सप्तरी । गोली हानी हत्या गरेर फरार प्रतिवादी १४ वर्षपछि दुई जना पक्राउ परेको छ । २०६२ साल असोज १७ सप्तरीको साविक डिमन गाविस–१ का दीलिपकुमार यादवलाई गोली हानी हत्या गरेको आरोप लागेका स्थानीय सुकदेव यादव र विनोदकुमार यादवलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक बाबुराम कार्कीले जानकारी दिए । पक्राउ परेका सुकदेव र विनोद बाबुछोरा हुन् ।
कर्तव्य ज्यान मुद्दामा प्रहरीको फरार सूचीमा रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीको संयुक्त टोलीले बिहीबार सुनसरी सदरमुकाम इनरुवाबाट नियन्त्रणमा लिएको हो । इनरुवा नगरपालिका ९ मा बस्दै आएको सूचनापछि दुवैजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी मकेन्द्र मिश्रका अनुसार फुसको घरले साधसिमाना मिचेको विषयमा विवाद भएपछि ०६२ साल असोज १३ गते गोली चलेको थियो ।
हत्या गरिएका दिलिपका दाजु दीपनारायण यादवको जाहेरीले कर्तव्य ज्यानको उक्त मुद्दामा सुकदेव र विनोद बाबुछोरा लामो समयसम्म फरार भएपछि २०७५ साल मंसिर २० गते सुकदेव र विनोदमाथि वारेन्ट पुर्जी जारी भएको डीएसपी मिश्रले जानकारी दिए ।
हत्यामा संलग्न भइ फरार रहेका वाबुछोराले सप्तरीमा भएका जग्गा बेचेर इनरुवामै स्थायी रुपमा बस्न थालेको सूचनापछि प्रहरीले उनीहरुमाथि निगरानी बढाएको थियो ।









