काठमाडौँ । नेपालीसहित विदेशी आप्रवासी कामदारको बाक्लो संख्या रहेको खाडीका देशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेपछि त्यहाँस्थित नेपाली दूतावासहरूले सूचना जारी गर्दै सतर्क रहन र समस्या परे स्थानीय स्वास्थ्य मन्त्रालयमा सम्पर्क गर्न आग्रह गरेका छन् ।
हालसम्म त्यहाँ कार्यरत नेपाली कोरोनाबाट संक्रिमत भएको खबर आइसकेको छैन। खाडीका देशमध्ये बिहीबारसम्म बहराइनमा ३३, कुवेतमा ४५, यूएईमा २१, ओमानमा ४, कतारमा एक जना कोभिड–१९ बाट संक्रमित भएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्। इरानबाट आएका यात्रुबाट कोरोना भाइरस संक्रमण भएपछि ती देशले इरानका सबै उडान बन्द गरेका छन्। स्थानीय सरकारहरूले आफ्ना नागरिक, आप्रवासी र यात्रुलाई अनिवार्य मास्क लगाउन, भीडभाडमा नजान भनेकाले त्यहीअनुसार सतर्कता अपनाइएको कुवेतस्थित विमानस्थलमा कार्यरत नेपालीले बताए।
नेपाली दूतावास बहराइन र कुवेतले कोरोना भाइरसका सम्भावित लक्षणहरूको जानकारीसहित त्यहाँ कार्यरत नेपालीलाई त्यसबाट सतर्क रहन आग्रह गरेको छ। बहराइनस्थित दूतावासले सार्वजनिक स्थल, अस्पताल, सिनेमा घर, सार्वजनिक यातायात, सपिङ मलजस्ता भीडभाड हुने ठाउँमा सकभर नजान र जानैपरे अनिवार्य रूपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ। यो खबर आजको कान्तिपुर दैनिकमा छ ।









