उदयपुर – आन्तरिक भ्रष्टाचारले थलिएको उदयपुर सिमेन्ट उद्योगले लामो समय विद्युत महशुल नतिरेपछि काटिएको बिजुली शुक्रबार राति १० बजेबाट जडान भएको छ । गत जेष्ठ ३१ गतेबाट उद्योगको विद्युत लाइन काटिएकोमा उद्योगले १ करोड ५० लाख विद्युत महशुल भुक्तानी गरेपछि उद्योगको फिडरमा बिजुली सुचारु भएको हो ।

उद्योगमा विद्युत जडान गर्न उद्योग मन्त्रीले नै हस्तक्षेप गर्नु परेको थियो । तालुक मन्त्रालयले एक पत्र लेखेपछि उर्जा मन्त्रालयले नै नेपाल विद्युत प्राधिकरणलाई पत्र काटेर अनुरोध गर्नु परेको थियो । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको आग्रहमा उर्जा मन्त्रालयले प्राधिकरणसँग उद्योगको बत्ति सुचारु गरिदिन आग्रह गरेपछि अहिले उद्योगमा बत्ति सुचारु भएको छ ।

नेपाल विद्युत प्राधिकरण गाईघाट शाखा प्रमुख विजयबाबु खत्रीका अनुसार विद्युत लाइन काटेपछि विद्युत नियमावली अनुसार बक्यौताको २५ प्रतिशत रकम भुक्तानी गर्नु पर्ने तर तत्काललाई एक करोड ५० लाख रकम बुझाएको विद्युत जडान गरिएको बताए । उनका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय विचको सम्झदारी बमोजिम विद्युत जडान तत्काललाई विद्युत लाइन जडान गरिएको छ ।

विद्युत महशुलको बाँकी बक्यौता ६ महिना भित्र पाँच किस्तामा बुझाउने सर्तलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सो पत्र सदर गरेर यहाँ पठाएपछि उद्योगमा विद्युत सुचारु गरिएको खत्रीले बताए । कार्यालय प्रमुख खत्रीका अनुसार महसुल वापतको ३६ करोड ४४ लाख ३१ हजार दुई सय ७२, जरिवाना आठ करोड ८६ लाख ९८ हजार पाँच सय र अन्य विभिन्न शीर्षकको ४६ लाख ७३ हजार छ सय २९ समेत गरी कुल ४५ करोड ७८ लाख तीन हजार चार सय दुई रुपियाँ विद्युत महसुल बुझाउन बाँकी रहेको र पटक पटक पत्राचार गरी रकम जम्मा गर्न अनुरोध गर्दा पनि उद्योगले महसुल तीर्न आलटाल गरेपछि लाइन काटिएको थियो ।

नियमित उत्पादन गर्न नसकेको उदयपुर सिमेन्टलाई करिब २ वर्षमै १ अर्बभन्दा बढीको आर्थिक भार थपिएको छ । उद्योगका अवकाश प्राप्त कर्मचारीको सुविधा, विद्युत् महसुल, सरकारी अन्तःशुल्क, कर्मचारी र सामान सप्लायर्सको टीडीएस, कोइला खरिदको भुक्तानी लगायत शीर्षकमा एक अर्ब ९ करोडभन्दा बढी भार परेको छ ।

सरकारले खुल्ला प्रतिस्पर्धाद्वारा ०७७ माघ १ गते न्यौपानेलाई जिएम नियुक्त गरेर पठाएको हो। २ वर्षे कार्यकालका लागि नियुक्त भएका न्यौपानेलाई पछिल्लो माघ १ गते कार्यकाल सकिएपछि पुनः १ वर्षको म्याद थपिएको छ । उनले नेतृत्व लिएको २ वर्ष ३ महिनाको अवधिमा सरकारी स्वामित्वको उद्योग पूर्णरुपमा धराशायी भएको भन्दै मजदुरहरुले उनको राजीनामा मागिरहेका छन् ।

जेष्ठ २९ गते उद्योगकै सभाकक्षमा आयोजित साधारण सभामा प्रमुख अतिथि रहेका उद्योग मन्त्री रमेश रिजाललाई ज्ञापन पत्र बुझाउँदै मजदुर संघसंगठनले जिएम न्यौपानेको तत्काल राजीनामा मागे । न्यौपानेको कार्यकाल सुरु भएसँगै उद्योगको ओरालो यात्रा सुरु भएको र अहिलेसम्म धराशायी हुन लागेको भन्दै उनीहरुले तत्काल राजीनामा दिएर अर्को जिएम नियुक्त गरे मात्र उद्योग फर्कने मजदुर संघसंगठनले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।

सम्बन्धित थप समाचारहरु

तपाईको प्रतिक्रिया