उदयपुर । उदयपुरको सदरमुकाममा रहेको गाईघाट सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टर विगतदेखि नै सेवा प्रवाह र शुल्कको सन्दर्भमा पटक पटक विवादित बन्दै आएको छ । ‘स्टिल झिक्नु पर्नेमा झिकिदियो हड्डी’ काण्ड सेलाउन नपाउँदै फेरी अर्को काण्ड चर्चामा आएको छ । गत माघ २२ गते मोटर साइकल दुर्घटनामा त्रियुगा नगरपालिका ४ बगाहाका ७४ वर्षिय भुमिनन्द लुईटेलको खुट्टा भाँचियो । ठक्कर दिने त्रियुगा नगरपालिका १३ का राजकिशोर चौधरीले प्राथमिक उपचारका लागि लुईटेलललाई ट्रमा सेन्टरमा ल्याए । तर ट्रमा सेन्टरमा विरामीको उपचारमा चरम लापरवाही गरेर जीवनको अन्तिम अवस्थामा पुर्याएको र उपचारको नाममा ठूलो धनरासी खर्चिाएको पीडितहरुको आरोप छ ।
ठक्करबाट लुइटेलको दाहिने खुट्टा भाँचिएको थियो । तत्कालै चौधरीले उपचारका लागि गाईघाट सिभिल हस्पिटल पुर्यायो । त्यहाँ प्राथमिक अवस्थाको उपचार भएपछि घटनाको पिडित र पिडक दुबै पक्षले बाहिरको अस्पताल लैजान खोजे । तर अस्पतालका सञ्चालक तथा डाक्टर संजय साहले बाहिर नलैजान भन्दै सतप्रतिशत ठीक पारिदिने ग्यारेण्टी दिए । विश्वास गरेर अस्पतालको कुरा माने । तर उपचारको क्रममा लापरवाही देखिदै गयो । राम्रो उपचार नभएको गुनासो राख्दा पनि ठीकै हुदैछ भन्दै राखिरहे तर, एक्कासी १४ औं दिनमा विरामी यहाँ ठीक हुदैन जहाँ लैजाने हो लैजाउ भनियो । त्यतिन्जेलमा विरामीको अवस्था अतिनाजुक भईसकेको थियो । हातखुट्टा सबैतिर रगत जमिएर कालो भएको थियो । औषधि वा सिलानपानी चढाउन सिरिन्चले घोच्दा शरीरको कुनै पनि ठाउँबाट नपस्ने अवस्था भएको थियो । त्यतिन्जेलसम्ममा पाँचलाख बढि खर्च भईसकेको थियो ।परिवारले गाईघाट सिभिल अस्पतालकै चरम लापरवाहीले विरामीको अवस्था यस्तो भएको भन्दै यस्ता अस्पताल र डाक्टरलाई कारवाही हुनुपर्ने माग राखेको छ । “अस्पतालको लापरवाही देखेपछि बाहिर लैजान खोज्दा लैजान नदिएर ठूलो खर्च गरायो । अन्तमा विरामीको अवस्था राम्रो हुनुको सट्टा माया मार्ने अवस्थामा पुर्यायो” विरामीकी बुहारी जमुना लुइटेलले भनिन् ।
सास भईन्जेल आस हुन्छ भन्दै विरामीको परिवार र दुर्घटना गराउने दुबै पक्ष मिलेर धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याए । उक्त हस्पिटलले औषधिको ओभरजोडले विरामीको अवस्था गम्भिर भईसकेकोले बाहिर रेफर गरिदियो, त्यासपछि विराटनगरको एक हस्पिटलमा करिब दुई हप्ता उपचार गरियो । त्यसले पनि त्यही भन्दै रेफर गरेपछि काठमाडौं स्थित टिचिङ हस्पिटलमा लगियो । टिचिङले पनि विरामीको अवस्था अतिनै नाजुक भईसकेको जनाएपछि परिवारले बाँच्ने आशा मारेर बगाहास्थित आफ्नै घर ल्याएको छ । गाईघाट सिभिल हस्पिटल भन्दा बाहिर गएको सबै हस्पिटलले सुरुमै उपचारमा लापरवाही भएको भन्दै इन्फेक्सनका कारण विरामीको अवस्था अति नाजुक बनेको बताएको परिवारले जनाएको छ ।
“पैसाकै लागि अस्पतालले विरामीलाई जबरजस्ती अस्पतालमा राख्यो र विरामीको अवस्था विगारेर बाहिर पठायो” विरामीका भतिज बद्रीनाथ लुइटेलले आरोप लगाए । पैसाको लागि अस्पतालले मानिसको ज्यानमाथि नै खेलवाड गरेको भतिज बद्रीनाथले बताए । यतिन्जेलसम्ममा विरामी उपचार खर्च पनि १० लाख बढि भईसकेको थियो । पैसा भन्दा ज्यान ठूलो भन्दै चौधरीले आफ्नो तर्फबाट ऋण काढेरै पनि खर्च गरिरहेका थिए । तर, सुरुमा उपचारमा लापरवाही गरिदिएकाले सबै उपचारका प्रयास र ठूलो धनरासी खेर गएको ठक्कर दिने युवाको बुवा महेन्द्र चौधरीले बताए ।
यतिबेला एउटा दुर्घटनाको पीडित र पिडक पक्ष दुबै अस्पतालबाट पीडित बन्न पुगेको भन्दै दुबै पक्षले अस्पताल र उपचारमा संलग्न डाक्टरलाई कारवाहीको माग गरेका छन् । परिवारमा यो दुर्दशा आएपनि अरु सर्बसाधारणले यो हविगत भोग्न नपरोस् भन्दै विरामीका छोरा देवेन्द्र लुइटेलले बताए ।
गाईघाट सिभिल हस्पिटलका सञ्चालकसमेत रहेका डा. सञ्जयकुमार साहले अस्पतालमा डाक्टरहरुको तर्फबाट लुइटेललाई सक्दो उपचार गरेको तर शरीरमा अन्य रोगको संक्रमण देखिएपछि बाहिर पठाएको बताए । गाईघाटमा हस्पिटल र डाक्टरलाई बढि नै आरोप लाग्ने गरेको बताए । उपचारमा लापरवाही नभएको बताउदै डा. साहले आरोप लगाउनेहरुलाई पुष्टि गर्न चुनौती दिएका छन् ।
डाक्टर र अस्पतालविरूद्ध मेडिकल काउन्सिलमा उजुरी
स्टिल झिक्नु पर्नेमा झिकिदियो हड्डी भन्दै पीडित खोटाङको दिक्तेल रुपाकोट मझुवागडी नगरपालिका ३ बाम्राङका ४२ वर्षिय पूर्णबहादुर खत्रीले नेपाल मेडिकल काउन्सिल काठमाडौंमा क्षतिपूर्ति तथा कारबाहीको लागि उजुरी गरेका छन् । अस्पतालको गलत उपचारका कारण पिडित बनेको भन्दै पिडितहरु कानुनी उपचारको खोजीमा लागेका छन् । उनीहरूले अस्पताल प्रशासन, स्थानीय प्रहरी, प्रशासनसमेतलाई गुहारे पनि सुनुवाई नभएको र न्याय नपाएको भन्दै कानुनी उपचारको लागी नेपाल मेडिकल काउन्सिल काठमाडौंमै पुगेका हुन् । दुई जना पिडितहरुले काउन्सिलमै अस्पताल र डा. सञ्जयकुमार साहको विरुद्धमा उजुरी दर्ता गरिसकेका छन् । पिडितहरु पूर्ण खत्री र कमला रोक्काले काउन्सिलमा उजुरी दर्ता गराएको कमलाका श्रीमान दुर्गा रोकाले बताए । अन्य पिडितहरुले समेत उजुरी दर्ता गराउने तयारीमा रहेका छन् ।

तपाईको प्रतिक्रिया