उदयपुर – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगको अनुगमन गर्ने भएको छ । वर्षौदेखि घाटामा गएर टाँट पल्टने अवस्थामा पुगेको उद्योगको मन्त्री रिजालले विहिबार (आज) अनुगमन गर्ने कार्यक्रम रहेको छ ।कोइला अभावको बहानामा अधिकांश समय बन्द रहेको सिमेन्ट उद्योग धराशायी अवस्थामा छ । महिनामा बल्लतल्ल साता दिन सञ्चालन भइरहेको सिमेन्ट उद्योग चैत्र अन्तिम सातादेखि फेरि बन्द भएको छ । क्लिङ्कर नहुँदा अहिले सिमेन्ट प्याकिङ्ग पनि बन्द भएको छ ।

लगातार बन्द भएपछि उद्योगभित्रका चार युनियन (समग्र उद्योग ट्रेड युनियन नेपाल, नेपाल कारखाना श्रमिक संघ, अखिल नेपाल औद्योगिक मजदुर संघ र नेपाल औद्योगिक मजदुर संगठन) ले साझा धारणा सहित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई समेत ध्यानाकर्षण पत्र बुझाएपछि उद्योग मन्त्री रिजाल उदयपुर सिमेन्ट उद्योगको अनुगमनमा आउने भएको एक मजदुर नेताले जनाएको छ ।

उद्योगमा कार्यरत चारवटै ट्रेड युनियनहरुले साझा धारणा सहित विरोधमा उत्रिएपछि उद्योग मन्त्री रिजाल सिमेन्ट उद्योगको अनुगमनमा आउन लागेको हो ।

‘कोइला किन व्यवस्थापन भइरहेको छैन ? उद्योगलाई कहिलेसम्म बन्द राख्ने ? यसको जिम्मेवार को ? सरोकारवाला मन्त्रालयदेखि उद्योग सञ्चालक समिति मौन बसेका छन्,’ चारै वटा क्रियाशील युनियनका अध्यक्षले व्यवस्थापनलाई बुझाएको साझा धारणापत्रमा भनिएको छ, ‘आर्थिक सहयोग जुटाउने बहानामा महिनौं अनुपस्थित रहने महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले आफ्ना काम कर्तव्यप्रति उदासीन भए ।’

उद्योगलाई विधि र पद्धतिअनुसार नभई निजी तथा मनोमानी ढंगले चलाउँदा उद्योग बन्द हुने अवस्थामा पुगेको संगठनका नेताहरु बताउँछन् । कवाडी सामान लिलामी प्रक्रियामा ठूलो अनियमितता भए पनि दोषीलाई कारबाही नगरी संरक्षण गरेको, छानबिन कमिटीले दिएको प्रतिवेदन सार्वजनिक नगरेको संगठनहरूको आरोप छ । उद्योगभित्रका कमीकमजोरी उजागर गर्ने मजदुरलाई डरत्रास देखाएर पूर्वाग्रही रूपमा सरुवा गरिएको ज्ञापनपत्रमा छ । उद्योग धराशायी बनिरहँदा अर्कोतर्फ मासिक लाखौं रुपैयाँ तलब दिएर आफूखुसी कर्मचारी भर्ना गरिएको संगठनको दाबी छ ।

‘क्रसरबाट दुई टनभन्दा बढी स्क्य्राब फलाम चोरी भएको छ । तर आजसम्म पत्ता लगेको छैन । सवारीसाधनको पनि व्यापक दुरुपयोग भएको छ,’ साझा धारणामा भनिएको छ, ‘पछिल्लो समय एलसीबाट आएको कोइला जाँच पास नगरी प्रयोग गरियो । खरानी र भुस मिसाइएको कोइला कसको निर्देशनमा भित्रियो ?’ उदयपुर सिमेन्टकै अवस्थालाई दृष्टिगत गरी नेपाल कारखाना श्रमिक संघले पनि वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई पनि ज्ञापन बुझाएको छ । व्यवस्थापकीय हेलचेक्य्राइँका कारण कमसल कच्चा पदार्थहरूको उपयोग भएको संघका अध्यक्ष अमृतलाल जोशीले बताए । ‘व्यवस्थापनबाट आस्थाका आधारमा श्रमिकप्रति दुव्र्यवहार हुनु लगायत विकृतिले उद्योग रुग्ण बन्दै छन् । अतः सरकारको स्वामित्वमा रहेका प्रतिष्ठानहरूको कुशल सञ्चालनका लागि पनि ध्यानाकर्षण गराउन चाहन्छौं,’ ध्यानकर्षण पत्रमा भनिएको छ । सरकारी स्वामित्वको उदयपुर सिमेन्ट पटकपटक बन्द भइरहँदा निजीले भने उल्लेख्य रूपमा निर्यात गर्दै आएका छन् ।

उद्योगको मासिक उत्पादन क्षमता २४ हजार टन हो । यसअनुसार दैनिक हिसाबमा उत्पादन क्षमता ८ सय टन हुन आउँछ । तर उद्योग अधिकांश समय बन्द छ । ‘उद्योग अस्तव्यस्त भएको छ, उद्योगका सामान चोरी भएको ३ महिना बित्यो, तर दोषी अझै पत्ता लागेका छैनन् ।

कोइला पनि जाँच नगरी प्रयोग गरिएको छ,’ नेपाल औद्योगिक मजदुर संगठनका अध्यक्ष महावीर चौधरीले भने, ‘परीक्षण नगरी प्रयोग हुँदा गुणस्तरकै चिन्ता हुन्छ । कोइला अभावको बहानामा उद्योगलाई भद्रगोल बनाइएको छ ।’

उद्योग धराशायी बनिरहँदा महाप्रबन्धक न्यौपाने भने काठमाडौंमै बस्ने गरेका छन । एक वर्षमा करिव तीन महिना पनि उद्योगमा उपस्थित नभएको ट्रेड युनियनका नेताहरुको भनाई रहेको छ । चैतमा ३ दिन मात्र कार्यालय पुगेका उनी वैशाखमा एक दिन पनि नपुगेको मजदुर संगठनहरूको भनाइ छ । ‘उद्योग पूरै घाटामा भएर कर्मचारी र कोइला सप्लायर्सलाई दिन पर्ने दायित्व मात्रै ८० करोड रुपैयाँ बाँकी छ ।

महाप्रबन्धक भने पैसा जोहो गर्ने भन्दै काठमाडौंमै बसेका छन्,’ अखिल नेपाल औद्योगिक मजदुर संघका अध्यक्ष विशेश्वर पाल बताए । उनका अनुसार ६ करोडको कवाडी समान बिक्री भए पनि रकम गोलमाल पारिएको आरोप लगाए । ‘उद्योग बन्द छ, सञ्चालनका लागि ध्यान दिइएको छैन । भुससहितको कोइला आएको छ, यो एकदमै गम्भीर लापरबाही हो,’ उनले भने, ‘प्रधानमन्त्री र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीलाई ज्ञापन बुझाएका छौं, अब केही उपाय सुझ्ला कि ।’

सिमेन्टका महाप्रबन्धक न्यौपानेले भने कोइलाका कारण उदयपुर सिमेन्ट मात्रै नभई निजी उद्योग पनि समस्यामा रहेको दाबी गरे । पछिल्लो समय निर्माणको काम नभएकाले सिमेन्टको माग नभएको उनको भनाइ छ । ‘सिमेन्ट बिक्री गरिरहेकै छौं, क्लिंकर उत्पादन गरेर मात्रै पनि भएन । माग घटेको छ । अहिले पैसा र कोइला अभाव छ,’ उनले भने, ‘थोरै समय चलाएर थोरै नोक्सानी गर्न खोजेका हौं । उद्योगमा केही समस्या छन्, तिनको समाधान गर्न म लागिपरेको छु ।’

सिमेन्ट उद्योगमा लगानी बढाएर उत्पादन वृद्धि गर्ने प्रयास भइरहेको न्यौपानेको भनाइ छ । ‘सबै मेसिन पुराना छन्, लगानी नबढाएसम्म उद्योगबाट पर्याप्त उत्पादन गर्न सकिन्न । सरकारसँग ५६ करोड रुपैयाँ मागेका थियौं, तर ४० करोड रुपैयाँ दिने आश्वासन दिइएको छ,’ उनले भने, ‘मेसिन अपग्रेड नभएसम्म उद्योग चल्न सक्दैन ।’

तपाईको प्रतिक्रिया