उदयपुर । उदयपुरको सदरमुकाममा रहेको गाईघाट सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टरको बदमासीले एक विरामी झनै विरामी परेका छन् । पीडित खोटाङको दिक्तेल रुपाकोट मझुवागडी नगरपालिका ३ बाम्राङका ४२ वर्षिय पूर्णबहादुर खत्रीको देव्रे हातको कुममा राखिएको स्टिल झिक्नु पर्नेमा सिभिल हस्पिटलका डाक्टरले हड्डीको सानो टुक्रा नै झिकेर फ्याकी दिएपछि अस्पतालको बदमासी बाहिर आएका छन् । पीडित खत्रीले शुक्रबार पत्रकार सम्मेलन गर्दै रिपोर्टहरु देखाएपछि सिभिल हस्पिटलको लापरबाही बाहिर पर्दाफास भएका हुन् ।

पत्रकार सम्मेलन गर्दै कुमको हड्डी गुमाएका पीडित पूर्णबहादुर खत्री विचमा । तस्विर : नागरिक बहस

खत्रीले देब्रे कुममा राखिएको स्टिल अप्रेशन गरी निकाल्नु पर्नेमा सिभिल हस्पिटलका डाक्टर संजयकुमार साहले स्टिल त्यहि छाडेर हड्डीको टुक्रा नै काटेर फ्याकि दिएको आरोप लगाएका छन् । स्टिल लगाएर हात ठिक पार्न खोजेका उनको डाक्टरले उल्टै हड्डी काटिदिएपछि हात पहिलेको अवस्थामै बनाउने आश मार्न बाध्य भएका छन् । यो डाक्टरको गम्भिर लापरवाही हो भन्दै पूर्णरुपले उपचारको माग गरेका छन् ।
पत्रकार सम्मेलनमा पीडित खत्रीका भने, ‘२०७५ माघ ७ गते दिक्तेल बजारमा लडी देव्रे हात कुमको हड्डी भाचिएको थियो । कुमको हड्डी भाचिएपछि दिक्तेल हस्पिटलमा सामान्य उपचार पछि काठमाडौंको नेपाल अर्थोपेडिक अस्पतालमा माघ २८ गते स्टिल लगाई दिएका थिए । स्टिल लगाई दिएपछि विस्तारै विस्तारै कुमको हड्डी जोडिदै गएको थियो । बीचमा बेलाबेलामा स्टिलको अवस्था बुझ्न जाँच गराई राख्नु पर्ने भएपछि धेरैजसो समय काठमाडौंमा गराएको र दुई पटक बाटैमा पर्ने भएकाले आफ्न्तले गाईघाट सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टरमा जाँच गराउन अनुरोध गर्दा जाँच गराएका थिए ।

गाईघाट सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टरमा गरिएको एक्सरेमा स्टिल निकाल्नु अगाडीको रिपोर्ट । तस्विर : नागरिक बहस

जाँचको क्रममा काठमाडौं र गाईघाटको दुबै अस्पतालले हड्डी जोडिदै गएको राम्रो भएको रिपोर्ट दिएको थियो । आफ्न्तको सल्लाह अनुसार २०७६ कातिक ७ गते गाईघाट सिभिल हस्पिटलमा स्टिल निकाल्ने काम भयो । अप्रेशन गरेर स्टिल झिके छ भन्दै ढुक्क थिए जव घर पुगेपछि दुःख्न नछोडेपछि पुनः नेपाल अर्थोपेडिक अस्पतला काठमाडौंमा एक्सरे गर्दा पो स्टिल निकाल्नु पर्नेमा मेरो कुमको हड्डी नै निकालेर फ्याकेको रहस्य पत्ता लाग्यो ।

नेपाल अर्थोपेडिक अस्पताल काठमाडौंको एक्सरे रिपोर्टमा रातो घेरभित्र देखिएको स्टिलको सट्टा हड्डी झिकिदिएको खाली भाग । तस्विर : नागरिक बहस

अर्थोपेडिकका डाक्टरले हड्डी नै निकालेर फ्याकेको बताएपछि आफु छागाबाट झरेझै भए, “पत्रकार सम्मेलनमा रिपोर्ट देखाउदै खत्रीले भने “अस्पताल र डाक्टरले नियतबस मेरो हड्डी काटेर धेरै खर्च गराउन खोजेको भन्ने पनि लागेको छ ।” राम्रो रिपोर्टको आधारमा स्टिल निकाल्नु पर्ने अवस्थामा काठमाडौं नै जान खोजेका विरामीलाई यहि ठीक हुन्छ भन्दै जबरजस्ती अप्रेशन गर्दा गाईघाट सिभिल अस्पतालका डाक्टरको लापरवाही गरेको पिडित खत्रीले बताए ।
सो हस्पिटल विगतदेखि नै सेवा प्रवाह र शुल्कको सन्दर्भमा विवादित बन्दै आएको छ । स्थानीय गोपीकृष्ण बस्नेतले अस्पताल र डाक्टरको लापरवाहीपूर्ण यस्ता घटनाहरु दर्जनौ भईसकेको बताए । अस्पतालका डाक्टर साहसंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । सञ्चालक मध्येका एक राम गुरागाईले खत्रीको घटना बारे बुझ्न बाँकी रहेको जवाफ दिएका छन् ।

तपाईको प्रतिक्रिया