उदयपुर । कुटपिटबाट उदयपुरमा विहिबार एक जनाको मृत्यु भएको छ । फागुन २२ गते दाजु अनिल राउतको विवाह भोजमा आपसी विवाद हुँदा कुटपिटबाट त्रियुगा नगरपालिका ३ क्याम्पस डाँडाका २० वर्षिय सुनिल राउत घाइते भएका थिए । घाइते सुनिलको उपचारको क्रममा विहिबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
विवाह कार्यक्रममा भाडाकुडा, बाजा गाजा फुटाई दिएपछि विवादले गर्दा युवाहरुले मध्य राति नै सुनिल माथि कुटपिट गरेको परिवारिक स्रोतले जानकारी दिए । पारिवारिक स्रोतका अनुसार सुनिलको गुप्ताङ्गको हड्डीमा चोट लाग्नुको साथै बाहिरी चोटपटक नदेखिएपनि दुई ठाउँ आन्द्रामा प्वाल परेको जानकारी दिए । कुटपिट गर्नेहरुले मलद्वारबाट रड घुसारेको हुन सक्ने पारिवारिक स्रोतले आशंका गरेको छ ।
घटनामा संलग्न भएको आशंकामा ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको एसपी बिर बहादुर बुढामगरले जानकारी दिए । उनका अनुसार पोष्टमार्टम रिपोर्ट नआएसम्म कहाँ कहाँ चोट पटक लागेका वा के कारणले मृत्यु भएको भन्न नसक्ने जानकारी दिए ।









