उदयपुर – नेपालकै सवैभन्दा ठूलो सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग १६ दिनदेखि बन्द रहेको छ । कोइला अभाव झेल्दै आएको उद्योग संचालन फेरि हप्ता दिन नचल्दै पुनः बन्द हुन पुगेको हो । कोइला अभावमा असोज ९ गतेबाट संचालनमा आएको उद्योग पुनः असोज १४ गतेबाट कोइला अभावमा बन्द हुन पुगेको हो । यो सँगै उद्योगमा दुई महिनाको अन्तरालमा कोइला अभावमा तीन पटक बन्द हुन पुगेको छ । विगतका वर्षहरुमा दशैंको टिकाको दिन बाहेक अन्य दिन पनि चौविसै घण्टा संचालनमा रहेको उद्योग यस वर्ष असोज १४ गतेदेखि नै बन्द रहेको उद्योगमा ट्रेड युनियनका पदाधिकारीहरु बताउँछन् ।

असोज १४ गतेबाट कोइला अभावमा बन्द रहेको उद्योग संचालन गर्न उद्योगमा क्रियाशिल चार वटा ट्रेड युनियनहरुले शनिबार बैठक बसी उद्योग संचालन गर्न लगायत अन्य माग राख्दै महाशाखा प्रमुख, विभागीय प्रमुखहरुलाई राखेर ज्ञापन पत्र बुझाएका छन् । समग्र उद्योग ट्रेड युनियन नेपालका अध्यक्ष राधेकुमार कोइराला, नेपाल कारखाना श्रमिक संघका सचिव बालचन्द्र गुरुङ्ग, अखिल नेपाल औद्योगिक मजदुर संघका अध्यक्ष विशेश्वर पाल र नेपाल औद्योगिक मजदुर संगठनका अध्यक्ष महाविर चौधरीले पाँच बुद्धे माग राख्दै संयुक्त रुपमा महाप्रबन्धकलाई सम्बोधन गर्दै ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापन पत्रमा लामो समयदेखि उद्योग बन्द रहदाको अवस्थामा पनि महाप्रबन्धकज्यूको गैरजिम्मेवारी पूर्वक उद्योग बाहिर रहेको र उद्योग प्रति वेवास्ता देखाएकोले २ दिन भित्र उद्योगमा उपस्थिति हुन माग गरेको छ । चालु रहेको उद्योग कच्चा पदार्थको अभाव देखाई बन्द गरी मजदुर कर्मचारीको रोजी रोटी माथि खेलवाड नगरी तुरुन्त उद्योग सञ्चालन गर्न माग गरिएको छ । अतिथि सत्कार, सवारी दुरुपयोग तथा अन्य अनावश्यक खर्चहरु अत्याधिक भएकोले तुरुन्त बन्द गर्न पनि माग गरेको छ ।

लेखाबाट दैनिक आम्दानी खर्चको विवरण सार्वजनिक गर्नु पर्ने, कबाडी लिलाम बिक्रीमा भएको अनियमितता छानविन कमिटीको प्रतिवेदन सार्वजनिक तुरुन्त सार्वजनिक गरि दोषीलाई कारबाही गर्न माग गरेको समग्र उद्योग ट्रेड युनियन नेपालका अध्यक्ष राधेकुमार कोइरालाले बताए । उनका अनुसार गत आर्थिक २१ लख बोरा सिमेन्ट विक्री वितरण भएपनि आम्दानी र खर्चको विवरण अहिलेसम्म सार्वजनिक नगरेकोले सार्वजनिक गर्न माग गरेको कोइरालाले बताए । ट्रेड युनियनले पेश गरेका माग माथि बेवास्ता गरेमा सोबाट उत्पन्न हुने परिस्थितिको जवाफदेही स्वयम उद्योग व्यवस्थापन हुनु पर्ने पनि ज्ञापन पत्रमा उल्लेख छ ।

कोइला अरियन्त सप्लार्य विराटनगर, न्यू आयन सप्लार्य भैरहबा र प्लाटिनम सप्लायर्स झापा, बेसलाइन होल्डिङ प्रा.लि. काठमाडौंले आपूर्ति गरिरहेको खरिद शाखा प्रमुख गम्भिर बहादुर खत्रीले जानकारी दिए । उनका अनुसार आइतबारबाट कोइला उद्योगमा आइपुग्ने बताए । लागातार वर्षतले कोइला भिजेको आपूर्ति गर्न समस्या भएको उनले बताए ।

शनिबार दिउँसाे कर्मचारीको मागको विषयमा महाप्रबन्धक गोपीकृष्ण न्यौपानेसँग सम्पर्क गर्न खोज्दा आफु अहिले बाटोमा रहेको र जलजले आइपुगेपछि सम्पर्क गरौला भनेर म्यासेज पठाएको छ ।

तपाईको प्रतिक्रिया