उदयपुर । साँचै प्रेम अन्धो हुन्छ भन्थे हो रहेछ । प्रेम जालमा परेर उदयपुरकी एक महिलाको ३३ लाख गुमाउनु परेको छ । त्रियुगा नगरपालिका ११ की ४३ वर्षिय भिमकुमारी पुलामी मगर प्रेम जालमा परेर ३३ लाख गुमाएकी हुन् ।
खोटाङको खोटेहाङ गाउँपालिका ५ चिप्रिङका ३४ वर्षिय मोहन राईले मगरलाई माया जालमा पारेर ३३ लाख ठगी गरेको आरोपमा पुर्पक्षका लागि करागारमा छन् । यत्रो सम्पत्ति दिन राजी भएकी महिला झण्डै दुई दशकयता श्रीमानभन्दा अलग रहदै आएको प्रहरी भनाई छ । महिलाकै घरमा डेरा लिएर बस्दै आएका राई र १८ वर्षदेखि श्रीमानसँग अलग भएर बस्दै आएकी एक बिवाहित छोरीकी आमा ती महिलाबीच प्रेम सम्बन्ध स्थापित भएपछि सम्पत्ति लिने सिलसिला जोडिएको प्रहरीले जनाएको छ । बिहे गरेर काठमाडौं बस्दै आएकी गर्भवती छोरी सुत्केरी हुन माईत आउँदा छिमेकीको मुखबाट आमाको घर बिक्री भईसकेको र बैनासमेत भईसकेको जानकारी पाएपछि सोधखोज गर्दा तथ्य बाहिरिएपछि प्रहरीमा उजुरी पर्न आएको बताइएको छ ।
श्रीमान–श्रीमतीबीचको बेमेलपछि बजारमै डेरा लिएर बसेका बुबाको सम्पत्तिसमेत बेचिने खतरा बढेको भन्दै छोरीले राईविरुद्ध उजुरी दिन उक्साएपछि महिला प्रहरी गुहार्न आईपुगेको अनुमान छ । ‘वर्षौंदेखि श्रीमानसँग अलग रहेकी महिला घरमै डेरा लिएर बसेका राईसँग प्रेममा परेको देखिन्छ’ एसपी मगर भन्छन् ‘यही मेसोमा पैसा, सुनचाँदी र घरसम्म बेचेर लिने काम भएको पाइयो ।’
छिमेकीका अनुसार दुवै जना विदेश बसेर कमाएको पैसाले बनाएको घर र जोडेको जायजेथा श्रीमान–श्रीमतिबीच असहमति सुरु भएपछि दुई दशकयता श्रीमतीलाई घर छाडिदिएर श्रीमान डेरा लिएर अलग्गै बस्दै आएका हुन् । श्रीमान अलग्गिएको वसेको ‘ग्याब’ कै कारण यस्तो अवस्था निम्तिएको प्रहरीको अनुमान छ ।
पीडितको उजुरीका आधारमा फागुन १ गते पक्राउ गरी अनुसन्धान अघि बढाएकोमा यस्तो फैसला भएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए । उनका अनुसार गत माघ २९ गते पीडितले आफू ठगिएको भन्दै राईविरुद्ध प्रहरीमा जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको थियो । प्रहरीका अनुसार राईले ‘भारतमा औषधि पसल सञ्चालन गर्दै आएको र छिट्टै बिहे गरेर संयुक्त व्यवसाय गरेर सुखी जीवन बिताउने’ आस देखाउदै पटकपटक महिलाबाट पैसा र सुनचाँदी लिएको उजुरीमा उल्लेख छ ।
महिलाले ललाईफकाई प्रेम जालमा पारेर भएभरको सम्पत्ति लिएर सम्पर्कविहीन भएको र औषधि पसलमा लगानी थप्न भन्दै सुरुमा ४० हजार र त्यसपछि भान्जी अस्ट्रेलिया पठाउन १ लाख ५० हजार र ९ तोला सुन लिएको उजुरीमा उल्लेख गरेकी छन्। पैसा र सुनचाँदी तथा अन्य सम्पत्ति सकिएपछि उनी बस्दै आएको त्रियुगा नगरपालिका ११ गाईघाट बजारकै १८ कोठे घर वास्तविक मूल्यभन्दा धेरै कम ६७ लाखमा बेच्ने गरी २७ लाख रुपैयाँ बैना (पेश्की) रकम लिएर राई फरार भएपछि महिलाले उजुरी दिएको प्रहरीले जनाएको छ ।
ठगी गर्ने युवक पुर्पक्षका लागि जिल्ला कारागार उदयपुरमा रहेका छन् ।

तपाईको प्रतिक्रिया