषधी पनि नबनेको अवस्थामा घरेलु उपचार नै यसको औषधी हो । तसर्थ यो समयमा मैले पनि बेसार पानी, गुज्रो पानी, ज्वानो पानी, मह पानी लगायत भिटामिन सी प्राप्त हुने खाद्यपदार्थहरु सेवन गरेँ । यसै गरी १४ दिन सम्म होम आईसोलेसनमा बसेर पुनः परीक्षण गराउँदा मेरो रिपोर्ट नेगेटिभ आयो । अव म आफ्नो नियमित काममा फर्किएँ ।
स्वास्थ्यमा समस्या त आई नै सक्यो, तर यो अवधिमा मलाई आम नगरबासी, शुभेच्छुक लगायतले जुन किसिमले मेरो विषयमा चिन्ता गरेर जसरी स्वास्थ्य लाभको कामना गर्नुभयो, त्यसको लागि सबैलाई यसै मिडियामार्फत मुरीमुरी धन्यवाद दिन चाहान्छु । तर बिहानदेखि बेलुकासम्म जनताकै सेवामा अति व्यस्त भएर खटिरहनु पर्ने मलाई यो १४ दिन घरभित्रै बस्नु पर्दा चाहिँ असाध्यै गाह्रो भयो । तैपनि मेरो आफ्नो ज्यान जोखिमममा राखेर हरपल साथ र उच्च मनोवल बढाई सहयोग गर्नु हुने मेरी श्रीमति कमला श्रेष्ठलाई बिशेष धन्यबाद तथा विषेश परिस्थिमा सहयोग गर्नुहुने डाक्टरहरु पवन शाह, गौरब शाह, राजकुमार गजमेर र इलाका प्रहरी कटारीका डिएसपी प्रेम सागर केसी, नबराज जस्पाल लगायत स्वास्थ्य लाभको कामना गर्नु हुने नगरपालिका परिवार तथा सम्पूर्ण नगरवासी आमाबुबा दिदी बहिनी, दाजुभाईहरुलाई अन्तरमन देखि धेरै धेरै धन्यबाद दिन चाहान्छु । मेरा धेरै शुभेच्छुक साथीहरु त्यस्तो अवस्थामा पनि मलाई भेट्न, सान्तवना र हौसला दिनु भयो । मैले नआउनोस भनेर कर गर्दा पनि उहाँहरु मेरो बारेमा भेटेरै स्वास्थ्यलाभको कामना गर्न आउनुभयो । तसर्थ मैले टाढै बसेर, सामाजिक दुरी कायम गरेर उहाँहरु संग कुरा गरेँ ।
सुरुमा मलाई लक्षण देखिना साथ मलाई कोरोना भयो भन्ने त मलाई थाहा भैहाल्यो, यसलाई जित्न सक्छु भन्ने आत्मबल पनि थियो । तर, केही व्यक्तिहरुले मेयर कोरोना भाइरसले मरौस् भन्ने पनि सामाजिक संजालमा लेखे । यसबाट मेरो परिवारमा मानसिक रुपमा आघात पुग्यो । तर, यसले मलाई कोरोना जित्ने आत्मबल झन बढायो र सामाजिक संजालमा लेख्ने ती व्यक्तिलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु कि मलाई मेरो आत्मबल बढाउने हौसला दिनु भयो ।
यस्तो अवस्थामा पनि मेरो तर्फबाट गर्नुपर्ने नगरपालिका भित्रका कामहरु मैले रोकिन, प्रमुख प्रशासकिय अधिकृत पनि संक्रमण भएकोले फोनबाटै भए पनि निमित्त प्रमुख प्रशासकीय अधिकृत लगायत सबैलाई यसरी काम गर्नोस गराउनोस भनेर निर्देशन दिएँ सोही अनुसार काम पनि भयो । तर पनि मलाई कोरोना लागिसकेपछि नगरपालिका कार्यालय भित्रका अन्य स्टाफहरुलाई पनि कोरोना लाग्ला भन्ने चिन्ता चाहिँ मलाई अति भयो, तर खुसीका साथ भन्नुपर्छ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, शिक्षा शाखा प्रमुख र दुई नगर प्रहरी बाहेक अन्य कर्मचारी, जनप्रतिनिधि र फिल्डमा खटिने अरु कसैलाई पनि यस अवधिमा कोरोना पोजेटिभ देखिएन ।
म निरन्तर फिल्डमा खटिने व्यक्तिलाई त लागे पनि यसरी सुरक्षित रहने, यसरी स्वास्थ्य मापदण्ड पालना गर्ने, होम आइसोलेसनामा यसरी बस्ने, सास फेर्न गाह्रो भए अथवा कडा लक्षण देखिए यसरी अस्पताल जाने भन्ने कुरा सबै मलाई थाहा थियो, सोही अनुसार गरिरहेकै पनि थिएँ ।
आफुमा त दह्रो आत्मबल थियो, तर सबै पारिवारिक सदस्यहरुले कुरो बुझ्दा सजिलो हुन्छ भने नबुझ्दा गाह्रो हुन्छ । यद्यपि परिवारबाट केही मानसिक टर्चर होला कि भन्ने थियो तर सबैले कुरा बुझे, खासै गाह्रो भएन ।
नेपाल सरकारले घोषणा गरेको लकडाउनलाई सफल बनाउन कुनै समय मेयर आफैले ‘म मरे केही छैन, नगरबासीलाई बचाउन सडकमा आए ’ भनेर भनिरहँदा मेयरलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । मेयर श्रेष्ठले जनताको काम गर्दा गर्दै आफुमा कोरोना संक्रमण भएको बताएका छन् ।
नागरिकको हरेक गुनासाहरु सुन्ने क्रममा नगरका गाउँ, टोल बजार देखि प्रदेश र केन्द्रसम्म पनि पुगेको स्वीकार गरेका छन् । उहाँले नगरको सिमित बजेटले मात्रै नगरको विकास हुन नसक्ने भएकोले विभिन्न योजनाहरु लिएर आफु केन्द्र र प्रदेशसम्म पुगेको कुन समयमा कोरोना संक्रमण भए पत्तै पाईन ।
म तपाईंको यस मिडियामार्फत नै सबै नगरबासीलाई भन्न चाहान्छु कि, हामी कसैले पनि यो कोरोनालाई कमजोर रुपमा नठानौं । जसलाई पर्छ, उसलाई मात्र वास्तविकता र पीडा थाहा हुने रहेछ । अझ पछिल्लो समय त मृतकको संख्या पनि बढिरहेको र अस्पतालहरुमा बेड तथा आईसियु र भेन्टिलेरहरु समेत नपाउने अवस्था सिर्जना भएको छ । तसर्थ हामीले समयमा नै यसबाट सावधानी अपनाउन सक्यौं भने हामी बच्न सक्छौं, यदि हामीले लापरवाही गर्यौं भने यसले नै हाम्रो ज्यान लिने खतरा अत्याधिक छ ।
म सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न, भीडमा नजान आग्रह गर्दछु । हिजो हामीलाई नपर्दा जसरी हामीले यसलाई हल्का रुपमा लिएका थियौं, अहिले सबैका घरघरमा संक्रमित बढिरहेको अवस्था छ । यो एउटा भयाङ्कर महामारी हो, यसबाट बच्न हामी आफैंले सुरक्षित हुने हो, किनकि अहिलेसम्म विश्वमा कतै यसको औषधी बनिसकेको छैन । नितान्त रुपमा स्वास्थ्य मापदण्डको पालना गर्दै सामाजिक दुरी कायम गर्न सक्यौं भने हामी यो महामारीबाट बच्न सक्छौँ । (नागरिक बहससँग टेलिफोन वार्तामा आधारित सम्पादित अंश)









