सुखिलाल चौधरी । त्रियुगा नगरपालिका ३ भुल्के मस्जिद्मा शंकास्पद विदेशी व्यक्ति आएको बारे स्थानीयहरुले जिल्ला प्रशासन कार्यालय उदयपुरलाई चैत्र १४ गते अर्थात लकडाउनमा नै गराइएको थियो । स्थानीयहरुले पाकिस्तानी जस्तो देखिने १५–१६ जनाको संख्यामा रहेको अपरिचित व्यक्तिहरु मस्जिद्मा रहेको जानकारी गराउँदा पनि सम्बन्धित निकायले चासो दिएनन् ।
लकडाउन भएको चार दिनमै शंकास्पदहरुको चाल चलन बानी बेहोरा बारे जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला अनुसन्धान कार्यालय र त्रियुगा नगरपालिकालाई जानकारी गराउँदा पनि बेवास्ता गरिएको स्थानीयहरुको गुनासो छ ।उनीहरुको ट्राभल्स हिस्ट्री हेर्दा डिसेम्बर १० मा नेपाल प्रवेश गरेको देखिन्छ भने मोरङ, सुनसरीको विभिन्न मस्जिद्हरुमा ३ महिना घुमफिर गरेको देखिन्छ । फागुन ३ देखि ५ गतेसम्म सप्तरीको वोदेबर्साइन नगरपालिका– ५ जाँजरमा भएको नेपाल इज्तिमा सहभागी हुँदै सप्तरीको फत्तेपुरमा फागुन २५ गते, चौदण्डीगढी नगरपालिका ५ सिवाईमा चैत्र २९ गते त्यस त्रियुगा नगरपालिकाको मोथियाही हुँदै भुल्के मस्जिदमा चैत्र ५ गते आई पुगेका थिए ।
नागरिक बहस अनलाइनसँग नाम नबाउने सर्तमा सम्बन्धित निकायमा खबर गर्नेहरुमध्ये भुल्केका एक स्थानीयका अनुसार पाकिस्तानी जस्तो देखिनेहरु मस्जिद्मा रहेकोले अनुगमन गरिदिन जिल्ला प्रशासनलाई पटक पटक जानकारी गराउँदा पनि कान नसुने जस्तो गरेको आरोप लगाएका छन् । उनले भने, ‘जिल्ला प्रशासन कार्यालय भन्यौं सुनेन, जिल्ला प्रहरी कार्यालय भन्यौं एक दिन आएर हेरेर गयो, जिल्ला अनुसन्धान कार्यालयलाई भन्यौं सवै नेपाली हो भन्यो, आज कहाँबाट १२ भारतीय जमादी आयो त ?’
अर्का स्थानीयका राजु ठकुरीका अनुसार मस्जिदमा अनुगमन गर्न जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेका थियौं तर बेवास्ता गरियो । उनले भने, ‘जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई भन्छ प्रहरीले स्थानीय निकायलाई भन्छ र स्थानीय नियकाले वडाध्यक्षलाई भन भन्दै आफु पन्छिने बाहेक अरु केही चासो दिइएन् ।’
यस्तै त्रियुगा नगरपालिका २ का वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार मोथियाहीको मस्जिद्मा पनि सोही जमातीहरु आएर बसेका रहेछन् । यस बारे प्रशासनलाई जानकारी गराउँदा पनि खासै वास्ता नगरेको बताए । उनका अनुसार लकडाउनको समयमा मोथियाहीमा रहेका जमादीहरु भागेर भुल्के पुगेको बताए ।
लकडाउनको समयमा मस्जिद्मा विदेशी आएर गुपचुप बसकाले पटक पटक त्रियुगा नगरपालिका, जिल्ला प्रशासन कार्यालय, प्रहरीलाई सूचना दिएको स्थानीय पत्रकार यदुप्रसाद ढकाल बताउँछन् । ‘प्रशासनले जे भनेपनि कोरोना संक्रमितहरु लकडाउन शुरु भएपछि भुल्के आएका हुन,’ उनले भने, ‘हामीले जिल्ला प्रशासन, प्रहरीलाई पनि पटक पटक खबर गरेका थियौं, शुरुमा बेवास्ता गरे, बिरगंजमा भेटिएपछि खोजी शुरु गरिएको हो ।’
यस अघि नै चैत्र १४ गते नागरिक बहस अनलाइनका पत्रकारले पनि जिल्ला प्रशासन कार्यालय, अनुसन्धान र प्रहरीलाई जानकारी गराइएको थियो । जानकारी गराउँदा सोही दिन दिउँसो जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि सहित वडाध्यक्ष र प्रहरीले अनुगमन गरेको थियो । अनुगमनमा ८ भारतीय र ४ नेपाली रहेको र उहीहरुलाई लकडाउनमा मस्जिद् भन्दा बाहिर ननिस्किन अनुरोध गरेर फर्किएको त्रियुगा नगरपालिका ३ का वडाध्यक्ष अवधेशप्रसाद चौधरीले बताए । ‘चैत्र १४ गते प्रशासन सहितको अनुगमनमा ८ भारतीय र ४ नेपाली मात्रै थिए । वडाध्यक्षले भने, ‘पछिल्लो पटक स्वाब परीक्षण गर्न जाँदा ४ जना थपिएको देखियो ।’
थप पुष्टी गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बिरबहादुर बुढामगरका अनुसार पाकिस्तानी नभएर ८ भारतीय र ४ नेपाली रहेकोमा कुनै लक्षण देखा नपरेको जस्तो देखियो, लकडाउनमा मस्जिद् भित्रै बस्न अनुरोध गरेका थियौ तर, उनीहरु नै कोरोना संक्रमित हो भनेर कल्पना समेत गरेका थिएनौं ।
कोरोना संक्रमितसँगै अन्य मुस्लिमहरु पनि मस्जिद्मा जाने आउने गर्नुको साथै स्थानीय चियापसलमा खुल्ला रुपमा स्थानीयहरु सरह चिया खाने गरेको गरेको त्रियुगा नगरपालिका ३ भुल्केमा चिया पसल संचालन गर्दै आएका गणेश साहले बताए । उनका अनुसार उनीहरु चैत्रको पहिलो हप्तादेखि नै चिया खान आउने जाने गरेको बताए ।
स्थानीय मो.अनिस मियाँका अनुसार उनीहरु उनीहरु भुल्के चैत्र ५ गते आएका थिए । उनीहरु भुल्के बाहेक अन्य कुनै ठाउँ नगएको बताए । उनका अनुसार चैत्र १४ गते जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, प्रहरी र वडाध्यक्ष लगायतका व्यक्तिहरु आएको र उहाँहरुले लकडाउन भरी मस्जिद्मै बस्न आग्रह गरेको बताए । उनका अनुसार १२ भारतीय र चार नेपालीलाई जोगवनीसम्म छोड्नको लागि जिल्ला प्रशासन कार्यालयलाई पास उपलब्ध गराई दिन पटक पटक आग्रह गर्दा पनि कुनै सुनुवाई नगरेको आरोप लगाए ।
धर्म गुरुहरु लुकेर बसेको बारेमा सर्वसाधारणले जानकारी गराएपनि स्थानीय प्रशासनको निगरानीमा रहने मस्जिद्मै छोडिएको जिल्ला प्रशासन कार्यालय उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी भिमप्रसदा भट्टराई स्वीकार गरेका छन् । सप्रजिअका अनुसार डिसेम्बर १० मा नेपाल आएको देखिन्छ, त्यसपछि मोरङ, सुनसरी, सप्तरी हुँदै उदयपुर आएर बसेका रहेछन् । पासको विषयमा कस कसले पास माग्न आयो त्यता खासै ध्यान नगएको सप्रअिअ भट्टराईले बताए ।
यस्तै चैत्र १४ गते नै जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुखलाई भुल्के र मोथियाही मस्जिद्मा बस्नेहरुलाई चेक जाँच गर्न अनुरोध गरिएको त्रियुगा नगरपालिका स्वास्थ्य ईकाई प्रमुख अवधनारायण चौधरीले जानकारी दिए । उनका अनुसार जनस्वास्थ्य अधिकृत सरले लक्षण नदेखिएकोले अहिले नै चेज जाँच नगरिहालौं, सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरौं भनेको बताए ।
यता फागुन ३ देखि ५ गतेसम्म सप्तरीको वोदेबर्साइन नगरपालिका– ५ जाँजरमा भएको नेपाल इज्तिमा कार्यक्रममा उदयपुरबाट सहभागी भएहरुको बारेमा त्रियुगा नगरबासी चिन्तित छन् । उनीहरुका अनुसार कतै सोही कार्यक्रममा फर्केकाहरुबाट हामीमा रोग सर्ने त होइन् । अहिले भुल्के, सोनुवा, मिलनचौक, मोथियाही लगायतका गाउँ नै सशंकित भएका छन् ।
एक सुरक्षाकर्मीका अनुसार बोदेबर्साइनमा भएको कार्यक्रममा उदयपुरबाट पाँच सयको हाराहरीमा सहभागी भएको अनुमान गर्न सकिन्छ । उनका अनुसार सार्वजनिक यातायातमार्फत त्रियुगा नगरपालिकाकै पाँच सयको हाराहरीमा त्यस कार्यक्रममा सहभागी भएको अनुमान गर्न सकिन्छ । उनीहरु गाईघाट, देउरी, जलजले, भुल्के, मोथियाही लगायत त्रियुगा नगरपालिका भित्रका मस्जिदबाट गएका थिए ।
यसरी आएका सबै जनालाई कोरोना पोजिटिभ देखिएपछि उनीहरुले नेपाल प्रबेश गर्दा कुन कुन यातायातका साधान प्रयोग गरे सो यातायातका साधानबाट क कसलाई कोरोना लाग्यो त्यो खोज्नु पर्नेमा जोड दिए ।
त्रियुगा नगरपालिका ३ भुल्के मस्जिदमा रहेका ११ भारतीय र एक नेपालीमा कोरोना संक्रमित देखिएको छ । उनीहरुलाई उपचारको लागि विराटनगर स्थित कोरोना विषेश अस्पतालको आइसोलेशनमा लगिएको छ । कोरोना पोजेटिभ देखिएका ११ भारतीय सहित १६ जनालाई उपचारको लागि कोरोना अस्पताल विराटनगर लगिएको हो ।
सम्बन्धित सामाचारहरु

उदयपुरको मस्जिदमा अनुगमन, १२ भारतीय फेला

उदयपुरका मस्जिदमा रहेका १२ जनामा कोरोना संक्रमणको आशंका, टेकुमा थप परीक्षण हुँदै

उदयपुरको भुल्के मस्जिदमा रहेका १२ जनामा कोरोना संक्रमण भएको पुष्टी

मस्जिद्का १६ जनालाई कोरोना अस्पताल विराटनगर लगियो, सिवाईको मस्जिद् पनि पुगेका थिए

तपाईको प्रतिक्रिया