उदयपुर । त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा १२ जना भारतीय लुकेर बसेको पाइएको छ । चोरबाटो हुँदै लकडाउनअघि नै आएको दाबी गरे पनि स्थानीय भने लकडाउनपछि आएको बताउँदै आएका छन् । उक्त मस्जिदमा उनीहरूसँगै विराटनगर जोगवनीका चार नेपालीसमेत छन् ।
दुई दिनअघि वीरगन्जको मस्जिदमा लुकेर बसेका तीन जना मुस्लिम धर्मगुरुमा कोरोना संक्रमण देखिएपछि यहाँ पनि अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भिमप्रसाद भट्टराईले बताए । १२ भारतीयको परिचयपत्र रहेको र अन्य ४ जना नेपाली रहेको पाइएको छ । उनीहरूले मस्जिदमा सामाजिक दूरी कायम गरेको बताए पनि स्थानीयले घुलमिल गरिरहेको दाबी गरेका छन् ।
स्थानीयले नै मस्जिदमा विदेशी आएर गुपचुप बसेको भन्दै त्रियुगा नगरपालिका, जिल्ला प्रशासन कार्यालय, प्रहरीलाई सूचना दिएका थिए । तर, कसैले हाम्रो गुनासो नसुनेको एक स्थानीयले बताए ।
स्थानीयहरुले त्यस मस्जिदमा अनुगमन गर्न पटक पटक जानकारी गराउँदा पनि प्रशासन मौन रहेका थिए । एक स्थानीले भने, ‘हप्ता दिन अघि नै त्यस मस्जिदमा अनुगमन गर्न आग्रह गरेपनि जिल्ला प्रशासन कार्यालयलाई भन भन्छ, जिल्ला प्रशासनले प्रहरीलाई भन्छ प्रहरीले स्थानीय निकायलाई भन्छ र स्थानीय नियकाले वडाध्यक्षलाई भन भन्दै चासो दिइएको थिएन ।’ एक स्थानीयका अनुसार भुल्के निवासी मनिर मियाँ भारतको राजधानी दिल्लीस्थित निजामुद्दिन मरकज मस्जिदमा भएको धार्मिकसभामा गएको आशंका गरेपनि त्यसबारे प्रशासनलाई जानकारी गराउँदा पनि प्रशासनले खासै चासो नदिइएको बताए ।
ती सोह्रै जनाको स्वाब परीक्षण गर्न टोली परिचालन गरिएको सप्रजिअ भट्टराईले बताए । प्रशासनका अनुसार १२ भारतीय दिल्लीबाट विराटनगरबाट सप्तरी हुँदै त्यहाँ आएको जनाएका छन् । उनीहरू सप्तरीको वोदेबर्साइन नगरपालिका– ५ जाँजरमा फागुन ३–५ गते भएको नेपाल इज्तिमा सहभागी हुँदै उदयपुर आएको जनाएको छ । उदयपुरका एक सुरक्षाकर्मीका अनुसार गाईघाट, देउरी, जलजले, भुल्के लगायतको मस्जिदबाट करिव करिव पाँच सयको हाराहरीमा सप्तरीको बोदेबर्साइनमा भएको इज्तिमा सहभागी भएका थिए ।
स्वाब संकलनसँगै तिनीहरूको ‘ट्राभल हिस्ट्री’ पनि खोजिने सप्रजिअ भट्टराईले बताए । उनका अनुसार १६ जनालाई मस्जिदमै सुरक्षा निकायको निगरानीमा राखिएको छ । गाईघाट, देउरी र जलजलेमा रहेका मस्जिदमा पनि अनुगमन गरिँदै छ ।
यस्तै धेरैलाई कोरोना भाइरसको संक्रमण फैलिएको अनुमान गरिएको भारतको राजधानी दिल्लीस्थित बंगलेवाली मस्जिदका नामले चिनिने निजामुद्दिन मरकज मस्जिदमा भएको धार्मिकसभामा केही नेपालीहरु मध्ये उदयपुरको पाँच जना मध्ये चार जना क्वारेन्टाइनमा छन भने एक जना अझै फेला परेको छैन् ।









