उदयपुर । उदयपुरको कटारी नगरपालिकाका मेयर सहित चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कार्तिक २ गते स्वाब संकलन गरेर विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाएकाहरुमध्ये ४४, ५२, ४१ र ५० वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए ।

संक्रमित हुनेमा कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ (काजी), प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद अर्याल, इलाका प्रशासन कार्यालय कटारीका प्रमुख चन्द्र सिवाकोटी लगायत ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपाल सरकारले घोषणा गरेको लकडाउनलाई सफल बनाउन कुनै समय मेयर आफैले ‘म मरे केही छैन, नगरबासीलाई बचाउन सडकमा आए’  भनेर भनिरहँदा मेयरलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । मेयर श्रेष्ठले जनताको काम गर्दा गर्दै आफुमा कोरोना संक्रमण भएको बताएका छन् ।

नागरिकको हरेक गुनासाहरु सुन्ने क्रममा नगरका गाउँ, टोल बजार देखि प्रदेश र केन्द्रसम्म पनि पुगेको स्वीकार गरेका छन् । उहाँले नगरको सिमित बजेटले मात्रै नगरको विकास हुन नसक्ने भएकोले विभिन्न योजनाहरु लिएर आफु केन्द्र र प्रदेशसम्म पुगेको बताउनु भयो ।

आफु हरबखत जनताकै काममा लागि परेकाले काम विशेष बाहेक नगर बाहिर नगएको स्वीकार गरेका छन् । उहाँले भन्नु भयो, ‘मलाई कुनै लक्षण छैन, कहाँ कसरी संक्रमण भएको आफै अच्चममा छु ।’ मेयरले मेरो सम्पर्कमा रहेका सम्पूर्णलाई १४ दिनसम्म होम क्वारेन्टाइनमा बसिदिन हुन अनुरोध गर्दछु । सबै नगरवासीलाई सतर्क भएर दशैं, तिहार तथा छठ पर्व  लगायत चाडवाड मनाउन आग्रह गर्नु भएको छ ।

यस्तै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत आफु पनि जनताको कामको शिलशिलामा कोरोना संक्रमित हुन पुगेको बताएका छन् । उहाँले भन्नु भयो, ‘म अफिस र कोठा बाहेक अन्य कहि कत्तै गएको छैन् । मलाई केही दिन अगाडी ज्वरो आएपछि म, मेयर र इलाका प्रशासन कार्यालयका प्रमुख सहितले स्वाब दिइएकोमा हामी सवैको रिपोर्ट पोजिटिभ आएको छ ।’ महामारीको समयमा पनि जनतालाइई सेवा सुविधाबाट बन्चित गर्नु हुँदैन भन्ने मान्यता राख्दै सुरक्षाका उपाय अपनाउँदा अपनाउँदै कोरोना संक्रमण हामीमा कोरोनाको संक्रमण सरेको उहाँले बताउनु भयो ।

यस्तै इलाका प्रशासन कार्यालय कटारीका प्रमुख सिवाकोटीले पनि आफु जनताको कामको शिलशिलामा संक्रमित भएको बताए ।

उदयपुरमा हालसम्म कोरोना संक्रमितको संख्या २ सय ४ पुगेको छ ।

तपाईको प्रतिक्रिया