उदयपुर । जिल्लाको लिम्चुङबुङ गाउँपालिकाको अध्यक्ष मेजर कुमार राईको कार्यकक्ष नजिक बम राखेको आरोपमा एक जना नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी पार्टीका कार्यकर्ता पक्राउ परेका छन् । गत माघ १३ गते गाउँपालिका अध्यक्ष राईको कार्यकक्ष नजिक बम राखेको आरोपमा उदयपुरगढी गाउँपालिका २ बर्रेका ४५ वर्षिय गोपाल तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 
राज्य विरुद्धको अपराध र लिम्चुङबुङ गाउँपालिकाको कार्यालयमा बम राखेको अनुसन्धानबाट खुलेको हुनाले विप्लवका कार्यकर्ता तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीरबहादुर बुढामगरले जानकारी दिए । तामाङलाई उनकै घरबाट पक्राउ गरेको एसपी मगरले जानकारी दिए ।
गत माघ १३ गते विहान ९ः३० बजेको समयमा कार्यालय सहयोगीले कार्यालय खोलेपछि कर्मचारीहरु प्रवेश गर्ने क्रममा हाते झोलाभित्र कुकर र तार जडित मोवाईल सहित गाउँपालिका अध्यक्ष प्रवेशद्धारको दायाँपट्टि भुईमा राखिएको अवस्थामा भेटिएको हो । कुकर बम नेपाली सेनाको डिस्पोजल टोलीले त्यसको भोलीपल्ट बिहान करिव ८ः४५ बजेको समयमा डिस्पोज गरेको थियो ।
तामाङले पालिका स्तरका योजनाहरु र जनप्रतिनिधिहरु लगायतसँग चन्दा असुलीमा नाम जोडिएको नाम नबताउने सर्तमा एक जनप्रतिनिधिले जानकारी दिए । उनले भने, ‘हामी लगायत अन्य पालिका तथा वडा कार्यालयमा चन्दाको चिठी थमाएको स्वीकार गरेको छ ।’
यस्तै विभिन्न निजी तथा सामुदायिक विद्यालय तथा शिक्षकसँग पनि नेत्रविक्रम चन्द विप्लव कार्यकर्ताहरुले चन्दा असुली गरेको आरोप लाग्न थालेका छन् ।
चन्दा असुलीको विषयमा जानकारी आएपनि पीडितहरुलाई निवेदन माग गरेको एसपी मगरले बताए । चन्दा असुलीको निवेदन आएमा सोही अनुसार गर्ने र पक्राउ परेका तामाङलाई आजै अदालतमा उपस्थित गराउने एसपी मगरले बताए ।
सम्बन्धित समाचार
उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा भेटिएको कुकर बम सेनाद्वारा डिस्पोज









