उदयपुर । पछिल्लो समय बिभिन्न भ्रष्टाचार तथा अनियमितताका घटनामा देशकै ठूला दलहरुको नेतृत्व जोडिन थालेको घटनाप्रति कोशी प्रदेशका सभामुख अमबहादुर विष्टले चिन्ता व्यक्त गरेका छन् । साना ठूला अनियमितता र भ्रष्टाचारका घटनामा कुनै न कुनै रुपमा राजनीतिक नेतृृत्व मुछिन थालेको भन्दै सभामुख विष्टले यो देश विकासका लागि घातक हुने बताएका हुन् ।
जिल्ला उधोग बाणिज्य संघ उदयपुरको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो जिल्ला अधिबेशनको उद्घाटन गर्न शनिबार गाईघाट आई पुगेका सभामुख विष्टले नैतिकवान राजनीतिज्ञको अभाव औल्याएका थिए । आयात र निर्यातमा भिन्नताले देशभित्रको उत्पादन निरुत्साहित हुने खतरा बढेको विष्टले बताए । स्थानीय उत्पादन बाहिर निर्यात गर्न नसकीरहेकोे अबस्थामा आयात मात्र एकोहोरो उच्च बिन्दुमा देखिनु मुलुकका लागि अर्थतन्त्र धरासयी हुनु जस्तै भएको प्रस्ट पारेका थिए ।
आर्थिक अबस्था दयनीय बन्दै गएको बताउदै उनले भूकम्पपछि कोरोनाको कारण खस्किएको ब्यापार व्यवसाय र अर्थतन्त्रमा गम्भीर असर पुग्ने गरी केही बैंक तथा बित्तिय संस्थाहरुले सर्वसाधरण जनताको ढाँड सेक्ने गरी चर्को व्याजदरले झनै आर्थिक पाटो तहसनहस बनाएको उनको आरोप छ । सभामुख बिष्टले भने,’देशले अब धेरै कुरामा परनिर्भर हुँदै गएको छ । उत्पादन र रोजगारीका लागि पर्याप्त ध्यान गएको छैन । अत्यावश्यक उपभोग्य बस्तु पनि आयात गर्नु पर्ने अवस्था छ । यसले जनआक्रोस बढाउन भूमिका खेलेको छ, अब सचेत हुन आवश्यक छ ।’
यस्तै सभामुख विष्टले आगामी आर्थिक वर्षको लागि जिल्ला उद्योग वाणिज्य संघको भवनको लागि पहल गर्न अनुरोध गरेका थिए । सभामुख विष्टले प्रक्रिया पुर्याएर ल्याएरमा आफुले संघको भवनको लागि बजेट समेत विनियोजन गर्ने आश्वासन दिनु भएको छ ।
ब्रम्हकुमारी राजयोग केन्द्र उदयपुरको सभाहलमा आयोजित अधिवेशनपछिको बन्दसत्रले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।









