उदयपुर – नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग दुई महिनापछि पुनः संचालनमा आएको छ । बुधबार विहान ७ः५५ बजेको साइतमा क्लिङकर उत्पादनको लागि उद्योग फायरिङ भएको हो ।
गत वर्ष चैत्र २९ गते न्यू आयन सप्लायर्स भैरहवाले सुनसरीको इटहरीबाट दुई ट्रक गरी ४२ टन कोइलामा भुस मिसिएर आएपछि सोही समयदेखि उद्योग बन्द रहेको थियो । महाप्रबन्धक गोपीकृष्ण न्यौपानले राजिनामा दिएपछि बन्द उद्योग बुधबारबाट पुनः संचालनमा आएको उदयपुर सिमेन्ट उद्योगका अध्यक्ष केशव कुमार बस्नेतले जनाएको छ । मंगलबार विधि पूर्वक पुजाआजा गरि बुधबार विहान ७ः५५ बजेको शुभ साइतमा उद्योग संचालनमा ल्याएको अध्यक्ष बस्नेतले जनाएको छ ।
उनका अनुसार यस अघि नै पटक पटक उद्योग संचालन गर्नको लागि पहल गरिएपनि महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले रोक्दा उद्योग संचालनमा समय लागेकोले करोडौं दायित्व बढेको अध्यक्ष बस्नेतले जनाएको छ । “निजी सिमेन्ट उद्योगलाई बढ्वा दिन र बजारबाट उदयपुर सिमेन्टको गैडा छाप सिमेन्ट हटाउने उद्देश्यले महाप्रबन्धक न्यौपानले जानीजानी फायरिङ रोकेको रहेछ ।”, अध्यक्ष बस्नेतले भने, “एक त गुणस्तरहिन कोइला आपूर्ति गर्ने र आफु नभए उद्योग चल्दैन भन्दै उद्योगमा फायरिङ गर्न रोकेको रहेछ बल्ल थाह पाइयो ।”
यस अघि उद्योगमा के भयो सवैलाई जग जाहेर नै छ तर उदयपुर सिमेन्ट उद्योगको गैडा छाप ब्राण्डमा अव पहिलेको जस्तो कमिकमजोरी नदोहोरिने अध्यक्ष बस्नेतले बताए । कोइला, जिप्सन, आइरन ओर लगायतको आपूर्ति गर्ने सामग्रीको मापदण्ड चेकजाँचमा कुनै कसर बाँकी नराख्ने र गुणस्तरयुक्त सिमेन्ट उत्पादन गर्ने अध्यक्ष बस्नेतले जनाएको छ । अवको दिनमा उदयपुरको गैडा छाप सिमेन्टको गुणस्तरमा कुनै कमी आउन दिनेछैनौ, उद्योगको गुमेको साख फर्काउने अध्यक्ष बस्नेतले बताउनुभयो ।
तत्कालिन महाप्रबन्धक न्यौपानेले जाँदाजाँदै रिजेक्ट कोइलाको पनि भुक्तानी गरेको खुलेको छ । तत्कालिन महाप्रबन्धक न्यौपाने परिवारको समेत शेयर रहेको बेसलाइन होल्डिग्स प्रा.लि.ले गुणस्तरहिन कोइला आपूर्ति गरे पनि सो कम्पनीलाई ७० लाख भुक्तानी गरेको आर्थिक प्रशासन शाखाले जनाएको छ । कोइलामा कहिले भुस मिसिएको कहिले, माटो मिसिएको लगायत गुणस्तरहिन कोइला आपूर्ति गरेको गुनासोहरुको आधारमा नेपाल गुण नियन्त्रण विभाग काठमाडौबाट चेकजाँच गर्दा बेललाइन होल्डिङ्गस प्रा.लि.ले आपूर्ति गरेको करिव ४४९ मेट्रिक टन कोइला गुणस्तरहिन भएको प्रमाणित गरेको थियो ।

कोइला आपूर्तिक कर्ता बेसलाइन होल्डिङ्गस प्रालिले सम्झौतामा काइलाको मोइश्चर कन्टेन्ट बढीमा ५ प्रतिशत, आश कन्टेन्ट बढीमा २३ प्रतिशत, भोलाटाइल म्याटर २८ देखि ३७ प्रतिशतसम्म, सल्फर कन्टेन्ट बढीमा १ प्रतिशत, ग्रोस क्यारोफिक भ्यालु (जिसिभी) घटीमा ५७०० प्रतिकेजी हुनु पर्ने सम्झौता भएको छ । तर कोइला परीक्षणमा पास नभएपछि उद्योगले फिर्ता गरेको थियो ।
सो गुणस्तरहिन कोइला उद्योग प्रशासनले फिर्ता गरेपनि सो कोइलाबापत जेष्ठ १५ गते ३० लाख र जेष्ठ १६ गते ४० लाख गरी ७० लाख भुक्तानी गरेको आर्थिक प्रशासन शाखाले जनाएको छ ।
उद्योगको गेटपासमा ८ ट्रक रिजेक्ट कोइलालाई फिर्ता गरेपनि सो कोइला आपूर्ति गर्ने बेसलाइन होल्डिङ्गस कम्पनीले फिर्ता लिएर गएको रिजेक्ट कोइला पुनः फर्काएर ल्याउन खोज्दा ना.७ ख ९०२१ नम्बरको ट्रक समातिएका थिए । जेष्ठ १५ गते रिजेक्ट कोइला बोकेको ना.७ ख ९०२१ नम्बरको ट्रकले उद्योगको गेट पासबाट बाहिरिएर चुहाडेमा बासबसेर त्यसको भोलि पल्ट (जेष्ठ १६ गते) सोही ट्रक पुनः फर्काएर ल्याएका थिए ।

गुणस्तरहिन कोइला भएपछि उद्योगले रिजेक्ट गरेका थिए तर महाप्रबन्धक तथा विभागको दवावमा रिजेक्ट कोइला प्रयोगको लागि ल्याएर खन्याउन खोज्दा सो ट्रक समातिएका थिए । रिजेक्ट कोइला भएको ट्रक पुनः फिर्ता लिएर आएपछि समातिएपछि उद्योगको गेटपासले २०८०÷२÷१६ गते उद्योगले रिजेक्ट फिर्ता पठाएकोमा सो फिर्ता सम्बन्धित स्थानमा नपुगी उद्योग भित्र आएकोले पुनः फिर्ता गरिएको भनेर गेटपास दिइएको पाइएको छ । रिजेक्ट कोइला पुनः ल्याएपछि उदयपुर सिमेन्ट उद्योग बचाऔं अभियानकर्ताहरुले ट्रक पक्राउ गरि जलजले प्रहरी चौकीमा बुझाएका थिए । जलजले प्रहरी चौकीले कोइला सहितको एक ट्रक यस कार्यालयमा ल्याएर राखिएको स्वीकार गरे पनि दुई दिनपछि सो ट्रकलाई छोडेका थिए ।
सम्बन्धित थप समाचारहरु
- उदयपुर सिमेन्टका महाप्रबन्धकद्वारा राजीनामा, जाँदाजाँदै रिजेक्ट कोइला आपूर्ति कम्पनीलाई ७० लाख भुक्तानी
- एक करोड ५० लाख जम्मा गरेपछि उदयपुर सिमेन्ट उद्योगको विद्युत लाइन सुचारु
- उदयपुर सिमेन्ट उद्योगको विद्युत लाइन काटियो
- उदयपुर सिमेन्ट उद्योगमा घाटाको दायित्व बढ्दै तर प्रतिवेदनमा नाफा आयो
- उदयपुर सिमेन्ट उद्योगका ट्रेड युनियनहरुको दवावपछि उद्योग मन्त्री रिजाल उद्योगको अनुगमन गर्दै, नेतृत्वको लापरबाहीले उत्पादन ठप्प
- महाप्रबन्धक न्यौपानेको असक्षमता : खरानी मिसिएको कोइला ल्याउँदा उद्योग पुनः बन्द
- उदयपुर सिमेन्ट उद्योग पाँच दिन नचल्दै पुनः बन्द
- उदयपुर सिमेन्ट उद्योग लामो समयदेखि बन्द, तत्काल सञ्चालन गर्न माग गर्दै उद्योगमन्त्रीलाई ध्यानाकर्षणपत्र
- कोइला अभावमा १६ दिनदेखि उदयपुर सिमेन्ट उद्योग बन्द, ट्रेड युनियनहरु आन्दोलित
- पुनः कोइला अभावमा उदयपुर सिमेन्ट उद्योग बन्द
- उदयपुर सिमेन्ट उद्योगमा कोइला नहुँदा बन्द, दशैंमा कर्मचारीको विचल्ली