उदयपुर । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।नेपालका पहाडी तथा हिमाली क्षेत्रमा हिजो नै फागु पूर्णिमा अर्थात होली मनाएका हुन भने तराईमा पूर्णिमाको भोलिपल्ट आज होली पर्व मनाउने गरिन्छ । विभिन्न समुदायको बसोबास रहेको तराईमा दुई र तीन दिनसम्म होली मनाउने चलन छ ।
फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ ।
भेला भएर होली खेल्न निषेध !
यस वर्ष कोरोना भाइरसको प्रभाव विश्वव्यापीरूपमा बढ्दै गएकाले पनि फागु पर्वमा पानी र रङ प्रयोग नगर्न प्रशासनले आह्वान गरेको छ । नेपालमा अहिलेसम्म कोरोनाको प्रभाव नदेखिए पनि विश्व स्वास्थ्य सङ्गठनले उच्च जोखिममा राखेकाले सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको हो ।
जिल्ला प्रशासन कार्यालय उदयपुरले भेला भएर, भीड जम्मा गरेर होली खेल्न निषेध गरेको छ । साथै, उदयपुरमा सार्वजनिक रुपमा आयोजना हुने औपचारिक कार्यक्रमका लागि निश्चितकालसम्मका लागि स्वीकृति नदिने निर्णय समेत गरिएको छ ।
कोरोना संक्रमणको जोखिम चिसोमा बढी हुने र धेरै मानिस जमघट हुँदा सर्ने सम्भावना बढी हुने भएकाले फागुमा पानीका लोला हान्ने, पिचकारीले छ्याप्ने र ठूलो जमघटका साथ रङ दल्नेरखेल्ने काम नगर्न आग्रह गरिएको छ ।
गृहमन्त्रालयले पनि कोरोना भाइरसको संक्रमण फैलन सक्ने संभावनालाई मध्यनजर गदै होलीमा भिडभाड, सांगितिक कार्यकम नगर्न आग्रह गरेको छ ।
जवर्जस्ती गरे कानूनी कारबाही गरिने
केही वर्ष अघिसम्म उदयपुरको सदरमुकाम गाईघाटमा उत्ताउलोरूपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ ।
यस वर्ष पनि होली पर्वलाई लक्षितगरी प्रहरीले विशेष सुरक्षा बनाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी विरबहादुर बुढामगरले बताए । उनका अनुसार कसैको इच्छारबिना जबर्जस्ती रङ दल्ने, प्लास्टिकजन्य लोला हान्ने, फोहर छ्याप्ने तथा महिला, बालबालिका लगायत बाटामा हिँड्ने व्यक्तिलाई दुःख, हैरानी तथा कष्ट दिने कार्य नगर्न सबैसँग अनुरोध गरेको गरिएको छ ।
इच्छारबिना जबर्जस्ती रङ दल्ने, लोला हान्ने, फोहर छ्याप्नेलाई कानून बमोजिम कारबाही गर्ने प्रहरीले जनाएको छ ।
प्रहरीले जवर्जस्ती लोला, रङ हानेको उजुरी आउनासाथ तत्काल घटना स्थलमा पुग्नेगरी टोलि तयार राखेको छ ।
होलीलाई मर्यादित, सुरक्षीत र सभ्य बनाउन प्रहरीले विभिन्न स्थानमा फलेक्स प्रिन्ट र माइकिङ्ग गरिएको एसपी मगरले बताए । उनका अनुसार चाडवाडमा मादक पदार्थ सेवन र तिव्रगतिमा सवारी कुदाउनेलाई पनि कारबाही गरिने छ ।

तपाईको प्रतिक्रिया