उदयपुर । जिल्ला प्रशासन कार्यालय, उदयपुरले भिड जम्मा भएर होली खेल्न निषेध गर्ने भएको छ । साथै सार्वजनिक रुपमा आयोजना हुने औपचारिक कार्यक्रमका लागि अनिश्चितकालसम्मका लागि स्वीकृति नदिने सूचना जारी गर्दै जनाएको छ ।
जिल्ला सुरक्षा समन्वय समितिको बुधबार बसेको बैठकले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गरेर यो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी धुव्रबहादुर खड्काले जानकारी दिए । उनका अनुसार पूर्वस्वीकृति लिइएका कार्यक्रमलाई पनि रद्द गर्न अनुरोध गरेको बताए ।
‘छिमेकी राष्ट्र चीन हुँदै विश्वभर महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरसबाट नेपाल पनि उच्च जोखिममा रहेको भनी विश्व स्वास्थ्य संगठनबाट प्रतिक्रिया व्यक्त भइसकेको छ’, उनले भने, ‘नेपाल सरकारले समेत यसको संक्रमणबाट जोगिन सचेतना अपनाउनुका साथै भीडभाडमा नजान तथा भेला, सभा, सम्मेलन जस्ता कार्यक्रमहरु नगर्न अनुरोध गरिसकेको सन्दर्भमा यो निर्णय भएको हो ।’
यस्तै कोरोना भाइरसको संभावित संक्रमण फैलिन नदिन र संक्रमण भईहालेमा उपचार र रोकथामका लागि पनि जिल्ला अस्पतालमा एक आइसोलेसन वार्डको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी खड्काले बताए ।
हेर्नुस् सूचना 

तपाईको प्रतिक्रिया