आब २०७८/७९ मा ४ करोड ९२ लाख नाफा : महाप्रबन्धक न्यौपांनें, सोही आवमा ९० करोड ५० लाख बढी तिर्नु पर्ने दायित्व छ : युनियनका अध्यक्षहरु


उदयपुर – सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगले आर्थिक बर्ष २०७८/७९ मा करिव ५ करोड आम्दानी गरेको छ । उदयपुर सिमेन्ट उद्योग लिमिटेडको शुक्रबार सम्पन्न ३५ औं बार्षिक साधारण सभामा प्रस्तुत बार्षिक प्रतिवेदनमा ४ करोड ९२ लाख ५६ हजार रकम नाफा आर्जन गरेको जनाएको छ ।

आब ०७८/७९ मा २१ लाख ७२ हजार बोरा सिमेन्ट उत्पादन गरी १ अर्व ६१ करोड आय गरेकोमा ४ करोड ९२ लाख ५६ हजार नाफा आर्जन गर्न सफल भएको उद्योगका महाप्रबन्धक न्यौपानेले जानकारी दिए । उनका अनुसार संचित नाफा ५८ करोड १४ लाख पुगेको जनाएको छ ।

नेपाल वित्तिय प्रतिवेदन मानक (Nepal Financial Reporting Standards) ले तयार गरिएको प्रतिवेदनले स्थिर सम्पत्तिको पुर्नमूल्याङ्कन गरिएको कारण इक्वीटीमा परिवर्तन आई विगत वर्षको संचित नोक्सानीहरु नाफामा परिवर्तन भएकोले नाफा भएको महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले जनाएको छ ।

साधारण सभाको अघिल्लो दिन उद्योगमा क्रियाशिल चार ट्रेड युनियनहरु नेपाल कारखाना श्रमिक संघ, नेपाल मजदुर संगठन, नेपाल औद्योगिक मजदुर संघले उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजाललाई ज्ञापन पत्र बुझाउँदै आर्थिक वर्ष २०७८/०७९ र २०७९/०८० को उद्योगको तिर्न पर्ने दायित्व मात्रै १ अर्व ९ करोड १९ लाख ४६ हजार ५४ रुपैया रहेको जनाएको छ ।

उद्योगले आब ०७८/७९ मा विद्युत महसुल ३६ करोड, कोइला ४० करोड र अवकाश प्राप्त कर्मचारीहरुको उपदान वापत १४ करोड ५० लाख गरी ९० करोड ५० लाख गत आर्थिक वर्षको तिर्नु पर्ने बक्यौता तथा दायित्वलाई महाप्रबन्धकले कहिकतै हिसाव नदेखाएको जनाएको आरोप लगाएका छन् । विद्युत महसुलको जरिवाना र डेडिकेटेड फिडरबाट २१ लाख बढी रकम नेपाल विद्युत प्राधिकरणले मिनाहा गरेपनि अझै ३६ करोड पुरानो बक्यौता तिर्न बाँकी रहेको अखिल नेपाल औद्योगिक मजदुर संघका अध्यक्ष विशेश्वर पालले जनाएको छ । आ.ब. २०७८ असोजसम्म अवकाश कर्मचारीको उपदान वापत १५ करोड भुक्तानी गरेको महाप्रबन्धकको प्रतिवदेनमा उल्लेख भएपनि त्यसपछि अवकाश भएका कर्मचारीहरुको १४ करोड ४० लाख र कोइलाको ४० करोड सोही आर्थिक वर्षका दायित्व भुक्तानी गर्न बाँकी रहेको अखिल नेपाल औद्योगिक मजदुर संघका अध्यक्ष विशेश्वर पालले जनाएको छ ।

यस्तै चालु आबमा कोइला र स्पेयर पार्टसको ११ करोड ५९ लाख, सरकारी अन्त शुल्क र रोयल्टी १ करोड बढी, सरकारलाई बुझाउनु पर्ने भ्याट १ करोड १५ लाख, कर्मचारी नागरिक लगानी कोष १ करोड ४९ लाख, कर्मचारीको संचय कोष २ करोड १२ लाख, कर्मचारीको विदा मुआब्जा र सामाजिक सुरक्षा कोष ५७ लाख, कर्मचारीको टिडिएस र सामान सप्लायर्स टिडिएस ७४ लाख गरी १९ करोड १९ लाख बढी भुक्तानी गर्न बाँकी रहेको नेपाल औद्योगिक मजदुर संगठनका अध्यक्ष महावीर चौधरीले जानकारी दिए ।

नेपाल सरकारले जापान सरकारबाट अनुदान सहयोग प्राप्त गरेको मध्ये ऋण स्वरुप उद्योगलाई दायित्व सिर्जना गरिएको साबाँ र ब्याज ६ अर्ब २३ करोड ४२ लाख मध्ये सरकारलाई विभिन्न सयममा भुक्तान गरेको साबाँ र ब्याज बाहेक पनि १ अरब ७२ करोड ५० लाख साबाँ र १ अरब ३४ करोड ३६ लाख व्याज गरी ३ अर्व ६ करोड ८६ लाख दायित्व बाँकी देखिएकोलाई शेयरमा परिणत गरि फरफारक गरिदिन पटक पटकको साधारण सभाले अर्थमन्त्रालयलाई अनुरोध गरेपनि अहिलेसम्म उक्त ऋण फरफारक नभएकोले अहिले पनि उक्त रकमलाई ऋण नै मान्नु पर्ने नेपाल औद्योगिक मजदुर संगठनका अध्यक्ष महावीर चौधरीले जानकारी दिए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको प्रमुख आतिथ्यतामा सञ्चालक समितिले आफ्नै अर्कमण्ड्यताका कारण लामो समयदेखि बन्द रहेको उदयपुर सिमेन्ट उद्योगको ३५ औ साधारणसभा प्रहरीको सुरक्षा घेरा भित्र सम्पन्न गरेको थियो । तर उद्योगका चार वटै कर्मचारी संगठन विरोधमा उत्रिँदै बहिष्कार गरेपछि सो साधारणसभा सञ्चालक समितिले खुला रुपमा गर्न नसकी प्रहरीको सुरक्षा घेरा भित्र बन्द हलमा गर्न बाध्य भएको कर्मचारी नेताहरूले जानकारी दिएका छन् ।

६ महिनादेखि उद्योग स्थलमा हाजिर नभएका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले घाटामा रहेको उद्योगका तथ्याङ्कलाई गोलमटोल पारी नाफामा रहेको प्रतिवेदन प्रस्तुत गरेको आरोप कर्मचारीहरूले लगाएका छन् । सरासर झुटा विवरणहरू देखाएर महाप्रबन्धक न्यौपानेले उद्योगलाई नाफामा देखाएको दावी कर्मचारीहरूले गरेका छन् । साधारणसभामा जीएम बिरुद्ध चर्को नाराबाजी गर्दै सम्पूर्ण कर्मचारीहरूले बहिष्कार गरेका थिए ।

बेथिति मौलाएका कारण उद्योग चल्न नसकेको करोडौ घाटा रहेको अवस्थामा ५ करोड नाफा भन्ने गलत प्रचार गरेर सस्तो लोकप्रीयता कमाउन खोजेको मजदुर संगठनहरुको आरोप छ । मजदुर, कर्मचारी र सरकारको आँखामा छारो हाल्न उद्योगको जग्गालाई देखाएर नाफा देखाएकोमा मजदुर नेताहरुले आपत्ती जनाएका छन् । उद्योगलाई नाफाको गलत प्रचार गर्दै भित्रभित्रै खोक्रो बनाउने र धरासायी बनाएर सिध्याउन खोजेको आरोप छ ।

विविध बहाना बनाएर काठमाडौं बसेर उद्योग चलाउने गरेका महाप्रवन्धक न्यौपाने महिनामा तीन÷चार दिनमात्र उद्योगमा हाजिर हुने गरेका महाप्रवन्धक न्यौपाने सामाजिक सञ्जाल र मिडियाहरुमा सस्तो लोकप्रीयता कमाउन आफ्नो प्रचार–प्रसारमा बढि रमाउने गरेका छन् । मञ्त्रालयमा पैसा माग्न गएको, कार्यक्रम माग्न गएको भनेर ढाट्दै कोइला, मर्मत सामग्री, ठेक्का प्रक्रिया, खरिद प्रक्रियामा नितिगत भ्रष्टाचार गरेको, ल्याब रिर्पोट गलत बनाएर सिमेन्ट उत्पादन गुणस्तर बनाउने गरी भित्रभित्रै उद्योगलाई ध्वस्त बनाई ब्यक्तिगत स्वार्थपूर्ती गर्ने र उद्योगलाई नीजिकरण गराउन खोजेको आरोप छ ।

उनले गत आर्थिक बर्षमा विक्री भएको सिमेन्ट र कवाडी सामानमासमेत घोटला गरेको भन्दै चर्को विरोध हुँदै आएको छ । महाप्रवन्धक न्यौपानेले गरेको बेथितिको छानविन समेतको माग गरेका छन् ।

तपाईको प्रतिक्रिया